काठमाडौं । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी सडक खण्डमा चार दिनपछि मंगलबार बिहानबाट यातायात सेवा पूर्ण रूपमा सुचारु गरिएको छ।
सिराहा, उदयपुर र ओखलढुङ्गालाई जोड्ने यस लोकमार्गमा लेखानी, चनौटे खोला र बेतिनी भञ्ज्याङलगायत एक दर्जनभन्दा बढी स्थानमा खसेको पहिरो, माटो र लेदो हटाइएपछि सडक खुलाइएको हो। मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाका इन्जिनियर विरेन्द्रकुमार महतोका अनुसार, अवरोध हटाएपछि मंगलबारदेखि यातायात सामान्य रूपमा सञ्चालनमा आएको छ।
सिराहाको मिर्चैयादेखि ओखलढुङ्गासम्मको ७२ किलोमिटर दूरी समेट्ने यो लोकमार्ग २०५८ सालमा तत्कालीन शाही नेपाली सेनाले निर्माण गरेको थियो। तर, निर्माणको १० वर्षमै जिर्ण अवस्थामा पुग्न थालेको र पछिल्लो दुई दशकदेखि पटक–पटक आन्दोलन र मागहरू हुँदासमेत स्तरोन्नति हुन नसकेको स्थानीयवासीहरूको गुनासो छ।
सडकको अवस्था कमजोर भएकाले सामान्य वर्षामै पनि सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। विशेष गरी उदयपुरको ताप्ली गाउँपालिका र कटारी नगरपालिकाका ८ वटा पहाडी वडाका लागि जीवनरेखा जस्तै बनेको यस लोकमार्गले तराई र हिमाली जिल्ला जोड्ने प्रमुख माध्यमको भूमिका खेलेको छ। यही सडकबाट उपभोग्य सामग्री ढुवानी हुने र कृषि उपज तराईमा पठाइने भएकाले यसको निरन्तरता अत्यावश्यक रहेको स्थानीयको भनाइ छ।
यात्रु र यातायात व्यवसायीहरू भने जोखिमपूर्ण अवस्थामै यात्रा गर्न बाध्य छन्, किनभने सडकको दीगो मर्मत र स्तरोन्नति हुन सकेको छैन। सरकारले वर्षेनी बजेट दिने आश्वासन गरे पनि कार्यान्वयनको चरणमा पुग्न नसक्दा स्थानीय स्तरमा आक्रोश बढ्दो छ।
हालैका वर्षहरूमा सडकको व्यवस्थापनका लागि कटारी बजारमा कटारी–घुर्मी सडक योजना कार्यालय स्थापना गरिएको छ। सुपरभाइजर कुमार प्याकुरेलका अनुसार, कार्यालय स्थापना भएपछि सडकको रेखदेखमा केही सुधार भए पनि बजेटको अभावमा स्तरोन्नति कार्य अघि बढ्न नसकेको बताउनुभयो।

