तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा

Published on

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) र वार्षिक परीक्षा नजिकिँदै गर्दा हरिपूर्वा नगरपालिकाका विद्यालय भने १६ दिनदेखि बन्द छ । नगरपालिकाभित्रका सम्पूर्ण १६ वटा सामुदायिक विद्यालय बन्द गरी शिक्षकहरु धर्नामा बसेका छन् ।

साउनदेखिको तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा बसेपछि करिव पाँच हजार विद्यार्थी मारमा परेका हुन् । यो वर्ष वडा नं। ५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय हरिपूर्वाबाट २३९ र वडा नं। ९ स्थित रामजानकी माध्यमिक विद्यालय वसन्तपुरबाट १३८ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । यी सबै विद्यार्थीले अहिले घरमै बसेर आफ्नै हिसाबले एसइईको तयारी गरिरहेका छन् । हरिपूर्वा नगरपालिकाको शिक्षा शाखाका प्रमुख जनक काफ्लेले शिक्षकहरुले तलब प्राप्त नहुन्जेल धर्ना जारी राख्ने भएकाले विद्यालय खुल्न नसकेको बताउनुभयो । “साउनदेखि नै तलब नपाउनुभएका शिक्षकहरु तलब नपाउञ्जेल विद्यालय खोल्न तयार हुनुहुन्न, उहाँहरुलाई पनि आठ महिनासम्म तलब नपाउँदा समस्या नै छ,” शिक्षा अधिकृत काफ्लेले भन्नुभयो, “यसले गर्दा परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई ठुलो मार परेको छ ।”

हरिपूर्वामा तलब माग्दै कर्मचारी र स्वास्थ्यकर्मी माघ २८ गतेदेखि नै कार्यालय बन्द गरेर धर्नामा बसिरहेका छन् । केश्वर गरिब जनता माध्यमिक विद्यालयका केमेष्ट्री शिक्षक रन्जितकुमार यादवले तलब निकासा नहुञ्जेल अनिश्चितकालिन धर्ना नरोकिने बताउनुभयो । हरिपूर्वा नगरपालिकाले फागुन ७ गते तनावकाबिच नगरसभा गरेर बहुमतका आधारमा बजेट ल्याएपनि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा खाता सञ्चालन हुन नसक्दा तलब, भत्ता निकासा हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) शम्भुप्रसाद यादवको नगरसभा सम्पन्न हुनुपूर्व नै सरुवा भइसकेको र कोलेनिकामा अझै खाता खुल्न नसकेकाले शिक्षक, कर्मचारीको तलब तथा वृद्धवृद्धा र अन्यको सामाजिक सुरक्षा भत्ता निकासाबारे अन्यौलता कायमै छ ।

रामजानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोषकुमार ठाकुरले कोलेनिकामा नगरपालिकाको खाता खुल्ने र त्यसपछि तलब भत्ता निकासा हुने भनी धेरै दिनदेखि सुन्दै आएपनि कुनै निष्कर्ष नआउँदा अन्यौल भइ धर्नामा बसिरहेको बताउनुभयो । “खाता खुल्ने प्रक्रियामा रहेको भन्ने सुनेको धेरै दिन भइसक्यो तर अझै खाता सञ्चालन नहुँदा हामीले धर्ना जारी राखेका हौँ,” प्रधानाध्यापक ठाकुरले भन्नुभयो । आन्दोलित शिक्षकले आठ(आठ महिनासम्म तलब नपाउँदा आफ्नो घर, व्यवहार नै चलाउन धउधउ परेपछि बाध्य भई विद्यार्थीलाई पढाईबाट वञ्चित गरेर धर्नामा बस्नुपरेको तर्क गर्दै आएका छन् । हरिपूर्वाका नगरप्रमुख विनोदकुमार साह तेलीले शिक्षक, कर्मचारीलाई झुठा आश्वासन दिएर काममा फर्काउन आफूलाई अप्ठेरो परेको गुनासो गर्नुभएको छ ।

नगरप्रमुख साहले जतिसक्दो चाँडो तलब खुवाउनेतर्फ नै पहल गरिरहेको जानकारी दिनुभयो । कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका निमित्त प्रमुख पुरुषोत्तम बरालले हरिपूर्वाबाट अहिलेसम्म नगरसभा सम्पन्न भएको कागजात पेश नभएको बताउनुभयो । उहाँले आफूलाई केही दिनअघिबाट आर्थिक अधिकार समेत प्राप्त भएको बताउँदै हरिपूर्वाको हकमा नगरपालिकाले गर्नुपर्ने आन्तरिक काम सकेर कागजात पेश गरेपछि कागजात हेरेर खाता सञ्चालनको काम अघि बढ्ने बताउनुभएको छ ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...