भेनेजुएला विदेशी नियन्त्रणमा छैन : डेल्सी रोड्रिगेज

Published on

काठमाडौं । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्नुभएको छ । ट्रम्पले भेनेजुएलामा ‘पूर्ण पहुँच’ आवश्यक भएको टिप्पणी गरेपछि रोड्रिगेजको यो प्रतिक्रिया आएको हो । मङ्गलबार (स्थानीय समय) कृषि–खाद्य, माछा, सामुदायिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित एक सरकारी कार्यक्रममा उहाँले भन्नुभयो, “हामी जनताको साथमा शासन गरिरहेका छौँ । भेनेजुएलाको सरकारले देश चलाउँछ, अरू कसैले होइन । भेनेजुएलालाई शासन गर्ने कुनै बाह्य एजेन्टहरू छैनन् ।” उहाँको भनाइ राज्य सञ्चालित टेलिभिजन भेनेजोलाना डे टेलिभिजनमार्फत प्रसारण गरिएको थियो ।

उहाँले पदच्युत राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गर्दै भइरहेको प्रदर्शनको पनि उल्लेख गर्नुभयो । गत जनवरी ३ को बिहान काराकासमा भएको अमेरिकी सैन्य कारबाहीपछि मदुरो दम्पतीलाई संयुक्त राज्य अमेरिकाले हिरासतमा लिएको थियो । रोड्रिगेजका अनुसार त्यसपछि भेनेजुएलाली जनताले सडकमा उत्रिएर आफ्नो धारणा व्यक्त गरिरहेका छन् । यद्यपि, कार्यवाहक राष्ट्रपतिका रूपमा रोड्रिगेजको वैधानिकतामाथि विपक्षी पक्षले गम्भीर प्रश्न उठाइरहेका छन् । विपक्षी नेता तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना मचाडोले उहाँमाथि भ्रष्टाचारमा संलग्न भएको तथा रुस र इरानसँग निकट सम्बन्ध रहेको आरोप लगाउनुभएको छ । एक अन्तरवार्तामा मचाडोले रोड्रिगेजलाई भेनेजुएलाको दमनकारी संयन्त्रसँग जोडिएको व्यक्तिका रूपमा चित्रित गर्नुभएको छ ।

यसबीच रोड्रिगेजले पछिल्ला घटनाक्रमका बाबजुद देश अझ बलियो बनेको दाबी गर्नुभयो । “चुनौती, आक्रमण र खतराहरूको सामना गर्दै हामी आध्यात्मिक रूपमा अझ सबल भएका छौँ”, उहाँले भन्नुभयो । रोड्रिगेजको प्रतिक्रिया ट्रम्पले भेनेजुएलामा ‘सङ्क्रमण प्रक्रिया’ अमेरिकी अधिकारीहरूले निरीक्षण गर्ने घोषणा गरेको एक दिनपछि आएको हो । ट्रम्पले भेनेजुएलाका अन्तरिम अधिकारीहरू अमेरिकासँग सहकार्य गर्न तयार रहेको पनि दाबी गर्नुभएको थियो । हालैको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा रोड्रिगेजले सात दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ । राज्य प्रसारकसँग कुरा गर्दै उहाँले देशको रक्षा गर्ने क्रममा ज्यान गुमाउने युवा पुरुष र महिलाको सम्मानमा शोक अवधि तोकिएको बताउनुभयो । उहाँले हिरासतमा रहेका मादुरो र उहाँकी पत्नीलाई फिर्ता गर्न पनि आग्रह गर्नुभएको छ । दम्पती हाल न्युयोर्कस्थित एक हिरासत केन्द्रमा हुनुहुन्छ र सोमबार उहाँहरूले लागुऔषध तथा हतियारसम्बन्धी अभियोगमा आफूहरू निर्दोष रहेको बताउनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...