काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको छ। चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर १३१ रन बनाउँदै पूरा गरेको हो।
यो जितसँगै सुदूरपश्चिमले चार खेलबाट चार अङ्क जोडेको छ। चितवनको भने जारी प्रतियोगितामा यो पहिलो हार हो। पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको चितवनले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा लुम्बिनी लायन्ससँग एक–एक अङ्क बाँडेको थियो। तीन खेलबाट चितवनको तीन अङ्क छ। चितवन पराजित भएसँगै साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणमा एक मात्र अपराजित टोली बनेको छ।
सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा छ चौका र दुई छक्का प्रहार गरे। इशान पाण्डेले २९ बलमा दुई चौकासहित २५ रन जोडे। तीन रनमै पहिलो विकेट गुमाएको सुदूरपश्चिमका लागि म्याकमुलेनले विनोद भण्डारीसँग दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे। विनोद ११ रन बनाएर आउट भए। त्यसपछि म्याकमुलेनले इशानसँग तेस्रो विकेटका लागि ३६ रन जोडे।
म्याकमुलेन र कप्तान दीपेन्द्रसिंह ऐरी लगातार आउट भएपछि सुदूरपश्चिम ७० रनमा चार विकेट गुमाएको अवस्थामा पुगेको थियो। तर, आरिफ शेख र इशान पाण्डेले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। इशान आउट भएपछि आरिफले शेरफन रदरफोर्डसँग मिलेर टोलीलाई जितसम्म पुर्याए। रदरफोर्डले १५ बलमा दुई चौका र एक छक्कासहित अविजित २१ रन बनाए। आरिफले २६ बलमा अविजित २० रन जोडे। बलिङमा चितवनका रञ्जित कुमारले चार ओभरमा २८ रन खर्चेर तीन विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलमा तीन चौका र दुई छक्का प्रहार गरे। अर्धशतकका लागि एक रन आवश्यक भएका बेला ठूलो सट खेल्ने प्रयासमा उनी आउट भए। २७ रनमै दुई विकेट गुमाएको चितवनका लागि बोपारा र डाविड मालानले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए। बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग पनि ३२ रन जोडे।
विवेक कुमार यादवले अन्तिम बलमा रनआउट हुनुअघि १५ बलमा एक चौका र एक छक्कासहित १७ रन बनाए। डाविड मालानले १६ तथा अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५ रन जोडे। टम टेलर छ रनमा अविजित रहे। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एक–एक विकेट हात पारे। एनपीएलअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

