अस्पताल सञ्चालनमा समस्या

Published on

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण र आर्थिक अभावका कारण अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन । सङ्घीय सरकारको आर्थिक सहयोगमा सैनामैना नगरपालिका–४, मुर्गियामा १५ शय्याको अस्पताल दुई वर्षअघि निर्माण सम्पन्न भएको हो । १२ करोड रुपियाँ लागतमा बनेको चारतले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न जनशक्ति र आर्थिक अभाव समस्याका रूपमा देखिएको छ । नगरपालिकाले आफ्नै बलबुतामा अहिले सोही भवनबाट नगर अस्पतालको सेवा सञ्चालन गरेको छ तर जनशक्ति तथा उपकरणको अभावमा समस्या परेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त श्रेष्ठले नगरपालिकाले वार्षिक एक करोड रुपियाँ बजेट विनियोजन गरी नगर अस्पतालको सेवा सुरु गरेको बताउनुभयो । सोही रकमबाट औषधी खरिददेखि अस्पतालको जनशक्ति व्यवस्थापनको काम केही मात्रामा भइरहेको श्रेष्ठले बताउनुभयो । 

उहाँले सङ्घीय सरकारबाट अस्पताल सञ्चालन खर्च नआउँदा बिरामी भर्ना गरेर सेवा दिन नसकिएको बताउँदै सहयोग पठाउने आश्वासन पाएकाले अस्पतालको सेवा विस्तार हुने अपेक्षा रहेको उल्लेख गर्नुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर १७ गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी देशका विभिन्न स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गर्नुभएको थियो । सोही निर्णय अनुसार सैनामैना नगरपालिकाको मुर्गियामा १५ शय्याको सैनामैना नगर अस्पताल बनेको हो । अस्पताल भवन रहेको सैनामैना नगरपालिका–४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले अहिले एक जना एमबिबिएस चिकित्सकको व्यवस्था गरी अस्पतालले सेवा दिइरहेको बताउँदै जनशक्ति अभाव र अस्पतालको सञ्चालन खर्च अभाव रहेको बताउनुभयो । अस्पताल सञ्चालनका लागि सरकारले ३२ जनाको दरबन्दी तोकेको छ तर अस्पतालमा सरकारले दरबन्दी अनुसारको जनशक्ति पठाएको छैन । वडाध्यक्ष अधिकारीले अस्पतालको सञ्चालन खर्च वार्षिक तीन करोडभन्दा बढी लाग्ने बताउँदै नगरपालिकाले वार्षिक एक करोड बजेट छुट्याएर अस्पताल सञ्चालन गरिरहेको बताउनुभयो । 

सरकारले १५ शय्याको अस्पतालका लागि मेडिकल डाक्टर एक जना, मेडिकल अधिकृत दुई जना, स्टाफ नर्स छ, हेल्थ असिस्टेन्ट चार, आयुर्वेद सहायक एक जनाको दरबन्दी छ । ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट, एनेस्थेटिक सहायक, अप्थाल्मिक सहायक, नायब सुब्बा प्रशासन एक/एक, कार्यालय सहयोगी छ र सरसफाइकर्मी तीन गरी ३० जनाको दरबन्दी हुने व्यवस्था गरेको छ । उक्त अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा हेल्थपोस्टका स्वास्थ्यकर्मीले सोही अस्पतालबाट सेवा दिँदै आएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...