काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ प्रकोप अझै रहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संस्था र निजी क्षेत्रले सञ्चालन गरिरहेको हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जाेड दिएका छन् ।
राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवसका अवसरमा शुभकामना मन्तव्य दिँदै साबुनपानीले हात धुँदा श्वासप्रश्वासजन्य रोग एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने कुरा उल्लेख गरेका छन् ।
उनले सबै नेपालीले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन विज्ञप्तिमार्फत आह्वान समेत गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि मनाउन सुरु गरिएको विश्व हात धुने दिवस ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ ।