खाजा खर्चमा विभेद गरेको कर्मचारीको गुनासो

Published on

काठमाडौं । नवलपरासीको सुनवल नगरपालिकाले उपलब्ध गराउँदै आएको खाजाबापतको रकममा विभेद गरेको कर्मचारीले गुनासो गरेका छन्। नगरपालिकाले ‘आन्तरिक कार्यसञ्चालन मापदण्ड–२०८०’ लागू गरेर नगरको आन्तरिक स्रोतबाट तलब पाउँदै आएका कर्मचारीहरूलाई दैनिक ३ सय रुपैयाँ खाजाबापतको रकम उपलब्ध गराउँदै आएको छ। हाजिरी भएको दिनका आधारमा खाजाबापतको रकम उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ। संघ र प्रदेशको सशर्त रकमबाट तलब पाउँदै आएकाबाहेक आन्तरिक कोषबाट तलब पाउँदै आएका कर्मचारीलाई मात्र खाजाबापतको रकम उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ।

तर, आन्तरिक स्रोतबाटै तलब पाउँदै आएका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरूले समेत उक्त रकम नपाएको गुनासो गरेका छन्। स्वास्थ्य शाखामा ५५ जना कार्यरत छन्। जसमा ३२ जना आन्तरिक स्रोतबाट तलब पाउने छन्। नगरपालिकाको स्रोतबाट तलब पाउँदै आएकी अनमी मनिषा ढकालले आफूहरूले उक्त रकम नपाएको बताइन्। ‘आन्तरिक स्रोतबाट तलब पाउनेलाई खाजाबापतको रकम दिइएको भनिएको छ। तर, स्वास्थ्यकर्मीसहितका हामी ३२ जना कर्मचारीले पाएका छैनौं’, उनले भनिन्। खाजामा विभेद गरेको भन्दै स्वास्थ्य शाखाका कर्मचारीहरूले नगरपालिका हुने कार्यक्रममा सहभागी हुन छाडेका छन्। नगरपालिकामा काम गर्ने सबै कर्मचारी एउटै भएकाले संघ र प्रदेशको नाममा भेदभाव गरिनु गलत भएकाले समान व्यवहार गर्न कर्मचारीहरूले माग गरेका छन्।

स्वास्थ्य शाखाका कर्मचारीबाहेक ९३ जनाले खाजाबापतको रकम पाउँदै आएको नगरपालिकाले जनाएको छ। उनीहरूका लागि मासिक ६ लाखको हाराहारीमा खाजाबापतको रकम खर्च गरिँदै आइएको छ। अहिलेसम्म ५ महिनाको खाजाबापतको रकम वितरण गरिएको छ। जसमा २७ लाख ८९ हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख विमला अर्यालले सबै कर्मचारीलाई खाजाबापतको रकम उपलब्ध गराउन नसकिएको बताइन्। संघ र प्रदेश सशर्त रकमबाट तलब पाउँदै आएका कर्मचारीबाहेक नगरको कोषबाट तलब पाउँदै आएका कर्मचारीलाई मात्र खाजाबापतको रकम उपलब्ध गराउने निर्णय भएकाले सोहीअनुसार उपलब्ध गराइएको उनले बताइन्। ‘खाजा रकमले नगरपालिकाको दायित्व बढाएको छ। उक्त रकम कटौती नै गर्ने की नपाएका कर्मचारीलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्छौ।’ नगर प्रमुख अर्यालले भनिन्। खाजा रकमबारे कर्मचारीमा असन्तुष्टी देखिएकाले त्यसलाई छलफलबाट टुंगाउने प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए। ‘विभेद नै त नभनौ, केही सुधार गर्नुपर्ने देखिएको छ। त्यसलाई कार्यपालिकामा एजेण्डा लगेर छलफलबाट समाधानको प्रयास गर्छौं’, गिरीले भने।

नगरपालिकाले यसवर्ष साढे १६ करोड आन्तरिक स्रोतबाट रकम संकलन गर्ने लक्ष्य लिएको छ। गतवर्ष १४ करोड संकलन गर्ने लक्ष्य लिएकोमा १२ करोडको हाराहारीमा आन्तरिक स्रोतबाट रकम संकलन भएको नगरपालिकाले जनाएको छ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...