चरा चिन्ने सौख

Published on

काठमाडौं । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका सुबन चौधरी पढाइले कृषि प्राविधिक हुन् । १८ महिने कृषि जेटिएको कोर्स पूरा गरेर तीनवर्षे डिप्लोमा गरिरहेका छन् । अध्ययन कृषिमा भए पनि उनको सौख भने फरक छ । उनलाई चरा हेर्न, पहिचान गर्ने, अरूलाई चिनाउने र तिनको फोटो खिच्ने बढी रुचि छ । यही रुचिले उनलाई नेचर गाइड पनि बनायो . शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको उनको बस्ती छ । उनको टोलमा सामुदायिक होमस्टे पनि सञ्चालनमा छ । निकुञ्ज किनारमै बसोबास गर्ने भएका कारण पनि उनको रुचि चराप्रति बढेको हो । निकुञ्जमा देखिने अधिकांश चराका प्रजाति र नाम उनले थाहा पाउँछन् । थाहा नभएको विषयमा उनी विभिन्न पुस्तकमा अध्ययन गर्ने, साथीभाइलाई सोध्ने र गुगलमा समेत हेर्ने गर्छन् ।

‘चरा चिन्ने र चिनाउने रुचि छ,’ चौधरीले भने, ‘अरूभन्दा पनि चरा हेर्ने पर्यटक घुमाउन पाए अझ आनन्द हुन्छ ।’ उनलाई चराका फोटा खिच्ने पनि ठूलो रुचि छ । नयाँ र लोपोन्मुख चरा देख्नेबित्तिक्कै फोटो खिच्छन् । उनले खिचेका धेरै फोटोहरू विभिन्न पस्तकमा प्रकाशित पनि भएका छन् । नेचर गाइडसमेत रहेका चौधरी पर्यटकलाई घुमाउँदा पनि चराका विषयमा धेरै जानकारी दिन्छन् । उनलाई चरा हेर्न रुचाउने पर्यटक घुमाउन पाए अझ आनन्द आउँछ ।
पढाइ कृषि भए पनि मेरो सोख चरामै बढी छ, नयाँ चरा चिन्न पाउँदा निकै खुसी हुन्छु,’ चौधरीले भने, ‘निकुञ्जमा पाइने अधिकांश चरा चिन्न सक्छु, नदेखेका चरा चिन्न गाह्रो हुन्छ ।’ उनले संकलन गरेको चराको तस्बिर बर्डस् अफ कैलाली र बर्डस् अफ घोडाघोडी नामक पुस्तकमा समेत प्रकाशित भएको छ ।

चरा चिन्नका लागि उनले लामो समय स्वयंसेवी रूपमा काम गरे । चरासम्बन्धी विभिन्न गणनादेखि अन्य कार्यक्रममा निरन्तर सहभागी भए । यसले उनलाई चरा पहिचान गर्न र तिनका बारेमा जानकारी पाउन सजिलो भयो । अहिले उनी चराको फोटो खिचेर विभिन्न वेबसाइडमा अपलोड गर्छन् । २०१८ मा नेचर गाइडको तालिम लिएर उनी पर्यटक घुमाउन थालेका हुन् । सुरुमा पर्यटक मात्रै घुमाउने गरे पनि बिस्तारै चराका विषयमा पनि अध्ययन गर्न थालेको उनी बताउँछन् । चौधरी जस्तै भीमदत्त नगरपालिका–१४ नयाँ कटानका कुम ठाकुरको पनि चरा चिन्ने र चिनाउने सोख बढी छ । १६ वर्षदेखि नेचर गाइडको काम गरिरहेका उनी शुक्लाफाँटामा चरा चिनाउन सक्ने अब्बल गाइड हुन् । उनलाई पनि चरा हेर्न रुचाउने पर्यटकलाई गाइड गर्न पाउँदा रमाइलो लाग्छ ।

आईएड अध्ययन गरेका उनको बसाइ पनि निकुञ्ज छेउमै छ । तत्कालीन वन्यजन्तु आरक्षको पूर्वी क्षेत्र विस्तारका क्रममा उनको परिवार २०४५ मा रौतेलीबिचवाबाट नयाँ कटानमा पुनःस्थापना गरिएको हो । त्यतिबेला उनी सानै थिए । जब अध्ययन सँगै गाइडको काम गर्न थालेपछि त्यसपछि मात्रै उनले चराका बारेमा थाहा पाउन थालेका हुन् ।

‘चरा चिन्न सजिलो छैन, तर ध्यान दिन सके धेरै गाह्रो पनि छैन,’ ठाकुर सम्झिन्छन्, ‘गाइडको तालिम लिएपछि पर्यटक घुमाउन जाँदा चराबारे केही थाहा थिएन, पर्यटकले सोध्दा पनि चुप लाग्नुपर्ने अवस्था थियो, बिस्तारै अध्ययन गरे, गुगलमा हेरे, विभिन्न किताबमा हेरेर अहिले धेरै चरा चिन्न सकिन्छ ।’ उनका अनुसार चरालाई प्रत्यक्ष देख्नुका साथै आवाज सुनेर, रंगले र बासस्थानका आधारमा चिन्न सजिलो हुन्छ ।

‘चरा हेर्न आउने विदेशीबाट र केही किताबमा हेरेर सिकेको हुँ,’ ठाकुर भन्छन्, ‘नजानेको साथी भाइलाई पनि सोध्छु ।’ उनी पनि नयाँ र आकर्षक चरा देख्नेबित्तिक्कै फोटो खिच्छन् । त्यही फोटो आफ्नो फेसबुकमा संग्रह गर्छन् । कतिपय मोबाइल र ल्यापटपमै सुरक्षित राख्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले प्रकाशित गरेको निकुञ्जमा पाइने चराको प्रजातिसम्बन्धी पुस्तकमा उनले संकलन गरेको चराको तस्बिर प्रकाशित भएको छ । यसले उनलाई चराको फोटो खिच्न अझै हौस्याएको छ ।

घाँटीमा वाइनाकुलर र क्यामेरा झुन्ड्याएर पर्यटक घुमाउने उनको पेसा नै हो । नयाँ चरा देख्नेबित्तिक्कै वाइनाकुलर र क्यामेरा तेर्स्याइहाल्छन् । पर्यटकलाई पनि देखाइहाल्छन् । यसले पर्यटकहरूलाई झन् उत्साहित बनाउँछ । नेपालीभन्दा पनि विदेशी पर्यटकहरू चरा हेर्न बढी रुचि राख्छन् । दिनमा देखेको चरा चिन्न नसके पनि उनी फोटो खिच्छन् । त्यही फोटो किताबमा हेर्छन् । यसरी नै उनले चरा चिन्न सकेका हुन् ।

‘चरा हेर्दैर् बिहानदेखि साँझसम्मै जंगलमा डुल्न निकै आनन्द आउँछ,’ उनले भने, ‘दिनभरि डुल्दा अन्य वन्यजन्तु पनि देखिन्छन् ।’ पछिल्लो गणनाअनुसार शुक्लाफाँटामा ४ सय ६० प्रजातिका चरा छन् । चराका लागि कोशीटप्पुपछि शुक्लाफाँटा आकर्षक बासस्थान मानिन्छ । तालतलैयादेखि नदीनालाका कारण यहाँ चराको बासस्थान राम्रो भएको प्राविधिकहरू बताउँछन् । गाइडको तालिम लिएपछि सुरुमा उनी पनि सामान्य रूपमा पर्यटक घुमाउँथे ।

बाघ, हात्ती र गैंडा जस्ता वन्यजन्तु त जसले पनि चिन्न सक्छ भन्ने उनलाई लाग्यो । तर चरा चिन्न सके पर्यटकलाई अझ राम्ररी घुमाउन सकिने उनले थाहा पाए । त्यसपछि नै उनी चरातर्फ बढी केन्द्रित भएका हुन् । विदेशी पर्यटकहरू चरा हेर्न रुचाउने गरेका कारण पनि उनलाई यसतर्फ आकर्षित गरेको हो ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...