काठमाडौं । दुई हजार ९४५ मिटर उचाईमा रहेको सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य सम्पन्न भएको छ । मङ्गलबार रातिदेखि बुधबार दिउँसोसम्म परेको हिउँले विमानस्थलमा करिब एक फिटसम्म जम्दा हवाई सेवा अवरुद्ध भएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलका कर्मचारी र निजी विमान कम्पनीका कर्मचारीहरू मिलेर हिउँ पन्छाउने काम गरेका थिए । नागरिक उड्डयन प्राधिकरणको शाखा कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर शाहीका अनुसार, बेल्चा र हिउँ पन्छाउने मेसिनको सहयोगमा करिब ६० जना सुरक्षाकर्मी र कर्मचारीहरूले दस घण्टासम्म काम गरेर जमेको हिउँ सफा गरेका थिए । हिउँ पन्छाएपछि नेपालगन्जबाट सिमकोटका लागि सीता एयरको जहाजले उडान भरेको छ । यसबाट दुई दिनदेखि नेपालगन्ज र सिमकोटमा रोकिएका यात्रुहरूलाई सहजता मिलेको छ ।
हिमपातले एसइई परीक्षार्थीलाई सास्ती
पाँच दिनको अन्तरालमा दुई पटक हिमपात भएपछि यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी गरिरहेका परीक्षार्थीहरूलाई चिसोका कारण समस्या भोग्नुपरेको छ । सिमकोटको बाल मन्दिर माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्दै आउनुभएका शिक्षक धिरज रोकायाले चिसो बढ्दा विद्यार्थी र शिक्षक दुवैलाई पढ्न कठिन भएको बताउनुभयो । यसकारण विद्यार्थीहरू न्यानो कपडा लगाएर कक्षामा सहभागी भइरहेका छन् । गोरखापत्र

