काठमाडौं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्यो । सुदूरपश्चिमले ३९ बल बाँकी छँदै सहज जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।
सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक शतकीय इनिङ खेले । उहाँले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतमा अविजित १२५ रन बनाउनुभयो । अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रनको योगदान दिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीले दिएको लक्ष्य सुदूरपश्चिमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै बिना विकेटको क्षतिमा पूरा गर्यो ।
लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको सुदूरपश्चिमले यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो । यसपटक भने फाइनलमा लुम्बिनीलाई नै हराउँदै सुदूरपश्चिमले लगातार दुई फाइनलमा भोगेको हारको शृङ्खला अन्त्य गरेको छ । यता, अघिल्लो संस्करणको विजेता लुम्बिनी यसपटक उपाधि रक्षा गर्न असफल भएको छ ।

