काठमाडौं -प्रधानमन्त्री बालेन शाह आज भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जान लाग्नुभएको हो ।
प्रधानमन्त्री शाह आज मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ । भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही अधिकारी पनि भ्रमण टोलीमा थपिनेछन् ।
प्रधानमन्त्रीसँगै निजी क्षेत्रका ५२ जना प्रतिनिधि पनि आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी हुनेछन् । त्यस्तै, निजी सञ्चारमाध्यमका पत्रकारहरू पनि आफ्नै खर्चमा भ्रमण टोलीमा जानेछन् । यससँगै भ्रमणमा सहभागी हुने कुल संख्या एक सयभन्दा बढी पुग्नेछ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तामा दुई देशबीचको व्यापार, पारवहन, लगानी, सम्पर्क सञ्जाल, पूर्वाधार तथा आर्थिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी, भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव अमृत राईले जानकारी दिनुभएको थियो । प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने तथा आर्थिक, व्यापारिक र पूर्वाधार सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ ।

