बालबालिकाले निःशुल्क क्यान्सरको औषधि पाउने

Published on

काठमाडौं । नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित बालबालिकाले क्यान्सर रोगविरुद्धको औषधि निःशुल्क रूपमा प्राप्त गर्ने जानकारी दिनुभयो ।

ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)ले विश्व स्वास्थ्य सङ्गठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा नेपालले क्यान्सरविरुद्धको निःशुल्क औषधि प्राप्त गर्नेछ । स्वास्थ्य सचिव गुरागाईंले सन् २०३० सम्म ६० प्रतिशत क्यान्सर रोगीलाई निको गराउने लक्ष्यसहित ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । ती औषधि विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार प्रयोग हुनेछन् ।

“यस अगाडिदेखि नै कान्ति अस्पतालको नेतृत्वमा क्यान्सर रोगको औषधि निःशुल्क उपलब्ध गराउने काम भइरहेको थियो,” उहाँले भन्नुभयो, “बालबालिकालाई लक्षित गरेर हामीले निःशुल्क रूपमा क्यान्सरविरुद्धको औषधि प्राप्त गर्नेछौँ ।” नेपाललगायत कम विकसित छवटा राष्ट्रलाई यो वर्ष क्यान्सरविरुद्धको औषधि निःशुल्क उपलब्ध गराइनेछ ।

ती देशमा जाम्बिया, इक्वेडर, उज्बेकिस्तान, जोर्डन र मङ्गोलिया पनि रहेका छन् । अर्को वर्ष थप छवटा देश गरेर १२ वटा राष्ट्रले बालबालिकाका लागि क्यान्सरविरुद्धको निःशुल्क औषधि प्राप्त गर्नेछन् । नेपालमा पाटन अस्पतालबाट भने अन्य क्यान्सरका लागि लाखौँ मूल्य पर्ने औषधि निःशुल्क वितरण भइरहेको छ । बालबालिकालाई लक्षित गरेर पहिलो पटक नेपालले निःशुल्क औषधि प्राप्त गर्न लागेको हो । यससम्बन्धी कार्यलाई अघि बढाउन गत चैत २९ र ३० गते अमेरिकाको टेनिसी राज्यस्थित मेम्फिस सहरमा ग्लोबल प्लेटफर्म टु एक्सेस चाइल्डहुड क्यान्सर मेडिसिन ९जीपीएसीसीएम० पूर्वप्रक्षेपण सम्मेलन आयोजना गरिएको थियो । सो कार्यक्रममा भाग लिन नेपालबाट स्वास्थ्य सचिव देवकुमारी गुरागाईंको नेतृत्वमा कान्ति अस्पताललगायतका निर्देशक, स्वास्थ्य मन्त्रालयका पदाधिकारीसहितको प्रतिनिधिमण्डल अमेरिका गएको थियो ।

नेपालमा कान्ति बाल अस्पतालमा मात्र वार्षिक तीन सय जना बालबालिकाको क्यान्सर रोगको उपचार हुने गरेको छ । नेपालभरमा वार्षिक एक हजार पाँच सय बालबालिका विभिन्न क्यान्सर रोगबाट पीडित हुने अनुमान गरिएको छ । नेपालमा क्यान्सर रोगलाई अन्त्य गर्नका लागि तथा क्यान्सरको समयमै रोकथाम र उपचार गर्ने व्यवस्था मिलाउन जीआईसीसीले निःशुल्क अभियान सुरु गरेको हो ।

यस अभियानमा जीआईसीसीले सन् २०३० सम्म १० लाख क्यान्सरपीडित बालबालिकालाई बचाउने र विश्वभरि ६० प्रतिशत क्यान्सर निको गर्ने लक्ष्य लिएको छ । यो कार्यक्रमको पहिलो चरणमा जीआईसीसीले नेपालसहित छवटा देशमा ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउनेछ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...