काठमाडौँ । रोजगारीका लागी साउदी अरब पुगेर फर्केका भगवतीमाई गाउँपालिका–४, मन्घरका सुनील बिसीले विदेश बस्दाको अपमानभन्दा स्वदेशमै बसेर पसिना बगाउने प्रण गर्नुभएको छ । दुई वर्ष विदेशमा बसेर फर्केका बिसीले भन्नुभयो, “विदेश बस्दा जस्तो खालको मैले अपमान सहेँ, त्यो सम्झन पनि मन छैन । अब जे जति पसिना बगाउँछु, आफ्नै गाउँमा बगाउँछु भनेर कृषि पेसामा लागेको छु ।” दुई रोपनीबाट सुरु गरेको तरकारी खेती अहिले ३० रोपनीमा फैलिएको छ । त्यसमा आलु, काउली, बन्दा र अन्य तरकारी खेती गरिरहेका उहाँले अझै जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गर्ने योजना बनाइरहनुभएको छ । विदेशको अपमानले स्वदेशमै फर्किएर तरकारी खेती गर्नुभएका भएका बिसीको वार्षिक आम्दानी सातदेखि १० लाख रुपियाँसम्म हुने गरेको छ ।
गाउँका अधिकांश युवा खाडी मुलुकमा रहेका बेला स्वदेशमै कृषिलाई मूल पेसा बनाएका बिसीले भन्नुभयो, “हाम्रै घरबारीमा पैसा छ, त्यो भेउ नपाएर होला, हामी सबै पैसा खोज्न देशबाहिर जाने गरेका छौँ । अब यो बानी सपार्नु पर्छ ।” डुङ्गेश्वर गाउँपालिका–६ का देवेन्द्र गोदार रोजगारीका लागि भारतको गुजरातबाट फर्केपछि अहिले व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । लामो समय होटेलमा काम गर्नुभएका उहाँ स्वदेशमा आफू मात्र होइन, अरूलाई पनि रोजगारी दिनु पर्छ भन्ने उद्देश्यले कृषि पेसामा लागेको बताउनुहुन्छ । कृषि पेसा अँगालेपछि उहाँले पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ । उहाँ मात्र होइन, रोजगारीका लागि साउदी अरब पुगेका दुल्लु नगरपालिका–१३ का गणेशबहादुर शाहीसमेत स्वदेश फर्केर व्यावसायिक बिउ उत्पादनमा लाग्नुभएको छ ।
तरकारी बालीको बिउ उत्पादन गरी वार्षिक सात लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घरपरिवारसँगै बसेर लाखौँ रकम कमाउन सकिने रहेछ, व्यर्थैमा ऋण काढेर साउदी पुगेँ, खासै उपलब्धि हुन सकेन ।” माथिका केही प्रतिनिधि पात्र हुन्, जसले विदेश त्यागेर कृषि रोजे र गाउँमा उदाहरण पनि बनेका छन् । पछिल्लो समय विदेशबाट फर्केर कृषि व्यवसायमा लाग्नेको सङ्ख्या जिल्लामा बढ्दो क्रममा रहेको छ । विदेशबाट फर्किएर कृषि व्यवसाय गरेका कृषकलाई अनुदान, सहुलियत ऋण र प्राविधिक सहयोग उपलब्ध हुने भएपछि कृषि व्यवसायप्रति युवाको आकर्षण बढ्दो क्रममा रहेको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झलक भण्डारीले विदेशबाट फर्केर स्वदेशमै व्यावसायिक कृषि गरेका युवाकोे प्रगति लोभलाग्दो भएको बताउनुभयो । उहाँले कृषि विकास कार्यालयले समेत विदेशबाट फर्किएका युवालाई व्यावसायिक कृषिमा लगाइराख्न अनुदान दिएर प्रोत्साहन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयबाट सञ्चालन हुने जैविक तरकारी खेती, नमुना फार्म र हाइटेक टनेल खेतीलगायतका कार्यक्रम सञ्चालन गरिएका छन् ।”
व्यावसायिक तरकारी खेती गरिरहेका युवालाई भने सिँचाइ अभावले सताउन थालेको छ । भगवतीमाई गाउँपालिका–४ का सुनील बिसीले भन्नुभयो, “पहाडी भेगमा सिँचाइको राम्रो अवस्था छैन । काम गर्ने जोसजाँगर छ, पानीको अभावले सोचे जस्तो प्रतिफल लिन सकेको छैन ।”
बजार सहज हुँदै
व्यावसायिक कृषिबाट उत्पादन भएको तरकारीको बिक्रीवितरण गर्न किसानलाई समस्या छैन । जताततै बाटोघाटो पुगेको छ । बिसीले भन्नुभयो, “हाम्रो उत्पादन सुर्खेत, नेपालगन्ज, जाजरकोट, दैलेख सदरमुकाममा सहजै पुग्ने गरेको छ । बजारको चिन्ता छैन ।” उहाँले भन्नुभयो, “मध्यपहाडी राजमार्ग आफ्नै कृषि फार्मनजिकै भएर जाने भएका कारण पनि तरकारी सहजै बिक्री हुने गरेको छ । यद्यपि भारतको रुपैडियाबाट आउने तरकारीका कारण यहाँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको किसानको गुनासो छ । त्यसैले किसानले सस्तोमा तरकारी बेच्नुपर्ने बाध्यता पनि रहेको छ ।
दुल्लु नगरपालिका–१३ का गणेश शाहीले आफूले उत्पादन गरेको तरकारी, बिउ सहजै बजारसम्म लैजाने गरेको बताउनुभयो । उहाँका अनुसार कर्णाली राजमार्गले गर्दा कालीकोट, सुर्खेत, नेपालगन्ज, दाङ, चितवनमा समेत बिउ बिक्री हुने गरेको छ । बिउ उत्पादन हुनेबित्तिकै एग्रोभेट सञ्चालकले सिधै सामान मगाउने गरेको उहाँले बताउनुभयो । गोरखापत्र