नदीजन्य पदार्थको अभाव : विकास निर्माणका काम प्रभावित

Published on

काठमाडौं । निर्माणका लागि आवश्यक नदीजन्य पदार्थको ठेक्का प्रक्रिया ढिलो हुँदा जिल्लास्थित विभिन्न निर्माणका काम प्रभावित भएका छन् । सङ्घीय, प्रदेश र स्थानीय तहका विभिन्न योजना सुरु हुने तयारी भइरहेको भए पनि ढुङ्गा, गिट्टी र बालुवाको सहज आपूर्तिको अभावले समस्या बढाएको हो । जिल्लाका १० स्थानीय तहमध्ये कुनै पनि तहले अहिलेसम्म नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलनको ठेक्का सम्झौता गरेका छैनन् । 

लमही, दङ्गीशरण र बबई गाउँपालिकाले प्रक्रिया अघि बढाए पनि ठेक्का निष्कर्षमा पुगेको छैन । यसैबिच ठेक्का नलाग्दाको फाइदा उठाउँदै नदीजन्य पदार्थको चोरी बढ्दै गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पछिल्लो एक सातामा अवैध उत्खननमा संलग्न आठ वटा ट्याक्टर नियन्त्रणमा लिइएका छन् ।

कानुनी रूपमा नदीजन्य पदार्थ उत्खनन तथा घाटगड्डीको सिफारिस गर्ने जिम्मेवारी जिल्ला अनुगमन समितिको हुन्छ । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा रहेको उक्त समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरी प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, आन्तरिक राजस्व कार्यालयका प्रमुखलगायत सदस्य रहने व्यवस्था छ ।

सामान्यतया असारदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन रोक लगाइएपछि असोजदेखि उत्खनन सुरु गर्न सकिने व्यवस्था छ । त्यसका लागि सम्बन्धित स्थानीय तहले आफ्नो क्षेत्रमा पर्ने नदी वा खोला क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी जिल्ला अनुगमन समितिलाई बुझाउनुपर्ने हुन्छ ।

अनुगमन समितिले स्थलगत निरीक्षण गरी उपयुक्त ठहर गरेपछि अन्तिम स्वीकृतिका लागि प्रतिवेदन राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा पठाइन्छ । समितिबाट स्वीकृति प्राप्त भएपछि मात्र ठेक्का प्रक्रिया अघि बढ्न सक्ने व्यवस्था छ ।

जिल्ला अनुगमन समितिका सदस्यसचिव सावित्री श्रेष्ठका अनुसार हालसम्म लमही उपमहानगरपालिकाका २४ वटा, दङ्गीशरण गाउँपालिकाका नौ वटा र बबई गाउँपालिकाका ११ वटा घाटको सिफारिस चुरे समितिमा पठाइसकिएको छ तर चुरे समितिबाट अझै स्वीकृति प्राप्त नभएकाले उत्खनन सुरु हुन नसकेको उहाँले बताउनुभयो ।

दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरिए पनि चुरे समितिबाट अनुमति नआउँदा ढिलाइ भएको हो । राप्ती, राजपुर र गढवा गाउँपालिकामा पनि ठेक्का प्रक्रिया सुरु हुन नसकेकाले जिल्लाभर निर्माण कार्यका लागि आवश्यक सामग्रीको अभाव देखिएको छ । सम्बन्धित निकायबिचको ढिलाइ र समन्वय अभावकै कारण दाङमा विकासनिर्माणका काममा गतिशीलता आउन नसकेको कुरा स्वयम् जनप्रतिनिधिले नै बताउन थालेका छन् ।   गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...