‘स्मार्ट’ बनेन ‘स्मार्ट लाइसेन्स’

Published on

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को समस्या झन्डै एक दशकदेखि जारी छ । सेवाग्राहीलाई तत्काल र सहज सेवा दिने भनेर विसं २०७२ देखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट नयाँ प्रविधिको लाइसेन्स दिन थाले पनि त्यसै बेलादेखि यो समस्या जटिल बनेको हो । स्मार्ट लाइसेन्सका लागि सबै प्रक्रिया पूरा गरेर राजस्वसमेत तिरेर लाइसेन्स पाउने पालो कुरेका सेवाग्राही १६ लाख छन् । सावरीचालक अनुमतिपत्रका लागि लिइने लिखित, प्राविधिक जाँच र प्रयोगात्मक परीक्षा पास गरेर लाइसेन्सको कार्ड पाउन तीन वर्षसम्म कुर्नु परेको छ ।

छाप्न बाँकी १६ लाखप्रति लाइसेन्स धारक अर्थात् १६ लाख जना सरकारलाई तिरेको राजस्वको रसिद नै लाइसेन्सका रूपमा ट्राफिक प्रहरीलाई देखाएर देखाएर सवारी चलाइरहेका छन् । जुन लाइसेन्स होइन, सरकारी कागजात हो तर सवारी चालकका लागि अनुमति दिने वैध कागजात होइन । १६ लाख जनाको सामान्यतया दुईपाङ्ग्रे लाइसेन्सको मात्रै राजस्व प्रतिव्यक्ति दुई हजार रुपियाँका दरले हिसाब गर्दा पनि तीन अर्ब २० करोड रुपियाँ राजस्व छाप्न बाँकी लाइसेन्सको उठिसकेको छ । चारपाङ्ग्रे र अरू ठुला सवारीको हिसाब गर्ने हो भने यो बढ्छ नै । सरकारले हालसम्म ४० लाख प्रति स्मार्ट लाइसेन्स प्रिन्ट गरिसकेको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिनुभयो ।

प्रदेशमा सार्ने तयारी

लाइसेन्सको समस्या समाधान गर्न अहिले प्रदेशहरूबाट पनि वितरण गर्न दिने पहल सुरु भएको छ । प्रदेश सरकारहरूले प्रदेशबाटै क्युआर कोडसहित लाइसेन्स छपाइ गर्ने भनिए पनि त्यसका लागि बजेट र पूर्वाधार सबै प्रदेशमा छैन । संविधानतः यातायातको नियमन र व्यवस्थापनको अधिकार प्रदेश सरकारको हो तर कुनै पनि प्रदेश सरकारले प्रदेशमै लाइसेन्स छाप्नेलगायत व्यवस्थापनका काम सुरु गरेका छैनन् । गत साउन ३२ गते केन्द्रीय तथ्याङ्क सेन्ट्रल (डाटाबेस) यातायात व्यवस्था विभागमा रहने गरी देशभर एउटै मापदण्ड र स्पेसिफिकेसन अनुसार प्रदेशले लाइसेन्स छपाइका लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा सात प्रदेशका यातायात मन्त्रीसहितको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो ।

यो निर्णय पनि नयाँ होइन । सङ्घीय सरकारले दुई वर्षदेखि नै प्रदेशबाट लाइसेन्स छपाइ गर्ने निर्णय र निर्देशन दिँदै आएको छ तर कार्यान्वयन गर्न प्रदेश सरकारको कुनै सुरसार छैन । लाइसेन्स छाप्ने मेसिन, सफ्टवेयर निर्माण, कार्ड खरिदलगायतका काममा सबै प्रदेश अन्योलग्रस्त छन् । कोशी प्रदेशले बजेट विनियोजन त गरेको छ तर प्रावधिक अन्योलताले काम अघि बढेको छैन । नागरिक एप र राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने र एउटै डिजाइन हुने भएकाले अन्योल रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले जनाएको छ । निमित्त प्रदेश सविच कमलबहादुर थापाले भन्नुभयो, “कार्ड र मेसिनका लागि १० करोड बजेट विनियोजन भएको छ । स्पेसिफिकेसन बनाउँदै छौँ । प्राविधिक काम भएकाले विभाग र केन्द्र सरकारको सहजीकरण आवश्यक छ ।” मधेश प्रदेशले पनि बजेट विनियोजन गरेको छ तर प्रक्रिया अगाडि बढाएको छैन । श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका सूचना अधिकारी सुनील शाहले भन्नुभयो, “स्मार्ट लाइसेन्सका लागि दुई करोड रुपियाँ विनियोजन भएको छ । यो मेसिन र कार्डका लागि हो ।”

बागमती प्रदेश सरकारले मेसिन र कार्डका लागि १३ करोड रुपियाँ छुट्याएको छ तर प्रक्रियाको सवाल भने अन्योल छ । नागरिक एपमा लाइसेन्स समावेश गरेको बागमतीले क्युआर कोडसहितको छाप्ने, राष्ट्रिय परिचयपत्रमा छाप्ने वा यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुराको अन्योल रहेको जनाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीका प्रदेश सचिव बलराम निरौलाले भन्नुभयो, “सातै प्रदेशको डिजाइन र प्राविधिक कुराले अन्योल बनाएको छ । एउटै डिजाइन विभागले दिने भन्ने कुरा हो, त्यो आएको छैन ।”

गण्डकी प्रदेशमा कुनै प्रक्रिया नै अगाडि बढेको छैन । योजना र बजेट पनि छैन । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीका उपसचिव एवं प्रवक्ता प्रदीपकुमार रेग्मीले भन्नुभयो, “प्रदेशबाट लाइसेन्स छाप्ने छलफल त भएको छ तर कुनै प्रक्रिया अगाडि बढेको छैन । परिचयपत्रमै समावेश गर्ने भन्ने कुराले पनि अन्योल भएको छ ।” गण्डकीमा विगत दुई वर्ष आठ महिनादेखिका लाइसेन्स छाप्न बाँकी छ । लुम्बिनीमा प्रदेश सरकारसँग योजना र बजेट नै छैन । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश सचिव उमेश ढुगाङ्नाले भन्नुभयो, “स्मार्ट लाइसेन्स छाप्ने सवालमा लुम्बिनीमा केही तयारी भएको छैन । यो वर्षको बजेटमा पनि राखिएको रहेनछ । मन्त्रालयहरू र विभागबिचको समन्वयको पनि अभाव छ ।” कर्णाली प्रदेशले अघिल्लो वर्षमा एक करोड रुपियाँ विनियोजन गरेको थियो तर खर्च भएन । यस पटक पनि एक करोड रुपियाँ विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेश सचिव विष्णु भण्डारीले पनि प्रविधि, जनशक्ति व्यस्थापन र राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने भन्ने कुराले झन् अन्योल रहेको भन्दै केन्द्र सरकार र विभागले स्पष्ट गर्नुपर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेशले लाइसेन्सको काम गर्न गत वर्ष बजेट छुट्याउँदा पास हुन सकेन । बजेट विनियोजन नभए पनि व्यवस्थापन गर्न सकिने भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सचिव सुरत बमले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र जोड्ने पहल

सवारी चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने पहल पनि सरकारले थालेको छ तर राष्ट्रिय परिचयपत्र पनि आफैँमा लाइसेन्स जस्तै समस्यामा छ । राष्ट्रिय परिचयपत्रको सबै प्रक्रिया पूरा गरेका धेरै सेवाग्राही कार्ड नपाएर हैरान छन् । यस्तो भए पनि राष्ट्रिय परिचयपत्रमा सवारी चालक अनुमतिपत्र समावेश गर्न यातायात व्यवस्था विभाग र राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागले परीक्षण गरी काम अघि बढाएका चाहिँ छन् । अब लाइसेन्ससहितको परिचयपत्र बनाउन सकिने तर लाइसेन्सको चिप्स रिडर मेसिनगन ट्राफिक प्रहरीलाई उपलब्ध भएपछि कार्यान्वयन गरिने यातायात व्यवस्था विभागले जनाएको छ । दुई विभागले एकआपसमा अनलाइन डाटा इन्ट्रिग्रेसन गरिसकेका छन् । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार लाइसेन्सको परीक्षामा पास भएको व्यक्तिको विवरण पञ्जीकरण विभागको अनलाइनमा अपलोड गरिन्छ । परिचयपत्र छापिँदा लाइसेन्सको विवरण पनि छापिएर आउँछ ।

अनलाइनबाट लाइसेन्स चेकजाँच गरिने भएकाले वाहकले लाइसेन्स बोक्नु पर्दैन । राष्ट्रिय परिचयपत्र देखाउने वा परिचयपत्रको नम्बर भनेपछि ट्राफिक प्रहरीले कोड रिडरबाट लाइसेन्स हेर्न सक्छ । त्यसका लागि आवश्यक थप प्रविधि र दक्ष जनशक्ति जुटाउन समस्या छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले पञ्जीकरण विभागले यातायात व्यवस्था विभागको अनलाइन डाटा उनीहरूको सिस्टमबाट तान्ने र आफूहरूले समावेश गरिसकेपछि परिचयपत्रको क्युआर कोडबाट लाइसेन्स पनि रिड गर्ने प्राविधिक पक्ष रहेको बताउनुभयो । उहाँले परीक्षण गरिसकेको र कुनै समस्या नहुने दाबी गर्नुभयो ।

स्मार्टमा पनि नक्कली

यातायात कार्यालयबाटै नक्कली स्मार्ट लाइसेन्स बनाउने काम पनि भएका छन् । कार्यालयका कर्मचारीले नै

नक्कली बनाएर दिन थालेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मुद्दा दायर गरेको थियो । यातायात कार्यालय बुटवलका तत्कालीन प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता छ । सिआइबीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालत काठमाडौँमा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । तीन महिना अगाडि उनीहरूलाई सिआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । उक्त समूहले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडिएल) लागु हुनुभन्दा पहिला जारी भएका पेपरकार्ड लाइसेन्सलाई इडिएलमा रूपान्तरण गर्दा यातायात कार्यालयको ढड्डामा भएको अभिलेखविपरीत फर्जी लाइसेन्स जारी गरेका थिए । नयाँ लाइसेन्स बनाउन आउनेलाई नवीकरण गर्न आएको भन्दै सिस्टममा गलत डेटा इन्ट्री गरेर लाइसेन्स दिएको सिआइबीको अनुसन्धानबाट खुलेको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...