सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग

Published on

काठमाडौं । भारतीय सीमासुरक्षा बल (एसएसबी)का कारण सीमा क्षेत्रका नेपालीलाई सास्ती भएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् । जिल्ला सुरक्षा समितिले सुनसरीमा सुरु गरेकोे ‘सीमा पैदल यात्रा तथा अन्तरक्रिया’ कार्यक्रममा भारतीयले बिनाकारण दुःख दिँदा सास्ती हुने गरेको भन्दै केन्द्रीयस्तरबाटै सुरक्षाको पहल गर्न स्थानीयले माग गरेका हुन् ।

एसएसबीले नाकामा नेपालीलाई पटक पटक कुटपिट गर्ने र लुट्ने गरेको भन्दै सीमाक्षेत्रमा प्रभावकारी सुरक्षाको व्यवस्था गरिनुपर्ने हरिनगरका स्थानीय इसराइल मन्सुरीले बताउनुभयो । दुई देशको सीमा नाका खुला भएकाले नेपाली रोजगार र किनमेलका लागि नाका जाने गरेका उहाँको भनाइ थियो । नाकामा भारतीय सुरक्षा बलले नेपालीलाई कुटपिट गर्ने गरेकाले सुरक्षाको माग गरिएको कासिम मियाँले बताउनुभयो । केही दिनअघि पनि एसएसबीले नेपाल प्रवेश गरेर परिवारका सदस्यमाथि कुटपिट गरेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न नपाउने प्रावधान भए पनि नेपाल–भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाधरुपमा घरटहरा बनाउने गरेको हरिनगरका अताउल अन्सारीले बताउनुभयो ।

एसएसबीको गरेको व्यवहारका कारण घरै छोड्नुपर्ने अवस्था सिर्जना हुन थालेको स्थानीय महम्मद सहवाज आलमले बताउनुभयो । सीमाक्षेत्रमा विगतदेखि नै आवागमनमा कुनै रोक नभए पनि पछिल्लो समय भारतीय पक्षबाट कृषि कार्यमासमेत अवरोध हुने गरेको उहाँले बताउनुभयो । सीमा समस्या र विवाद नसुल्झिँदा स्थानीय नेपालीले भौतिक र मानसिक तनाव खेप्नुपरेको स्वीकार्दै यसका लागि माथिल्लो निकायबाट पहल हुनुपर्ने सशस्त्र प्रहरी बल कोसी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले बताउनुभयो ।

सशस्त्र प्रहरीले सीमित स्रोत र साधनका बाबजुद सुरक्षा प्रदान गरिरहेकाले यसमा स्थानीयले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । दुई देशका सुरक्षा अधिकारीबीच हुने नियमित बैठकमा स्थानीयको समस्या राखेर समाधान निकाल्ने पोखरेलले आश्वासन दिनुभयो । पाँच दिनसम्म सञ्चालन हुने सीमा पैदलयात्रा तथा अन्तरक्रियामा प्राप्त सुझावलाई कार्यान्वयनका लागि पहल गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी तस्करी र आपराधिक गतिविधि रोक्न यो कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ । साथै सुनसरी प्रशासनले सीमाक्षेत्रको नियमित अनुगमन, समन्वायत्मक छलफल र प्रचारप्रसारलगायत कार्यक्रमलाई तीव्रता दिएको आचार्यले बताउनुभयो । रासस

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...