आगो बालेर दुर्गम गाउँमा बिजुली बिस्तार

Published on

काठमाडौं । विकास गर्न बजेट भएर मात्र होइन, कर्मचारीमा काम गर्ने इच्छाशक्ति आवश्यक पर्छ भन्ने कुरा अहोरात्र खटेर दुर्गम गाउँमा बिजुली बलेपछि पुष्टि भएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका कर्मचारीले ठेकेदारले एक वर्षमा गर्नुपर्ने काम डेढ वर्षसम्म पनि पूरा नगर्दा प्राधिकरणका कर्मचारी आफै स्थलगत रुपमै खटिएर बिजुलीका पोल गाडेर तार तानेपछि यहाँको दुर्गम शिवनाथ गाउँपालिकामा बिजुली बलेको छ ।

भारतीय गाउँको बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य शिवनाथमा बिजुली बाल्न नेपाल सरकारले एक करोड ४७ लाख रुपियाँ बजेट बिनियोजित गरेको थियो । गाउँपालिकामा पहिलो पटक बिजुली बलेपछि जनप्रतिनिधि र स्थानीयले प्राधिकरण कार्यालय प्रमुखसहितका कर्मचारीलाई फूलमाला लगाएर अबिर जात्रा गरेका छन् । आइतबार शिवनाथ गाउँपालिकाको सुल्खेखानमा आयोजित विद्युत् उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष कर्ण साउदले बिजुली बाल्न प्राधिकरणका कर्मचारीले रातभरि आगो बालेर काम गरेको स्मरण गर्नुभयो । अध्यक्ष साउदले भन्नुभयो, “शिवनाथमा बिजुली बाल्न प्राधिकरणले डेढ वर्षअघि नै ठेक्का सम्झौता गरेको थियो । एक वर्षमा काम सक्ने लक्ष थियो । तर, डेढ वर्षसम्म पनि काम सम्पन्न हुन सकेको थिएन ।”

उहाँले थप्नुभयो, “शिवनाथवासी भारतीय बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य थिए । वितरण केन्द्रमा नयाँ हाकिम जनार्दन पौडेल आएपछि ठेकेदार पनि जागरुक बने । कर्मचारीलाई स्थलगत रुपमै खटाएपछि रातभरि आगो बालेर काम गर्दा शिवनाथमा बिजुली बल्यो । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।” आइतबार मेलौली नगरपालिकादेखि शिवनाथ गाउँपालिकासम्म ११ केभीए राष्ट्रिय प्रशारण लाइन बिस्तार भएपछि शिवनाथ गाउँपालिकामा थ्रिफेज लाइन पुगेको छ । गाउँपालिकामा बिजुली आउँदा आइतबारदेखि कार्यालयको कामकाज गर्न सहज भएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो ।

बिजुली पुगेपछि गाउँपालिमा कुटानी पिसानी गर्ने सःमिल लगायत फर्निचर र शिवनाथको जाँतो, खल र सिलौटाका लागि प्रसिद्ध ढुङ्गा काट्न सहज हुने स्थानीयले विश्वास व्यक्त गरेका छन् । बिजुली नहुँदा डिजेलबाट चल्ने सःमिलमा एक किलो मकै पिसेको १५ रुपियाँ तिर्नु पर्ने बाध्यता रहेकामा अब घरमै सानो आँटा चक्की चल्ने आशा जागेको स्थानीय महामलसिंह साउदले बताउनुभयो ।

विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख जनार्दश पौडेलले मेलौली नगरपालिका हुँदै शिवनाथ गाउँपालिकासम्मको ११ केभिए लाइनमा बिस्तार गर्न नेपाल सरकारले एक करोड ४७ लाख रुपियाँ खर्च गरेको बताउनुभयो । एक वर्षभित्र काम सम्पन्न गर्नेगरि २०७९ वैशाखमा सम्झौता भए पनि छ महिना ढिलो भएकाले ठेकेदारलाई पत्र काटेर वितरण केन्द्रका कर्मचारी स्थलगत रुपमा खटेको उहाँले बताउनुभयो ।

वितरण केन्द्र प्रमुख पौडेलले पञ्चेश्वर, शिवनाथ र मेलौलीमा पूर्ण विद्युतिकरण गर्ने जिम्मेवारी पाएका सबै ठेकेदारलाई ताकेता गरेर लक्षअनुसार काम गर्न पत्राचार गरिएको बताउनुभयो । आश्यवक सहयोग गर्न हामी तयार छौं, तर काम नगरि लापरबाही गर्ने ठेकेदारलाई टुलुटुलु हेरेर बस्दैनौं । काम नगरे ठेक्का तोड्ने र कालोसूचीमा राख्छौं भन्नुभयो ।

कर्मचारीको अनुभव

बैतडी सदरमुकामबाट दक्षिण भेगमा पर्ने शिवनाथ गाउँपालिका भारतसँग सीमा जोडिएको सीमान्तकृत गाउँपालिका हो । खान बस्न यहाँ प्रयाप्त होटल छैन । यहाँ बिजुली बाल्न प्राधिकरणका नौ जना कर्मचारी सात दिनसम्म जाडो छल्न आगो बालेर काम गरेको प्राविधिक प्रमुख माधवप्रसाद लेखकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जाडोले काम गर्न निकै कठिन भयो । चिसोले पोल छुन नसकिने अवस्था आएपछि रातदिन आगो बालेर हात तताउँदै पोल चढेर तार तान्ने काम ग¥यौं ।” वितरण केन्द्र बैतडीका प्राविधिक प्रमुख माधवप्रसाद लेखकले प्रकाश बिष्ट, दिनेश ऐरी, टिका बिष्ट, केशव बिष्ट, दिपक बिष्ट, अजय चौधरी र पूर्ण भाटको टोली लगेर सात दिन जङ्गल र खोलामा काम गरेको अनुभव जीवनभरि अविस्मरणीय रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “रातदिन भोक प्यास नभनी काम सकेर लाइन परीक्षण ग¥यौं । सबै ठिक थियो । आराम गर्न भनेर हामी मेलौली बजार पुग्दा पोलमा आगो लागेको खबर आयो ।” उहाँले थप्नुभयो, “भोलि पल्ट विद्युत् उदघाटनको काम भएकाले हामीले रातभरि बिजुली मर्मतको काम सकेर फर्कियौं । शिवनाथमा बिजुली बलेपछि खुसी लागेको छ ।”

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...