थाई विदेशमन्त्री : म्यान्माको आगामी निर्वाचन स्वतन्त्र वा विश्वसनीय हुने अवस्था छैन

Published on

काठमाडौं । थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आगामी महिनादेखि सुरु हुन लागेकाे म्यान्माकाे निर्वाचन स्वतन्त्र र विश्वसनीय दुवै नहुने स्पष्टरूपमा बताउँदै हिरासतमा रहनुभएकी लोकतान्त्रिक नेत्री आङ सान सुकीको तुरुन्त रिहाइको आह्वान गर्नुभएको छ । सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा सरकारले निर्वाचित जनादेश पाएको आङ सान सुकीको नेतृत्वको सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थियो । त्यसपछिका वर्षमा तीव्र गृहयुद्ध भड्किएको छ । सैन्य जुन्ताले यो चुनावलाई मेलमिलाप र स्थिरतामा फिर्ता जाने अवसरका रूपमा चित्रण गर्दै आएको भए पनि आङ सान सुकी तथा विघटन गरिएको उहाँको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)लाई सहभागी हुन नदिइएकाले चुनावी प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ ।

सेना वा सेनाका सहयोगीको नियन्त्रण नभएका देशका क्षेत्रमा मतदान नै नहुने सरकारी घोषणाले विश्लेषकलाई झन् चिन्तित बनाएको छ । विज्ञले यो चुनावलाई सैन्य शासनलाई निरन्तरता दिन खोजिएको ‘औपचारिक बहाना’ मात्र भएको टिप्पणी गरेका छन् । थाइल्यान्डका विदेशमन्त्रीले मङ्गलबार राति सञ्चारकर्मीसँग भन्नुभयो, “हामी यसलाई स्वतन्त्र र विश्वसनीय बन्ने अपेक्षा राख्छौँ, तर त्यसो नहुने यथार्थ हामी सबैलाई थाहा छ । मेरो धारणा अनुसार हामी यस्ता चुनावलाई मान्यता दिने अवस्थामा रहने छैनौँ ।” यद्यपि उहाँले सन् २०१० को म्यान्मा निर्वाचनलाई उदाहरण दिँदै अपूर्ण चुनावले पनि कहिले काहीँ राजनीतिक सुधारतर्फ अघि बढ्ने बाटो खोल्न सक्ने बताउनुभयो । सन् २०१० को मतदानमा जनरल थेइन सेन राष्ट्रपति निर्वाचित भएपछि आङ सान सुकी रिहा हुनुका साथै अर्को निर्वाचनमा एनएलडीले विजय हाँसिल गरेको प्रसङ्ग उहाँले स्मरण गराउनुभयो । “सायद अपूर्ण भए पनि यो चुनावले देशलाई स्थिरता र लोकतन्त्रतर्फ फर्काउने अवसर दिन सक्छ”, उहाँले बैङ्ककमा भन्नुभयो ।

छिमेकी मुलुकका रूपमा थाइल्यान्डले म्यान्माको द्वन्द्वबाट विस्थापित लाखौँ नागरिकलाई आश्रय दिरहेको छ । म्यान्माको बिग्रँदो आर्थिक अवस्थाका कारण रोजगारी खोज्दै देश छोड्नेको सङ्ख्या पनि उल्लेख्य छ । फ्रान्सका लागि पूर्व राजदूतसमेत रहनुभएका सिहासाकले ८० वर्षीया नेत्री आङ सान सुकीलाई मानवीय आधारमा तुरुन्त रिहा गर्न म्यान्मा अधिकारीलाई आग्रह गर्नुभयो । “उहाँलाई अहिले मुक्त गर्नु अत्यावश्यक छ । यस्तो अवस्थामा सही कुरा भन्नु नै उचित हुन्छ । उहाँ लामो समयदेखि हिरासतमा हुनुहुन्छ, उहाँको स्वास्थ्यको अवस्थाबारे हामी अज्ञात छौँ”, उहाँले गम्भीर रूपमा भन्नुभयो । म्यान्मामा पहिलो चरणको मतदान डिसेम्बर २८ देखि सुरु हुनेछ भने दोस्रो चरण जनवरी ११ का लागि तय गरिएको छ । त्यसपछिका चरण तथा अन्तिम परिणाम कहिले सार्वजनिक गरिने भन्नेबारे सरकारद्वारा कुनै जानकारी दिइएको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...