करोड बढी रकम अपचलन गर्ने प्रभु बैङ्कका कर्मचारी विरुद्ध मुद्दा दर्ता

Published on

काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले एक करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ । बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीरजविक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शाहविरुद्ध प्रभु बैङ्कको कर्णाली प्रदेश कार्यालयले बैङ्किङ कसुर शीर्षकमा मुद्दा दिएको बताउनुभयो । उहाँका अनुसार अपरेसन इन्चार्ज शाहले बैङ्कका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्ने, जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने गरेको आरोप लागेको छ । शाहले पदको दुरुपयोग गरेर करोडौँ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन सुरु गरेको थियो । झुट्टा विवरण र खातावालाको जानकारी बिनै बैङ्कमा जम्मा गरेको रकम अपचलन गरेको पाइएपछि उक्त रहस्य खुलेको हो । बैङ्कको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारी विरुद्ध मुद्दा दर्ता गरेको हो ।

प्रारम्भिक छानबिनको क्रममा इन्चार्ज शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको देखिएको बताइएको छ । प्रहरी नायब उपरीक्षक भट्टराईले अब तत्कालै आवश्यक छानबिन सुरु गरिने बताउनुभयो । बैङ्कको आन्तरिक सिस्टम लगायतको गहिरो अध्ययन गर्नुपर्ने भएकोले अनुसन्धानपछि नै थप कुरा खुल्ने उहाँको भनाइ छ ।

आरोपी फरार, अरू कर्मचारीलाई कारबाही

रकम अपचलन गरेको आरोप लागेका कर्मचारी शाह भने फरार रहेको बताइएको छ । प्रभु बैङ्कको आठविसकोट शाखाका प्रबन्धक डम्बर गौतमका अनुसार बिरामी छु भनेर बिदा स्वीकृत नगरेरै शाह फरार भएका छन् । माघ २० गतेदेखि शाह कार्यालयमा नआएको उहाँले बताउनुभयो । गौतमले भन्नुभयो, ‘म आफैँ बिदामा थिए, उहाँले १२ दिनको बिदाको निवेदन दिएर हिँड्नुभएछ, अहिले सम्पर्कमा हुनुहुन्न ।’ बैङ्कको आन्तरिक छानबिन टोलीले शाखामा कार्यरत सबै कर्मचारीलाई कारबाहीको प्रक्रियामा लिएको बुझिएको छ । उक्त शाखामा कार्यरत प्रबन्धकसहितका नौ जना कर्मचारीलाई जिम्मेवारविहीन बनाएर नयाँ कर्मचारीको टोलीले शाखाको दैनिक काम गरिरहेको छ ।

ग्राहकप्रति घात भएको गुनासो

विश्वासको आधारमा बैङ्कमा रकम जम्मा गरेका सेवाग्राहीहरूले भने बैङ्ककै कर्मचारीबाट ठुलो घात भएको बताएका छन् । आठबिसकोट नगरपालिका –१२ का डण्डे कुसारीले बैङ्कमै गएर दिएको १७ लाख रुपियाँ शाहले गायब पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आईपिएसमार्फत पठाउने भनी १७ लाख दिएँ, उहाँले फाराम भरेर बैङ्कको छाप र हस्ताक्षर गरेर कागज पनि दिनुभयो । तर अहिलेसम्म हाम्रो खातामा पैसा गएको छैन ।’ आठबिसकोट नगरपालिका –११ की मनकला पुनले चेक सकिएपछि निकाल्न गएको बेला इन्चार्ज शाहले म ल्याइदिउँला भनेर चेक छोडेको तर उहाँले जानकारी नदिई आफ्नो चेकबाट रकम निकाल्ने गरेको बताउनुभयो । उहाँले छ लाख रुपियाँ शाहले निकालेर हिनामिना पारिएको सुनाउनुभयो । विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनी पैसा दिएका नजिकका आफन्तहरू पनि अहिले बैङ्कको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्ने गरेका छन् ।खातामा जम्मा गर्न आएकाहरूको ठुलो रकम अहिले बैङ्कको सिस्टमले काम नगरेको, भिडभाड भएकोलगायतका बहाना बनाउँदै पछि गर्दिन्छु भनेर फर्काउने तर आफूले प्रयोग गर्ने गरेको बताइएको छ । यी बाहेक दर्जनौँ बचतकर्ता र सरकारी निकायको रकम दुरुपयोग भएको हुनसक्ने बत्ताइन्छ ।

spot_img

ताजा समाचार

साफ फुटसल : माल्दिभ्ससँग हारेपछि नेपाल बाहिरियो

काठमाडौं । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपबाट बाहिरिएको छ । नोन्थाबुरी स्टेडियमको फुटसल...

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

काठमाडौं । चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको...

कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो

काठमाडौं । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको...

अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा...