नेपाल-भारत सीमा ७२ घण्टाका लागि बन्द, जनजीवन प्रभावित

Published on

काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनका कारण शनिवार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका बन्द गरिएपछि सीमावर्ती क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

सुरक्षाको कारण देखाउँदै दुवैतर्फका सुरक्षाकर्मीले पैदल आवागमनसमेत रोक लगाएपछि नेपाली र भारतीय दुवै नागरिकले सास्ती बेहोर्नुपरेको हो । कतिपय नागरिकले सीमा बन्द हुनेबारे जानकारी नपाउँदा र कतिपयले थाहा पाए पनि कामको व्यस्तता र समय अभावका कारण एकअर्काको देशमा फस्नुपरेको बताएका छन् ।

महोत्तरीको जलेश्वर भन्सार र भारतको भिट्ठामोड सीमा क्षेत्रमा वारि–पारि गर्ने यात्रुको लामो भीड देखिएको छ । मटिहानी, सम्सी र रघुनाथपुर छोटी भन्सारमा पनि यात्रु घेरिएका छन् । 

यद्यपि नेपाली नागरिकता र भारतीय पहिचान पत्र बोकेका पैदल यात्रुलाई आफ्नो देश फर्किन दुवैतर्फका सुरक्षाकर्मीले सहुलियत दिएका छन् । तर यो सुविधा आज (आइतवार) सम्मका लागि मात्र प्रदान गरिएको बताइएको छ । परिचयपत्र नभएका यात्रुलाई भने सीमा नाकामै रोकिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ९ गणका एसपी शेरबहादुर अधिकारीका अनुसार सीमा सिल अवधिमा पनि आकस्मिक सेवा र मानवीय कारणका यात्रुलाई सहुलियत दिइएको छ । ‘हिजो राति भारतबाट शव बोकेको सवारीलाई नेपाल प्रवेश गर्न दिइयो । उपचारका लागि जाने बिरामीहरूलाई पनि मानवताको आधारमा सहयोग गर्ने व्यवस्था मिलाइएको छ,’ अधिकारीले जानकारी दिनुभयो ।

भारतको बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन यही मङ्गलबार हुँदैछ । यस चरणमा २० जिल्लाका १२२ विधानसभा सिटका लागि मतदान हुँदैछ । यीमध्ये अधिकांश जिल्ला नेपाली सीमासँग जोडिएका छन् । यसै कारण शनिबार साँझदेखि दुवैतर्फका सुरक्षाकर्मीले ढाट लगाएर आवागमन रोक्का गरेको जनाएका छन् ।

सीमामा दुवैतर्फ सुरक्षा निगरानी र गस्ती कडाइ गरिएको छ । सशस्त्र एसपी अधिकारीका अनुसार नेपाली र भारतीय सुरक्षा अधिकारीबीच सूचना आदानप्रदानको व्यवस्था पनि गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार दोस्रो चरणको निर्वाचनमा सीमावर्ती भारतीय क्षेत्रसमेत गरी ४५ हजार ३९९ मतदान केन्द्र स्थापना गरिएको छ । यस चरणमा एक हजार ३०२ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसको भाग्य साढे तीन करोड मतदाताले निर्धारण गर्नेछन् । 

एसपी अधिकारीले भन्नुभयो, ‘विहार विधान सभा निर्वाचनलाई दृष्टिगत गर्दै सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको छ । दुवैतर्फका सुरक्षाकर्मी निरन्तर सम्पर्कमा छन् । छिमेकी देशको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने हामी सवैको दायित्व हो, त्यसैले नेपालतर्फबाट कुनै कमजोरी हुन नदिने प्रयासमा छौं । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...

भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी...

नेक्सस कबड्डी कपको दोस्रो संस्करण सुरु

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको...