मधेश प्रदेशमा सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त, विरोध र तनाव

Published on

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदभार सम्हालेको २५ दिनमै शनिबार राजीनामा दिएपछि प्रदेश प्रमुख सुवेदीले आइतबार विभिन्न दल र पक्षसँगको परामर्शपछि यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

नवनियुक्त मुख्यमन्त्री यादवले सोमबार बिहान महोत्तरीको बर्दीबासस्थित पानस होटलमा आयोजित समारोहमा प्रदेश प्रमुख सुवेदीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि मुख्यमन्त्री यादवले तत्कालै तीन जना मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ। मन्त्रीमा नेकपा (एमाले) का लखन दास तत्मा, नेपाल सङ्घीय समाजवादी पार्टीकी विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कञ्चन बिच्छा रहनुभएको छ। तिनै मन्त्रीलाई हालसम्म जिम्मेवारी तोकिएको छैन।

प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू मध्ये सबैभन्दा ठुलो दल नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। तर, मुख्यमन्त्री नियुक्तिको निर्णय सार्वजनिक भएपछि प्रदेश प्रमुख सुवेदीको कदममाथि चौतर्फी विरोध भएको छ। कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले आफूलाई छलफलमा समावेश नगरी संविधानको मर्म र भावनाविपरीत मुख्यमन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो। त्यस्तै, नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादवले संविधानको धारा १६८ को उपधारा २ जीवित रहँदै उपधारा ३ को प्रयोग गरेर ‘छापामार शैलीमा’ सरकार गठन गरिएको आरोप लगाउनुभयो।

उनले प्रदेश प्रमुखको कदम संघीयताको मर्मविपरीत भएको बताउँदै कांग्रेससहित सात दलका ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भएको जानकारी दिनुभयो। त्यस्तै, जसपा नेपालका संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले पनि प्रदेश प्रमुखको कदमविरुद्ध अदालत जाने बताउनुभएको छ।

मुख्यालयमा तोडफोड र तालाबन्दी

मुख्यमन्त्री नियुक्तिपछि सोमबार जनकपुरधामस्थित मधेश प्रदेश सरकारको मुख्यालय ‘मधेश भवन’ वरिपरि तनावपूर्ण स्थिति सिर्जना भएको थियो। नयाँ मुख्यमन्त्रीले पदभार ग्रहण गर्ने तयारी भइरहेकै बेला नेपाली कांग्रेससहित सात दलका प्रदेशसभा सदस्य र कार्यकर्ताले प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय र विभिन्न मन्त्रालयमा तालाबन्दी गरेका थिए। प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड समेत भएको छ। तोडफोडका कारण कार्यालयका फर्निचर र सामग्रीमा क्षति पुगेको छ भने एक जना कर्मचारीमाथि हातपात समेत भएको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...