भुक्तानी नपाउँदा सहकारीले डिडिसीलाई दूध बेच्न छाडे

Published on

काठमाडौं । नियमित भुक्तानी नपाउँदा पश्चिम नवलपरासीका दूध बिक्री गर्दै आएका सहकारीहरूले दुग्ध विकास संस्थान (डिडिसी)लाई दूध बिक्री गर्न छाडेका छन्। पटक–पटक नियमित भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि डिडिसीले सहकारीहरूको बक्यौता रकम समयमै नतिरेपछि अधिकांश सहकारी निजी डेरीतर्फ मोडिएका हुन्। सरकारी निकाय डिडिसीले सहकारीबाट उधारोमा दूध खरिद गरी नगदमा बिक्री गर्ने गरे पनि सहकारीलाई नियमित भुक्तानी नगर्दा समस्या बढेको भुमही दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भूपराज भट्टराईले बताउनुभयो। उहाँका अनुसार डिडिसीले छ महिनासम्म पनि भुक्तानी नगर्ने गरेकाले बाध्य भएर निजी दुग्ध खरिदकर्ता डेरीलाई दूध बिक्री गर्नुपरेको हो। सहकारीले आफ्नै बचतबाट किसानलाई १५–१५ दिनमा भुक्तानी गर्दै आए पनि बिक्री गरेको निकायबाट पैसा नपाउँदा समस्या भएको उहाँको भनाइ छ। भुमही दुग्ध सहकारीले दैनिक ३ सय किसानबाट ३ हजार लिटर दूध सङ्कलन गर्दै आएको छ। हाल उक्त सहकारीले निजी संस्थालाई दूध बेच्दै आएको छ, जहाँबाट तीन महिनाको २ करोड २१ लाख रुपियाँ भुक्तानी पाउन बाँकी छ। डिडिसीको तुलनामा निजी संस्थाबाट भुक्तानीमा केही सुधार भए पनि अझै नियमितता नआएको भट्टराईले बताउनुभयो।

डिडिसीलाई दूध बिक्री गर्दै आएको सुनवलको मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाले पनि तीन महिनाभन्दा बढीको भुक्तानी पाउन बाँकी रहेको जनाएको छ। दैनिक तीन सय लिटर दूध सङ्कलन गर्ने उक्त सहकारीले १३ लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको सहकारीका उपव्यवस्थापक दीपक तिवारीले जानकारी दिनुभयो। किसानहरूलाई भने सहकारीकै बचतबाट नियमित भुक्तानी भइरहेको उहाँले बताउनुभयो। जिल्ला दुग्ध सहकारी संघ नवलपरासीका अध्यक्ष पूर्णप्रसाद तिमिल्सेनाले डिडिसीबाट भुक्तानी नपाउने समस्याका कारण धेरै सहकारी तथा डेरी निजी दूध खरिदकर्ता संस्थातर्फ मोडिएको बताउनुभयो। जिल्लामा सबैभन्दा धेरै दैनिक ६ हजार लिटर दूध बिक्री गर्ने चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था, बर्दघाटले पनि अहिले डिडिसीलाई दूध बिक्री नगरेको उहाँले बताउनुभयो। उक्त संस्थाले भुक्तानी समस्याकै कारण हिमालय डेरी र नेपाल डेरी प्रालिलाई दूध बिक्री गर्दै आएको छ। तिमिल्सेनाले भन्नुभयो, “भुक्तानी सुधार हुन्छ भनेर धेरै आश्वासन पाइयो, तर सरकारी संस्थाबाटै भुक्तानी नपाउने समस्या छ। त्यसैले अहिले धेरैले निजीमा बिक्री गर्दै आएका छन्। निजीबाट पनि नियमित भुक्तानी नहुँदा समस्या भएको छ।” जिल्लाका सहकारीहरूले दूध बिक्रीबापतको १० करोड रुपियाँभन्दा बढी रकम पाउन बाँकी रहेको जिल्ला दुग्ध सहकारी संघले जनाएको छ। जिल्लामा संघअन्तर्गत १५ वटा दुग्ध सहकारी आबद्ध छन्। नवलपरासीमा दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। समयमै भुक्तानी नपाउँदा दूध सङ्कलन गर्ने सहकारी तथा स्थानीय डेरीहरू समस्यामा परेका छन्। विगतको तुलनामा भुक्तानीमा केही सुधार भए पनि नियमित हुन नसकेको सहकारी सञ्चालकहरूको भनाइ छ। गोरखापत्र

spot_img

ताजा समाचार

असनमा हरेक शनिबार सवारी निषेध गरिने

 काठमाडौं । काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी...

विराटनगरमा विद्युतीय सुरक्षा सचेतना र्‍याली

काठमाडौं । सामान्य लापरवाहीले पनि विद्युतीय दुर्घटना भई ज्यान जान सक्ने जोखिमप्रति सचेत गराउँदै...

आठ महिनामा इनरुवा मालपोतको ५१ करोड राजस्व

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले चालु आर्थिक वर्ष २०८२/०८३ को आठ...

‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने

काठमाडौं । नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले प्याकेज खरिद गरेर वा नियमित शुल्क...