छोराछोरीको हत्यापछि आमाले चार तलाबाट हाम्फालेपछि…

Published on

काठमाडौँ । ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गएराति मृत्यु भयो । उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको प्रकृति हेर्दा उनले नै छोराछोरीको हत्या गरी त्यसपछि घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जानकारी दिनुभयो । शव परीक्षणको रिपोर्टपछि मृत्युको यकीन कारण भन्न सकिने उहाँको भनाइ छ ।

उहाँले घटनाका कारणबारे सबै कोणबाट अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । उक्त घटना शनिबार अपराह्न २ बजेतिरको हो । महर्जनले घरको चार तलाबाट हाम्फालेकी थिइन् । छिमेकीहरुले देखेपछि तत्काल प्रहरीलाई खबर गरी उपचारका लागि अस्पताल लगियो । घरभित्र जाँदा दुई बालबालिका अचेत भेटिएपछि उनीहरुलाई पनि अस्पताल लगिएको थियो । छ वर्षीय बालक र दुई वर्षीया बालिका (महर्जनका छोराछोरी) लाई शनिबार साँझ ५ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । राति ९ः३५ बजे आमाको पनि मृत्यु भयो ।

अहिले शव परीक्षणका लागि शिक्षण अस्पतललमा पठाइएको छ । अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतका अनुसार तकियाले बालबालिकाको मुख थुनेर हत्या गरी आमाले पनि आत्महत्या गरेको देखिएको छ । फरेन्सिक ल्याबका चिकित्सकले पनि बच्चाको सास रोकिएर नै ज्यान गएको बताएको ती अनुसन्धान अधिकृतले बताए । उहाँको भनाइ छ, “तर रिपोर्ट नआई हामीले कारण यो नै हो भन्न सक्दैनौँ ।” हाम्फाल्ने क्रममा सासू पनि छतमै थिइन्।

घटना हुँदा महर्जनकी सासू छतको अर्को कुनामा थिइन् । उनी अली बिरामी भएकाले धेरै हिँडडुल गर्न सक्दिनथिन् । रविना छतको बार चढ्न लाग्दा सासूले किन त्यहाँ गएको भनेर सोधेकी र उनले कपडा झरेकाले लिन लागेको जवाफ दिएकी थिइन् । “जान हुँदैन भन्दाभन्दै बार चढेर गएकी थिइन्, हाम्फाल्न पो रहेछ”, सासूलाई उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले बताए । उनले यसअघि कोठामा ढोका बन्द रहेको र ढकढक गर्दा समेत नखोलेको प्रतिक्रिया दिएको बताइएको छ ।

उनका श्रीमानको साउन्ड सिष्टमको व्यवसाय छ । शनिबार महालक्ष्मी नगरपालिकाको कामको तयारीका लागि उनी घरबाट गएका थिए । रविनाले हाम्फाल्नुअघि उनीसँग थोरै कुराकानी भएको थियो । २ बजेतिर फोन गरेर रविनाले कता हुनुहुन्छ भनेर श्रीमानलाई सोधेकी थिइन् । श्रीमानले ३ बजे काम सकिन्छ र घर आउँछु भन्ने जवाफ दिएर फोन राखेको प्रहरीसँग बताएका छन् । त्यसपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

पारिवारिक बेमेल केही देखिएको छैन । कहिलेकाहीँ सामान्य झैझगडा भए पनि ठूलो रिसराग नदेखिएको प्रहरीले बताएको छ । धेरै नबोल्ने महिला भएकाले कुनै कुण्ठा पो थियो कि भनेर त्यसतर्फ पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनाको अनुसन्धान थालेको छ । रासस

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...