आँखा अस्पताललाई आधुनिक उपकरण

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले सर्लाहीको लालबन्दीमा सञ्चालित सामुदायिक परोपकार आँखा उपचार केन्द्र (अस्पताल) लाई बुधबार आधुनिक उपकरण हस्तान्तरण गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा क्लबले लालबन्दी नगरपालिका –५, जरुवापानीमा सञ्चालित आँखा उपचार केन्द्रको स्तरोन्नतिका लागि दुई करोड २० लाख २१ हजार ८६० रुपियाँ बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरेको हो । सहयोग गरिएको उपकरणहरुमा आँखाको अप्रेसन गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत रहेका छन् । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनबाट प्राप्त रकमले आँखा उपचार केन्द्रका लागि उपकरणहरु सहयोग गरिएको हो । मुख्यमन्त्री यादवले लायन्स क्लबबाट प्राप्त उपकरणले मधेश प्रदेशको मुटुको रुपमा परिचित र मध्यभाग समेत पर्ने लालबन्दीमा आँखाका बिरामीका लागि राहत मिलेको बताउनुभयो । 

अत्याधुनिक उपकरणले लालबन्दी मात्र नभइ मधेश प्रदेशका अन्य जिल्ला र भारतीय नागरिकलाई समेत लाभ मिल्ने मुख्यमन्त्री यादवको विश्वास छ । उहाँले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा धेरै बेथिति रहेको उल्लेख गर्दै आफू सरकारमा रहँदासम्म सुधारका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै, मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल रायले आँखा उपचार केन्द्रका लागि लायन्स क्लबले प्रदान गरेको उपकरण सञ्चालन गर्न सक्ने क्षमता भएका प्राविधिक प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य मन्त्री रायले लालबन्दीमा ट्रमा सेन्टर स्थापनाका लागि आवश्यक बजेट विनियोजन गर्ने घोषणा गर्नुभएको छ । मधेश प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बेची लुङ्गेलीले लायन्स क्लबबाट प्राप्त उपकरणको सही सदुपयोग गरी यस क्षेत्रको आँखा रोगीलाई नियमित सेवा पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा अहिलेसम्म आँखाको परीक्षण र चश्मा वितरण मात्र हुँदैआएकोमा अब अत्याधुनिक मेसिन (फेको प्रविधि) मार्फत शल्यक्रिया गर्न मिल्नेगरी उपकरण उपलब्ध गराएको छ । 

लायन्स क्लब इन्टरनेशनलका पूर्व काउन्सिल चेयरपर्सन भरतप्रसाद ढुङ्गेलले काठमाडौंको तिलगङ्गाझैँ लालबन्दीमै आँखाको उपचार र शल्यक्रियाको व्यवस्था गर्न लागिपरेको बताउनुभयो । अत्याधुनिक मेसिनहरु प्राप्त भएसँगै दक्ष चिकित्सक र प्राविधिकहरु राखेर सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली तथा भारत बिहारका करिव १० लाख मानिसलाई आँखा उपचार सेवा प्रदान गर्ने लक्ष्य रहेको लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिनुभयो । उपकरण हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पञ्जियार, पूर्व स्वास्थ्य राज्यमन्त्री राम सिंहलगायतले मन्तव्य राख्दै स्थानीयस्तरमै सुविधायुक्त आँखा अस्पताल सञ्चालनको तयारी भइरहेकोप्रति खुसी व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...