पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

Published on

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जनाएको हो ।

चीनबाट उडेको एयरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो ।

विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरू बोकेको थियो । अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा जानुभएको थियो ।

अङ्ग्रेजी नयाँ वर्षबाट उडान सुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन भने सकेको थिएन । यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौँ हुँदै चीन फर्किनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।

चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते  सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३)मा फेस्टिभल हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) लेसमेत सहयोग गरेका छन् ।

बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताउनुभयो ।

कार्यक्रममा सहभागी हुन चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर्ड उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछ । फेस्टिभलको सहयोगी संस्थाका रूपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन पोखरा छन् ।

चीनले यस प्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताउनुभयो ।

प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फत रेस हुनेछ । विजेताले रु ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवर्द्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ । पोखरा विमानस्थलमा पहिलोपटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...