दसैं सकियो, थारु ‘सखिया नाच’ सकिएन

Published on

काठमाडौं । दसैँ सकिए पनि बाँकेका थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रमझम अझै सकिएको छैन । दसैं सुरु हुनुभन्दा पहिले सुरु भएर दसैं सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अझ पनि जिल्लाका अधिकांश थारु गाउँबस्ती रमाउँदैछन् ।

दसैं सकिए पनि सो नाच अझै जारी नै रहेको जनाउँदै बाँके मैटहवाका थारु अगुवा दिपेन्द्र थारुले दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच अझै गाउँबस्तीमा जारी रहेको बताउनुभयो । उहाँले गाउँका सबै साथीसङ्गी मिलेर नाचिने भएकाले यो नाचको नाम सखिया रहेको बताउनुभयो । सखिया नाचले थारु गाउँको एकताको भावना प्रकट हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो नाच सकिएपछि जम्मा भएको पैसा सबै मिलेर नदीबाट ल्याएको माछा र अन्य परिकार तयार पारी खाने प्रचलन रहेको छ ।

यस्तै, बाँके टिटिहिरियाका अगुवा शंकर चौधरीले दसैं सकिए पनि सखिया नाचको रमझमले गाउँबस्तीका युवालाई अझै नछाडेको बताउनुभयो । उहाँले दसैंभन्दा पहिलेबाटै सुरु भएको सो नाच केही ठाउँमा तिहारसम्म पनि जारी रहने बताउनुभयो । सोही प्रकारले राप्तीसोनारी फत्तेपुरका युवा जनक थारुले डिजे र मोबाइलमा झुम्मिने नयाँ पुस्ता पनि यस पटक सखिया नाचतर्फ आकर्षित भएको देख्दा निकै खुशी लागेको बताउनुभयो ।

उहाँले यस पटक अधिकांश युवाहरु सखिया नाचमा सहभागी भएको देख्दा संस्कृति संरक्षण हुने बिश्वास बढेको बताउनुभयो । दसैंको अवसरमा केटाकेटी मिली गरिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् । थारु समुदायका अगुवाहरुका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बज्यो त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार–पाँचजना मादल बजाउने युवा हुन्छन् । १५–२० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् ।

सखिया नाचमा विशेषत युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गरेका हुन्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ । महिलामा एकजना मोरहनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोरहनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् । त्यस्तै, मादल बजाउने अगुवा, पच्छुवा मदरियाले त्रासन् मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा रहेको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...