सम्झौता सकियो, निर्माण अधुरै

Published on

काठमाडौं । वीरेन्द्रनगरमा निर्माणाधीन दुई वटा सरकारी भवन अधुरै छन् । सम्झौता अवधि सकिए पनि भवन निर्माण कार्य सकिएको छैन ।

प्रदेश आयुर्वेद औषधालयको भवन निर्माण अवधि २०८० चैत २१ गते सकियो । पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माणको काम अधुरै छ । निर्माणकार्य २०७८ असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । सङ्घीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो । निर्माणकार्य सुरु गरिएको साढे दुई वर्षमा ३० प्रतिशत मात्र भौतिक प्रगति हासिल भएको छ । सम्झौता अनुसार २०८० चैत २१ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म भवनको पहिलो तलाको ढलानसमेत भएको छैन । १५ शैय्याबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको थियो । सम्झौता भएको साढे दुई वर्ष बितिसक्दा एक तला पनि ढलान हुन नसकेको आयुर्वेद औषधालयका प्रमुख डा। शंकरप्रसाद रिजालले बताउनुभयो ।

निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणकार्य समयमा हुन नसकेको उहाँको भनाइ छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको डा। रिजाल बताउनुहुन्छ । भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको भन्दै उहाँले म्याद थपिरहने तर काम नगर्ने ठेकेदारलाई कालोसूचिमा राख्नुपर्ने जनाउनुभयो । लामो समयसम्म पनि भवन निर्माणले पूर्णता नपाउँदा सेवा प्रवाहमा समस्या परेको रिजालको भनाइ छ । सेवा विस्तार भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा समस्या हुनेगरेको छ । यस्तै, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणकार्य पनि अधुरै छ । सझौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपरस्ट्रार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि पटक–पटक म्याद भइरहेको छ । पछिल्लो पटक २०८० असोजमा म्याद सकिएको हो । अहिलेसम्म पुनः म्याद थप गरिएको छैन ।

भवनको सम्झौता अवधि सकिएको भए पनि भवन निर्माण अधुरै रहेको कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा। शक्तिप्रसाद सुवेदीले बताउनुभयो । भवन निर्माणमा ढिलाइ हुँदा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भाडाको घरबाट सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । मासिक ४० हजार तिरेर भाडाको घरबाट आपूर्ति केन्द्र सञ्चालन भइरहेको छ । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधि नेपालगञ्जमा स्ट्रोर गर्ने गरिएको छ । भाडाको घर भएकाले आवश्यक उपकरण र औषधि भण्डारण गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीको ढिलाइले गर्दा भवन निर्माण कार्य अधुरै रहेको छ । औषधी भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधि मात्र केन्द्रमा ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो ।

म्याद थपको तयारी

एउटै निर्माण कम्पनीले दुई सरकारी भवन अलपत्र अवस्थामा पु र्‍याएको छ । जिम्मेवार निकाय र ठेकेदारको लापरबाहीले भवन निर्माण कार्य अधुरै बनेको हो । दुई वटै सरकारी भवन निर्माणका लागि म्याद थप गर्न सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतमा निवेदन पेश गरिएको छ । यता कार्यालयले भने कार्य प्रगतिको आधारमा मात्र म्याद थप गरिने जनाएको छ । कार्यालय प्रमुख रामकृष्ण आचार्यले दुई वटै भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी एउटै भएको बताउनुभयो । उहाँले कार्यालयमा म्याद थपका लागि निवेदन पेस गरिएको भन्दै अन्तिम पटक म्याद थप गर्न सकिने जानकारी दिनुभयो । सार्वजनिक खरिद ऐन २०६३ को १३औँ संशोधनको प्रावधानले म्याद थपको बाटो खुल्ला गरेको भन्दै उहाँले अन्तिम पटक म्याद थपिने बताउनुभयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...