सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर

Published on

काठमाडौं । केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुला गर्‍यो । एक वर्षदेखि बन्द रहेको नाका खुला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे । त्यही टोलीमा हुनुहुन्थ्यो छेकम गाउँका दोर्जे लामा । त्यहाँ उहाँले तिब्बती गाउँबस्तीका बासिन्दाको दिनचर्या नियाल्नु भयोे । सबैजना यातायातका साधन प्रयोग गरेको देखेर उहाँ प्रभावित हुनु भयो । ‘तिब्बत जाँदा त्यहाँ मान्छेहरू घाँस काट्न जान परे पनि, गोठमा जाँदा पनि, बाहिर फेर जताततै हिँड्दा पनि बाइक वा स्कुटर चलाएर हिँडेको देखेँ । उताको जमिन र हाम्रो छेकम्पारको जमिन उस्तै त हो, डाँडा, भिर पखेरा । यता पनि कसो नचल्ला त भनेर विचार गरेँ’, दोर्जे भन्नु हुन्छ, ‘पसलमा गएर भाउ सोधेको एक लाखमा बिजुलीबाट चार्ज गर्न मिल्ने स्कुटर आउँदो रहेछ । अनि जसो होला होला, विचार गर्नु पर्‍यो भनेर एउटा किनेर ल्याएको हुँ ।”

स्याकसम्म सडक भए पनि छेकम्पारसम्म स्कुटर ल्याउन सडक थिएन । न त उहाँलाई स्कुटर चलाउने सीप नै थियो । मान्छे, खच्चड, याक, चौँरी मात्र जसोतसो हिँड्न मिल्ने बाटोमा स्कुटर ल्याउन पनि उहाँले धेरै नै मेहनत गर्नुपर्‍यो । ‘उता (तिब्बत) बाट आउँदा उकालोमा हामी चार–पाँच जनाले बोक्यौँ, सजिलो बाटोमा कतै डोहोर्‍याउँदै, कतै एक जना चढ्ने, अरूले समात्ने गर्दै ल्याइपुर्‍यायौँ’, उहाँले भन्नुभयोे, ‘ल्याउँदा ल्याउँदै बाटोमै स्कुटर चलाउन जान्ने भइयो ।’ हिमालपारि छेकम्पारमा यसरी स्कुटर चलाउने लामा पहिलो व्यक्ति हुनु भएको छ । अचेल उहाँ स्कुटर हाँकेर गाउँघर डुल्ने गर्नु हुन्छ । सडक सञ्जालले नछोएको र अझै दशौँ वर्ष सडक पुग्ने कल्पना नगरिएको चुमनुब्री–७, छेकम्पारको साँघुरो गल्लीमा दोर्जे चीनबाट ल्याएको स्कुटर हाँकेर हिँड्ने गर्नु हुन्छ । घोडा चढेर गाउँघर, वनजङ्गल आवतजावत गर्ने छेकम्पारवासीका बिच दोर्जे विद्युतीय स्कुटरमा सवार भएको देख्दा स्थानीयवासी पनि प्रभावित छन् । ‘अहिले त मेरो मात्रै छ । सबै जनाले हामी पनि चढ्छौँ नि भनेर मागेर हैरान पार्छन् । चलाउन जान्दैनन् । बिर्गादिन्छन् झैँ लाग्छ’, दोर्जे भन्नु हुन्छ “अब आउँदो साल त अरूले पनि स्कुटर किन्ने भनेका छन् । अब गाउँमा सिँडी नबनाउने बरू स्कुटर चढ्ने सडक बनाउने निर्णय भइसक्यो ।”

छेकम्पारकै लामा गाउँका पासाङ फुन्जो लामाले भने विगत एक दशकअघि गाउँमा ट्र्याक्टर भित्र्याउनु भएको थियो । लामा चुमनुब्री–७ का निवर्तमान वडाअध्यक्ष पनि हुनु हुन्छ । सडकले नछोएको छेकम्पारमा लामाले भूकम्पपछि २०७२ सालमा रु १८ लाख पर्ने ट्र्याक्टर ३४ लाख भाडा तिरेर हेलिकाेप्टरमार्फत गाउँमा ल्याउनु भएको थियो । ट्र्याक्टरका लागि आवश्यक पर्ने इन्धन भने उहाँले आरुघाटको आर्खेतबाट खच्चडमार्फत ल्याउने गर्नु हुन्छ । पासाङको ट्र्याक्टरमा निर्माण सामग्री ढुवानी गरी लामा गाउँमा गुम्बा र विद्यालय निर्माण भएका छन् । ट्र्याक्टर भने स्थानीय साम्डु लामाले चलाउने गरेका छन् । ट्र्याक्टर छेकम्पारको उकालोओरालोमा सजिलै आवतजावत गर्ने गरेको पासाङको भनाइ छ । उहाँ भन्नु हुन्छ, “यसबाट खासै आम्दानी त हुँदैन तर यहाँ पूर्वाधार निर्माणका काममा निकै सजिलो भएको छ ।” छेकम्पारसम्म सडक आउला र नजिकका गाउँ बस्तीमा पनि सजिलै ट्र्याक्टरमा सामान ढुवानी गर्न पाउँला भन्ने अपेक्षा पासाङफुन्जोलगायत सम्पूर्ण छेकम्पारवासीको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...