स्थिरता र सुशासनको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले  राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा आफूले काम गर्ने बताउनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारका न्यूनतम साझा कार्यक्रमको सार्वजनीकरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

यस पटक राम्रो काम मात्र गर्ने र नराम्रो गर्न कसैलाई नदिने नीति सरकारले लिएको उहाँले चर्चा गर्नुभयो । केही बेथितिहरू रहे पनि त्यसलाई नियन्त्रण गरेर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो पटक हामीलाई राष्ट्र र जनताको पक्षमा, स्थिरता र सुशासनको पक्षमा जानुको कुनै विकल्प छैन । हामीले यो पटक राम्रो काम गर्ने, राम्रो काम बाहेक गर्दै नगर्ने, गर्नै नदिने भनेका छौँ । बेथितिहरू छन् त्यसलाई नियन्त्रण गरेर लैजाने प्रतिबद्धताका साथ हामी छौँ । न्यूनतम साझा कार्यक्रममा सबै दलका चुनाव बेलाका घोषणापत्र सङ्कलन गरेर साझा कुराहरू निकालेर राखेका छौँ ।”

दिशानिर्देश गर्ने मुख्य दस्ताबेज सरकारको साझा कार्यक्रम दिशानिर्देश गर्ने मुख्य दस्ताबेज रहेको बताउनुभएको छ । सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको आधारमा हरेक निर्णय लिने कुरा स्वाभाविक रूपमा भए पनि विभिन्न विचार र नयाँ दलहरू सम्मिलित अहिलेको सरकारको साझा कार्यक्रम दिशानिर्देश गर्ने मुख्य दस्ताबेज रहेको उहाँले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “साझा कार्यक्रम बेवारिसे हुने भन्ने छैन, पहिलाको जस्तै नठानिदिनुहोला । यो कुरा विशेष रूपले ध्यानाकर्षण गराउन चाहन्छु । प्रधानमन्त्रीले निर्णय लिएर अघि बढ्नुपर्ने हुन्छ यसको लागि ठूलो आधार भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई आधार बनाउने हो । साझा कार्यक्रम जो पारित भएको छ, यो दिशानिर्देश गर्ने मुख्य दस्ताबेजको रूपमा महत्त्वपूर्ण छ ।”

केही दिनअघि सरकारका सचिवहरूलाई राखेर केही निर्देशन जारी गरेको बताउनुहुँदै उहाँले विगतमा सरकारका कार्यक्रम जुन तदारुकताका साथ जानुपर्ने सोअनुरूप जान नसकिरहेको बताउनुभयो । 

“सरकारको नीतिगत प्राथमिकता र केही समय पहिले पनि न्यूनतम कार्यक्रम भनेर घोषणा गरेका थियौँ । त्यो कार्यान्वयनमा खासै गएको देखिँदैन । प्रतिबद्धता धेरै गरिएको देखिए,  तर जुन तदारुकताका साथ जानुपर्ने थियो त्यो नगएको तितो अनुभव मसँग छ” उहाँले भन्नुभयो । 

नीतिगत प्राथमिकता र एक महिनाभित्र कार्ययोजना बनाएर ठोस रूपमा जाने योजना रहेको भन्नुहुँदै राजनीतिक एजेण्डा, पृष्ठभूमि फरक–फरक रहेको अवस्थामा सरकार कसरी अगाडि जाला भन्ने जिज्ञासा उत्पन्न भएकोमा जनअभिमतअनुसार सरकार बनेकाले यसलाई सफल बनाउन सम्पूर्ण रूपले तागत लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा उहाँले भन्नुभयो, “सामाजिक, आर्थिक, राजनीतिक जीवनका, परराष्ट्र नीतिसँग सम्बन्धित सरकार हामी दुबिधारहित ढङ्गले तपाईँहरू सक्रिय हुँदा तपाईँहरूको क्षमता, अनुभव, गतिशीलता, दक्षताप्रति पुरै विश्वास छ । तर कहिलेकाहीँ राजनीतिक नेतृत्वको दृढ इच्छाशक्तिको अभाव वा अनुभव वा दक्षताको सही ढङ्गबाट सदुपयोग हुन पाएको छैन कि ।”

कुनैखालको प्रलोभनमा नपरी राष्ट्र, जनता र सिङ्गो सामाजिक रूपान्तरणका लागि अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । देश आर्थिक रूपले केही अप्ठ्यारोमा भए पनि सम्हाल्न नसक्ने अवस्थामा भने नरहेको उहाँको भनाइ छ । गाेरखापत्र ।

ताजा समाचार

आठौँ मण्डली कप हुने

काठमाण्डौँ । एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने...

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने...

तिहार नजिकिएसँगै मादल बनाउने चटारो

काठमाण्डौँ । धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ...

आज ‘सरकारका सय दिन’को उपलब्धि सार्वजनिक हुने

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्नुहुने...