नाम गौरवका योजना, काम अलपत्र

Published on

काठमाडौं । विकासको कुरा गर्दा सधैँ चर्चामा रहने रुकुमपश्चिमका तीन गौरवका योजना वर्सौंदेखि अलपत्र अवस्थामा छन् । चौरजहारी नगरपालिका–१ मा रहेको चौरजहारी विमानस्थल बन्द अवस्थामा छ भने रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी नदी र मुसीकोटको पितिबाङखोलामाथिको पक्की पुल अलपत्र अवस्थामा छन् ।

भेरी नदीमाथिको पुल मध्यपहाडी राजमार्ग अन्तर्गत पर्छ भने पितिबाङखोलामाथिको पुल राप्ती राजमार्ग अन्तर्गत पर्छ । जिल्लाको विकासका लागि गौरव योजनाका रूपमा रहेका यी योजना वर्सौंदेखि अलपत्र हुँदा स्थानीयवासीले सहज यातायात सेवा लिन पाएका छैनन् । २०२८ सालदेखि सञ्चालनमा आएको चौरजहारी विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी निर्माण गरिएको यो विमानस्थल कालोपत्रे गरिएपछि बन्द भएको हो । बरु कालोपत्रे नहुँदा चल्ने गरेको यो विमानस्थल कालोपत्रे भएपछि बन्द हुँदा यहाँका बासिन्दा अचम्म परेका छन् । २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्ग कालोपत्रे गरिएको थियो । पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा धावनमार्ग कालोपत्रे भएपछि यहाँ जहाज आउनै छोडेका छन् ।

विमानस्थल सञ्चालनमा आउने सुरसार छैन । स्थानीय तेजबहादुर विष्टले करोडौँको सरकारी बजेट खर्चिएको विमानस्थल बन्द हुनु लाजमर्दो भएको उहाँले बताउनुभयो । उहाँले चाडपर्वको बेला कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्दै आउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “न गतिलो सडक बनेको छ, न भएको एयरपोर्टमा जहाज आउँछ । राज्यको ठुलो सम्पति खेर गइरहेको छ, जनताले कष्ट भोगिरहेका छन् ।” चाडबाडको बेला सहरबजार तथा परदेशबाट घर फर्कनेको भिडले गाडीको यात्रा उत्तिकै चुनौतीपूर्ण रहेको छ ।

राजमार्गका पुल अलपत्र

चौरजहारी नगरपालिका–२, अधेरेबाट जाजरकोटको भेरी नगरपालिका–१३, कुदु जोड्ने गरी भेरी नदीमा पुल बनाउन २०६९ सालमै वाइपी कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । तीन वर्षमै निर्माण सम्पन्न गर्ने जिम्मा पाएको उक्त कम्पनीले दुवैतर्फ सामान्य पिल्लर मात्रै खडा गरेर हालसम्म काम अलपत्र पारेको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर अमितकुमार मण्डलका अनुसार उक्त ठेक्का रद्द गरेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्दा पनि ठेक्का लाग्न सकेको छैन । दुई पटक ठेक्का खोल्दा पनि ठेक्का नलागेकाले अब के गर्ने भन्नेबारेमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रेको कामसमेत प्रभावित भएको छ भने राजमार्गको रुकुमपश्चिम खण्डबाट जाजरकोट यातायातका साधन आउजाउ गर्ने बाटोसमेत खुलेको छैन ।

राप्ती राजमार्ग अन्तर्गत मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङखोलामा निर्माण थालिएको पक्की पुल पनि ठेक्का सम्झौता भएको पाँच वर्षदेखि अलपत्र छ । उक्त पुल निर्माणका लागि संरक्षण निर्माण सेवा प्रालि चितवन र सडक डिभिजन कार्यालय चौरजहारीबिच २०७६ साल असार ८ गते सम्झौता भएको थियो । सो सम्झौता अनुसार काम हुन सकेको छैन । जिल्ला प्रवेशको मुख्य नाकानजिक रहेको खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती पाउने गरेका छन् । सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले पटक पटक ताकेता तथा सार्वजनिक सूचना जारी गर्दा पनि ठेकेदार कम्पनीले अटेरी गरिरहेको बताउनुभयो । ठेक्का तोड्ने प्रक्रिया सुरु गरे पनि पुरा हुन नसकेको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...