युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी

Published on

काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाउनुभएको छ । एनआरएनए वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौँ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तिकरणलाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषदबाट केही दिनपछि पारित हुँदैछ । तपाईहरूको केही कुरा राख्न सकिन्छ ।”

मन्त्री चौधरीले विश्वका विभिन्न मुलुकमा रहि फरक–फरक क्षेत्रमा हासिल गरेको अनुभव, क्षमता तथा पुँजी मातृभूमिको विकासमा लगानी गर्ने डायस्पोराको सोच उदाहरणीय भएको बताउनुभयो । “डायस्पोराले उद्यमशीलता, स्थानीय अर्थतन्त्रको विकासमा पनि मद्दत पुर्‍याउन सक्छ । यसका लागि राज्यले सहज लगानीको वातावरण, कर छुट तथा नागरिकताको सहज व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो । भाषा, संस्कृति, उत्पादन, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायको क्षेत्रमा डायस्पोराका युवालाई परिचालन गर्न र अनुसन्धान नवप्रवर्तन क्षेत्रमा अनुभव तथा सीप प्रयोग गर्न सकिने मन्त्री चौधरीको भनाइ थियो । कार्यक्रममा पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता पदम गिरीले नयाँ पुस्तालाई राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस योजना जरूरी रहेको बताउनुभयो । यसमा विलम्बन नगरी छिटो नीति ल्याउनुपर्नेमा यहाँले जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले मानव सभ्यताका लागि बसाइँसराइ नियमित प्रक्रिया भएको बताउनुहुँदै राष्ट्र निर्माण अगाडि सकारात्मक धारणा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । “पोजेटिभ एटिट्युड निर्धारण गर्न सकियो भने कसरी राष्ट्र निर्माण गर्ने स्पष्ट हुन्छ”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसका नेता केदार कार्कीले नेपालका हरेक सुखदुःखमा साथ दिने प्रवासी नेपालीलाई स्वदेशमा आउँदा सकारात्मक व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले दोस्रो र तेस्रो पुस्ताका नेपालीको सीप तथा पुँजी भित्र्याउन राज्यले ढोका खोल्नुपर्नेमा जोड दिनुभयो । एनआरएन नेपाली युवा समिरा केसीले आधा नेपाली र आधा विदेशी भएर बाँचेका आफूहरूलाई एनआरएनएले नेपालसँग जोड्ने काम गरेको बताउनुभयो । उहाँले प्रवासी नेपाली युवाहरू मातृभूमिलाई आफ्नो सीप क्षमता सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । एनआरएनए उपाध्यक्ष रोशन थापाले नेपाली जनशक्ति पठाउने र उनीहरूको सीप, क्षमता र पुँजी भित्र्याउने दोहोरो नीति आवश्यक रहेको बताउनुभयो ।

खेलाडीलाई नगदसहित सम्मान
यसैगरी, गैरआवासी नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले खेलाडीलाई सम्मान गरेको छ । गैरआवासीय नेपाली दिवस वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ का अवसरमा राष्ट्रका लागि मेडल ल्याउने खेलाडीलाई सम्मान गरिएको हो । प्यारा ओलम्पिकमा पदक विजेता पलेशा गोवर्धनलाई खेलकुदमन्त्री तेजुलाल चौधरी र एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाले रु. ३० हजार नगद र प्रमाणपत्रसहित सम्मान प्रदान गर्नुभयो । समारोहमा पलेशाका बुबा प्रदिप गोवर्धले पुरस्कार ग्रहण गर्नुभएको थियो । कराँतेमा प्रथम एसियन रजतपदक विजेता एरिका गुरुङलाई रु. २५ हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । अस्ट्रियाको भियनामा सम्पन्न गोजुरियो कराँतेको कातातर्फ स्वर्णपदक विजेता एनआरनएका खेलाडी एनोज महर्जनलाई रु. २० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...