नेपाल र इटालीविरुद्धको खेल हेर्न मुम्बइको वनखेडे मैदान पुग्दै दर्शनक (फोटो फिचर)

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ। दिउँसो ३ बजेर १५ मिनेटपछि हुने खेल अगाडि नै नेपाली क्रिकेट समर्थक वानखेडे मैदान मुम्बइ पुग्नेक्रम जारी छ । प्रतियोगिताको सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपालले इटालीविरुद्ध जित निकाल्नु पर्नेछ। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल दबाबमा परेको हो। अझै तीन खेल बाँकी रहेकाले समूह ‘सी’ मा शीर्ष दुई स्थान हासिल गरेर सुपर आठमा पुग्ने सम्भावना सकिएको छैन। नेपालले दुई पटकको विजेता वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि खेल्न बाँकी छ। यस विश्वकपमा पाँच–पाँच टिम रहेको प्रत्येक समूहबाट शीर्ष दुई टिम सुपर आठमा पुग्ने प्रावधान रहेको छ। गत आइतबार इङ्ग्ल्यान्डसँग खेल्दा नेपालबाट जितभन्दा राम्रो प्रदर्शनको मात्र अपेक्षा थियो। दुई एसोसिएट टोलीबिचको भिडन्तमा भने नेपालले इटालीलाई हराउने अपेक्षा गरिएको छ। नेपाललाई जितको दाबेदार मान्नुमा केही कारण पनि छन्। पहिलो कारण त इङ्ग्ल्यान्डसँगको सानदार प्रदर्शन नै हो। सो खेलमा नेपालले विश्वकपमा आफू सहभागी होइन हरेक खेल जितेर सुपर आठमा पुग्ने लक्ष्यसहित भारत आएको हो भन्ने सन्देश विश्वलाई दिएको छ। नेपाल सानदार लयमा पनि छ। ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा अपराजित रहँदै नेपाल च्याम्पियन भएर यस विश्वकपमा खेल्न योग्य भएको हो। त्यसपछि नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनायो। अझ विश्वकपका दुई वार्मखेलमा पनि संयुक्त अरब इमिरेट्स र क्यानडालाई सजिलै हराएपछि नेपाललाई ठुला टिमले पनि हलुको रूपमा लिएको छैन।

नेपालले लगातार दोस्रो खेल मुम्बईस्थित वानखेडे क्रिकेट रङ्गशालामा खेल्दै छ। इटालीले आफ्नो पहिलो खेल कोलकाताको इडेन गार्डेन मैदानमा खेलेको थियो। नेपालले मङ्गलबार वानखेडे स्टेडियममा अभ्यास गर्ने मौका पनि पाएको छ। वानखेडे मैदानसँग अभ्यस्त हुनु नेपालका लागि भोलिको खेलमा ठुलो फाइदाको रूपमा रहने छ। अभ नेपालले वानखेडे रङ्गशालामा चारै खेल खेल्ने छ। चालु विश्वकपमा समूह चरणमा एकै मैदानमा सबै खेल खेल्ने भाग्यशाली टिम नेपाल मात्र हो। विगत हेर्ने हो भने इटालीविरुद्ध अहिलेसम्म खेलेका तिनै खेलमा नेपाल हाबी नै छ। अन्तर्राष्ट्रिय टी–२० मा नेपाल र इटालीबिच पहिलो पटक भिडन्त हुन लागेको हो तर यी दुई टिम ५० ओभरको खेलमा तीन पटक आमनेसामने भइसकेका छन्। सो तिनै भिडन्तमा नेपाल विजयी भएको थियो। यसै गरी इटालीको भारतीय उपमहाद्वीपमा खेल्ने अनुभवको कमीले पनि नेपाललाई फाइदा पुर्‍याउन सक्छ। युरोपेली परिस्थितिमा परिचित भए पनि इटाली भारतीय उपमहाद्वीपको मैदान र वातावरणमा खेल्न त्यत्ति अभ्यस्त छैन। जुन नेपालका लागि भने अनुकूल छ। यद्यपि इटालीलाई कम आँक्न मिल्दैन। युरोपेली छनोटमा स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्ससँगै विश्वकपमा चयन भएको हो इटाली। गत हप्ता इटालीले वार्मअपमा आयरल्यान्डलाई पनि चार विकेटले हराएको थियो। जुन आइसिसीका पूर्णकालीन सदस्य राष्ट्रविरुद्ध इटालीको पहिलो जित हो। नेपालका कप्तान रोहित पौडेलले पनि इटालीलाई कुनै पनि हालतमा कम आँक्न नमिल्ने बताउनुभएको छ तर इङ्ग्ल्यान्डविरुद्धको प्रदर्शनपछि आफ्ना खेलाडीको आत्मविश्वास उल्लेखनीय रूपमा बढेको पौडेलको दाबी छ। उहाँ भन्नुहुन्छ, “सो लय इटालीविरुद्धको खेलमा पनि कायम राख्नुपर्ने छ। इटाली राम्रो टिम हो। पछिल्लो समयमा इटालीले राम्रो क्रिकेट खेलिरहेको छ।”

नेपाल सरह इटालीका लागि यो खेल समूह ‘सी’ मा टिकिरहने लडाइँ हो। पहिलो खेलमै अर्को एसोसिएट टिम स्कटल्यान्डसँग ७३ रनले हारेकाले इटाली घाइते बाघ बनेर नेपालसँगको खेलमा फर्किने सम्भावनालाई पनि नकार्न मिल्दैन। ४५ वर्षको पर्खाइलाई समाप्त पार्दै विश्वकपमा पदार्पण गरेको इटालीले पनि क्रिकेटको सबभन्दा ठुलो मञ्चमा पहिलो जितको सुनौलो अवसर नेपालविरुद्ध नै देखेको हुनु पर्छ। किनभने बाँकीका दुई खेलमा दुई पटकका विजेता वेस्ट इन्डिज र इङ्ग्ल्यान्डलाई इटालीले हराउने सम्भावना कम नै छ। स्कटल्यान्डविरुद्धको खेलमा काउन्टी क्रिकेटको अनुभव भएका कप्तान वायने म्याडसेनलाई काँधमा चोट लागेपछि इटाली केही समस्यामा भने छ। यद्यपि इटालीको टिममा दाजुभाइ जस्टिन मोस्का र एनथोनी मोस्का जस्ता ब्याट्सम्यान हुनुहुन्छ। जस्टिनले टी–२० आइमा ब्याटिङ स्ट्राइक रेट १५८.९९ रहेको छ। एन्थोनी ४१.२ औसतसहित ब्याटिङ गरेर मध्यक्रमलाई बलियो बनाउने ब्याट्सम्यान हुनुहुन्छ। इटालीका क्रिसन कालुगामागेले आक्रमणको नेतृत्व गर्नुहुने छ। कालुगामागे श्रीलङ्काली मूलका हुनुहुन्छ। इटालीको टिममा रहेको अर्को दाजुभाइको जोडी ह्यारी र बेन्जामिन मानेटीसँग पनि नेपाल सतर्क हुनुपर्ने छ। बेन्जामिनले स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रनको अर्धशतकीय पालि खेलिसक्नुभएको छ। जेजे स्मुट्स कप्तानपछिका इटालीका अनुभवी क्रिकेटर हुनुहुन्छ। यो खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेमा विशेष नजर रहने छ। सन्दीप नेपालका ट्रम्प कार्ड हुनुहुन्छ। दीपेन्दसिंह ऐरी, कुशल भुर्तेल र गुल्सन झा जस्ता अलराउन्डरले पनि नेपाली टिमलाई सन्तुलित बनाएको छ। यसै गरी इटालीको टिम पछिल्लो खेलमा स्कटल्यान्डका स्पिनर माइकल लिस्कको स्पिनमा धराशायी भएको थियो। त्यसैले इटालीको पालिमा सन्दीपसँगै नेपालका स्पिनर पनि हेर्न लायक हुने छन्।  गोरखापत्र

spot_img

ताजा समाचार

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...