स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्यास छिट्टै : प्रधानमन्त्री

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयवासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास छिट्टै गरिने बताउनुभएको छ ।

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताउनुभएको हो । यही साउन ३ गते सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ ।

प्रधानमन्त्रीले आयोजना प्रभावित स्थानीयबासीले मुआब्जालगायतका विषयमा उठाएका माग सम्बोधन गर्ने र उनीहरुलाई समेत विश्वाासमा लिएर अगाडि बढाउने विश्वास दिलाउनुभएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै, गोरखाको धौवादीघाटको पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो । त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको झोलुङ्गे पुलको पुनःनिर्माण समेत तत्काल शुरु गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल त्रिशूलीको बाढीले क्षति पुर्याएको छ ।सो अवसरमा अन्य विकास निर्माणलगायतका विषयमा समेत प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै सुदूरपश्चिम अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोले पुर्‍याएको क्षति तथा भीमदत्त राजमार्गमा भएको अवरोध खुलाउने विषयमा सुदूरपश्चिम प्रदेशका नेकपा(माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । वैकल्पिक मार्गका रुपमा रहेको दैजी जोगबुढी सडक सञ्चालन गर्ने विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।

छलफलकै क्रममा प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रालयका सचिव केशवकुमार शर्मालाई टेलिफोन गरी भिमदत्त राजमार्ग नियमित सञ्चालन हुने वातावरण बनाउन र दैजी जोगबुढा सडक सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य ओमविक्रम भाटले जानकारी दिनुभयो । 

प्रधानमन्त्री प्रचण्डले बाढी प्रभावित क्षेत्रमा शीघ्र राहत तथा उद्धारको प्रबन्ध गर्नसमेत निर्देशन दिनुभएको थियो ।रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...