काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा २०८२ भदौ २४ गते भएको आगजनीबाट क्षति पुगेपछि निर्माणाधीन अवस्थामा रहेको यसै भवनमा बैठक सञ्चालन गरिएको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बैठक सुरु भएको छ । बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य केसीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । यस्तै, राष्ट्रपतिको कार्यालयबाटै प्राप्त प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा समेत सदनलाई जानकारी गराइने छ ।
नियमावली र अध्यक्ष मण्डलको मनोनयन
बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारबाही अघि बढाउने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गरिने छ । नेपालको संविधानको धारा १०४ बमोजिम सभाले आफ्नो नियमावली नबनाएसम्मका लागि पुरानै नियमावली अनुसार सदन सञ्चालन हुने छ । साथै, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्नका लागि सदस्यहरूको मनोनयन (अध्यक्ष मण्डल) गर्ने कार्यसूची समेत तय गरिएको छ ।
शीर्ष नेताहरूको सम्बोधन
अधिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा राजनीतिक दलका शीर्ष नेताहरूले सदनलाई सम्बोधन गर्नुहुने छ । सचिवालयका अनुसार आजको बैठकमा:
राष्ट्रिय स्वतन्त्र पार्टी: सभापति रवि लामिछाने
नेपाली कांग्रेस: भीष्मराज आङ्देम्बे
नेकपा (एमाले): रामबहादुर थापा ‘बादल’
नेपाल कम्युनिस्ट पार्टी: वर्षमान पुन
श्रम संस्कृति पार्टी: हर्क साम्पाङ
राष्ट्रिय प्रजातन्त्र पार्टी: ज्ञानबहादुर शाही
स्वतन्त्र सांसद: महावीर पुन लगायतले मन्तव्य राख्ने सम्भावना छ ।
सभामुख निर्वाचनको मिति तोकिने
बैठकमा ज्येष्ठ सदस्यले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख पदको निर्वाचनका लागि मिति तोक्नुहुने छ ।
अध्यादेश पेस र शोक प्रस्ताव
बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा महत्त्वपूर्ण अध्यादेशहरू पेस गर्ने कार्यसूची छ :
१. मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२
२. प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२
३. नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२
बैठकको अन्त्यमा संविधान सभाका पूर्व सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधान सभा तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव पाण्डेयले जानकारी दिनुभयो । गोरखापत्र

