काठमाडौं । जिल्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाउने गरिन्छ । दुई दिनसम्म मनाइने यो पर्वमा बाँडपाल लगायतका देबताको माडुमा (मन्दिर)मा धामी नाचेर गर्छन् । यो पर्वको आज (सोमबार) अन्तिम दिन हो ।
हुम्ला जिल्लाका अधिकांश स्थानमा साउने पूर्णिमाका दिन माडुहरुमा धामी नाचेर मनाउने गरिन्छ । सिमकोट गाउँपालिका–६ निवासी धर्मराज रोकायाले धामी झाँक्रीहरुले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्ने गरेको भए पनि चर्तुदशीबाट भने नाचेर यो पर्व सुरु गर्छ । सिमकोट गाउँपालिका– ५ को बाँडपालकोे माडुमा धामीहरुले नाचेर धुमधामसँग साउने पूर्णिमा मनाउने गर्छन् । यसअघि धुपीरुखमा बाँडपालका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामीहरु भेट हुने बित्तिक्कै दुध छर्किन्छन् । कालाशिल्ता, मष्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानी लगायतका धामीहरु पालैपालो नाचेर मनाउने कार्य निक्कै रमणीय हुन्छ । घरबाट टाढा गएका मानिसहरु पूर्णिमामा आउने भएका कारण यो पूर्णिमा भेटघाट हुने पर्वका रुपमा पनि मानिन्छ ।
स्थानीयहरु नयाँ कपडामा सजिएर माडुमा रमाइलो हेर्न जाने गरिन्छ । पहिले पहिले यो पर्वको अवसरमा वर्षमा एक दिन नयाँ कपडा फर्ने दिनका रुपमा पनि लिइन्थ्यो । गोरखापत्र