आगामी बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको शनिबार शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवम् बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाउनुभएको हो । आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले तराईमा सिँचाइ, मलबिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढवा दिने कार्यमा लग्ने बताउनुभयो । नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठुला आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउनुहुँदै उहाँले बुढीगण्डकी एवम् कर्णाली चिसापानीजस्ता गेम चेन्जर आयोजनालाई अगाडि बढाइने उल्लेख गर्नुभयो । “मधेशको विकासबिना देशको विकास सम्भव छैन, मधेशको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मधेशी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।” मधेश, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले मधेशी जनताको मत लिएर सङ्घीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकोमा गर्व छ भन्नुभयो । उहाँले भन्नुभयो, “मधेश, पहाड र हिमालको एकतालाई सुदृढ गर्नका लागि सबैको पहिचान र अधिकारका लागि लडेको नाताले एक एकता कायम गर्न मेरो जिम्मेवारी छ ।”

४० वर्ष अगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उहाँले सबैला, वस्तीपुरलगायतका क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गर्नुभयो । सिरहा र धनुषाका लागि पुल निर्माण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताउनुभयो । उहाँले पुल निर्माणमा बजेट व्यवस्था गर्न आफूले ध्यान दिने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले निर्धारित दुई वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० र ७ दशमलव पाँच मिटर चौडाई रहेकोे छ । यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...