मंसिर १६ गते देशभर स्थानिय तहको उपनिर्वाचन हुँदैछ । १६ गते हुने उपनिर्वाचनमा स्थानिय तहमा विभिन्न कारणले रिक्त रहेको पदहरुलाई मध्यनजर गर्दै निर्वाचन आयोग नेपालले उपनिर्वाचन गर्न लागेको हो । १६ गते हुने उपनिर्वाचनमा स्थानीय तहका ४४ ओटा रिक्त पदमा उपनिर्वाचन हुनेछ । यो सँगै कञ्चनपुरको भीमदत्त नगरपालिका —६ मा पनि उपनिर्वाचनको तयारी तिव्रताका साथ भैरहेको छ । विभिन्न राजनितिक पार्टी तथा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका व्यक्तिलाई चुनावी माहोलले एकदमै व्यस्त बनाइरहेको छ । जसमध्ये उपनिर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश चन्द पनि एक हुन् । अन्य उम्मेदवार सँगै चन्द पनि यतिबेला चुनावी माहोलमा व्यस्त देखिन्छन् । तथापी कञ्चनपुर स्थित एएनएन कर्मी अरुण माझीले चुनावी माहोलमा व्यस्त रहेका चन्दलाई उपनिर्वाचन सम्बन्धि तयारी र अन्य विविध पक्षलाई लिएर गरेको कुराकानीको सार ।
सर्वप्रथम तपाईको उम्मेदवारी किन र के का लागि ?
नेपाली काङ्ग्रेसको १४ औँ अधिवेशनमा भीमदत्त नगरपालिका ६ को वडा सभापति रहेको मलाई नेपाली कांग्रेसका तर्फबाट उप निर्वाचनमा वडा अध्यक्ष पदको जिम्मेवारी पार्टीले दिएको छ । सर्वप्रथम त धन्यवाद भन्न चाहन्छु । म उपनिर्वाचनमा जाँदै गर्दा हाम्रा निर्वतमान वडाध्यक्ष महेन्द्र खड्का ज्यू जुन सडक दूर्घटनामा उहाँको निधन भयो । उहाँप्रति श्रद्धाञ्जली र उहाँको परिवारमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । अब मेरो उम्मेदवारी किन र के का लागि भन्नु हुन्छ भने जुन निर्वतमान अध्यक्षज्यूले चाल्नु भएका विभिन्न विकासका कदमहरु छन्, ती त्यस्ता अधुरा विकास निमार्ण क्षेत्रका काम सँगै प्रतिबद्धता हरुलाई र्सप्रथम म मेरो कार्यकालमा पुरा गर्नेछु । यी यस्ता विभिन्न कुराहरुलाई म नेपाली कांग्रेसको तर्फबाट यो वडा कार्य समितिमा निर्वाचित भएपछि ती प्रतिबद्धताहरुलाई पूरा गर्नु मेरो प्रथम कार्य बन्नेछ । साथै वडामा रहेका विकास निर्माण र सडक विस्तारका कुराहरु स्थानिय नागरिक सँगै समुन्वय गरेर विस्तार गर्ने योजना मेरो रहेको छ ।अव्यवस्थित रहेका विद्युत पोल र सडक बत्तीलाई सही व्यवस्थापन गरी विद्युतको समस्या रहेको ठाउँमा ट्रान्सफर्मरको व्यवस्था गरी विद्युत क्षमता वृद्धि गरेर अनियमित भएका विद्युतलाई सुचारु गने मेरो योजना रहेको छ । त्यसैगरी वडामा रहेका सार्वजनिक खाली जग्गा अथवा खोलानालालाई नेपाल सरकारको स्वामित्वमा ल्याई पूर्ववत रुपमा सञ्चालन गर्नेछु । यसैगरी अन्य विकास निर्माणका कामहरुलाइृ पनि प्राथमिकता दिईनेछ । त्यस्तै, वडाको मात्रै नभएर जिल्लाकै ठूलो समस्याको रुपमा आइरहेको लागूपदार्थ दुर्व्यसनको समस्यालाई समाधान गर्नका लागि वडाबाट विभिन्न नगरपालिका र संघ संस्थाहरुसँग समन्वय गरेर रोकथाम र न्यूनीकरणका लागि मेरो अग्रभुमिका रहनेछ ।
यो उपनिर्वाचनमा वडाध्यक्ष पदको उम्मेदवार भएर घरदैलो अभियानमा जाँदा त्यो वडाका समस्याहरु पनि थुप्रै भेटाउनु भएको होला । वडाका ती समस्या र चुनौतीहरुलाई समाधानको पाटो तर्फ लैजान के कस्तो योजना बनाउनु भएको छ ?
तत्काल भीमदत्त नगरपालिका ६ को सबैभन्दा ठूलो समस्या डुबानको रहेको छ । तथापी पूर्व–पश्चिम राजमार्गले धेरै ठाउँमा बाँधको काम गरेको छ । डुबानको समस्यालाई समाधान गर्न वडामा भएका अतिक्रमित सार्वजनिक जग्गा, खोलानालालाई पूर्ववत रुपमा सञ्चालनमा ल्याउने छौँ । त्यसको लागि नगरपालिका अथवा प्रशासनको सहयोग लिनुपर्छ भने पनि समुन्वय गरेरे डुबानको समस्यालाई समाधान गर्न सकिन्छ भन्ने मलाई लाग्छ । अब दोस्रो चरणमा यहाँका विद्यालयहरुको समस्या रहेको छ । ६ नं. वडामा ३ वटा संस्थागत विद्यालय रहेका छन् । ती मध्ये २ ओटा विद्यालय कालिका र त्रिवेणी विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून र विद्यालय भवनहरु पनि राम्रा छन् तर शान्ति निकेतन उच्च मा.वि.मा विद्यार्थीको चाप बढी र त्यसैमा भौतिक संरचनामा पनि समस्या हुनाले ती संरचनाहरुलाई व्यवस्थित गरेर अथवा कुनै दात्री निकायसँग समन्वय गरेर ती भवनहरुलाई अहिलेको समयानुकूल र सुविधासम्पन्न गर्ने मेरो योजना रहेको छ । त्यसको लागि वडासँग बजेट नभए पनि भीमदत्त नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र केन्द्र सरकार अथवा विभिन्न संघ संस्थाहरुसँग पनि समुन्वय गरेर विद्यार्थीहरुले पाउनु पर्ने नैसर्गिक अधिकारलाई पुरा गर्न म प्रतिबद्ध छु । भीमदत्त नगरपालिका वडा नं.६ तीव्र रुपमा सहरीकरणमा अगाडि बढिरहेको अवस्थामा तेस्रो समस्याका रुपमा बाटोघाटोको समस्या देखिएको छ । अरु वडाको तुलनामा सडकको स्तर, कालोपत्रे, ढलान अथवा पानी पिचको अवस्था राम्रै भए पनि ग्राभेल गर्नुपर्ने छ । तीव्र सहरीकरणका कारण प्रत्येक वर्षमा ५/७ वटा नयाँ बाटाहरु एकै टोलमा खुल्ने गरेका छन् । त्यस कारण २६ वटा टोलमा औसत रुपमा वर्षमा २/३ बाटोहरु बढे पनि व्यवस्थित रुपमा सञ्चालनका लागि ग्राभेल गर्नु पर्ने देखिन्छ । सडकका किनारमा सडक बत्ती अथवा विद्युतका पोलहरु व्यवस्थित गरेर लैजानु पर्ने छ । भीमदत्त नगरपालिका वडा नं. ६ ले यो भन्दा अगाडि पनि राम्रै प्रयास गरेको थियो । धेरै ठाउँमा त्यो काम देखिएको पनि छ । वडाको आफ्नो बजेटबाट र नगरपालिकाबाट विभिन्न स्थानमा सडक कालोपत्रे र आरसिसी ढलान भएका छन् । आगामी दिनहरुमा पनि ती योजनाहरुका लागि नगरपालिका अथवा अन्य निकायसँग समुन्वय गरी वडामा बजेट ल्याउनका लागि हामी तत्पर रहने छौँ ।
पछिल्लो समय नागरिकमा जनप्रतिनिधि सँग सम्बन्धित विभिन्न निराशासँगै जनगुनासाहरु पनि देखिन्छन् । भोट माग्ने बेलामा मात्रै घरमा आउने जितिसके पछि जनता र जनप्रतिनिधि बिचको सम्बन्ध नै नहुने अथवा सम्पर्कमै नआउने किसिमको नागरिक मतसँगै जनप्रतिनिधि सँगको एक वितृष्णा छ । तपाईंले यसलाई कसरी चिर्नु हुन्छ ? नागरिकका ती निराशा र गुनासालाई कसरी सम्बोधन गर्नु हुन्छ ?
जनतासँग नेताको सम्बन्धका कुरामा मैले पहिले नै कुरा राखिसके । २०५८ सालदेखि विद्यार्थी राजनीति गर्दा विशुद्ध रुपमा म समाज सेवामा संलग्न थिए । त्यो समयमा मैले न कुनै पेसा व्यवसायमा संलग्न भए न अहिले संलग्न छु । त्यसकारण सम्पूर्ण जनतासित मैले घरघरमा गएर उहाँहरुको समस्या देखेको छु । उहाँहरुले मलाई यस्तो यस्तो समस्या छ भनेर भनेको छन् र मेरो र आम नागरिक बिचमा कुनै किसिमको खाडल छैन । म यसमा ढुक्क छु । सडकको सम्बन्धमा ग्राभेल, ढल निकास, सडक बत्ती, स्वरोजगार तालिम त्यसैगरी लागूऔषधको सम्बन्धमा पनि गाउँटोलमै गएर उहाँहरुसित समन्वय गरेर सम्पर्कमा रहेको छु । जुन अघि तपाईले भन्नु भयो नेताको सम्बन्धमा वितृष्णा फैलिएको छ । तर मलार्ई त्यस्तो मेरो ठाउँमा म सँग मेरो नागरिकको रहनेछैन । म हुन दिने पनि छैन । म पहिले पनि आम नागरिक सँगै थिए । म पछि पनि आम नागरिकसँग खुल्ला हृदयले रहिरहन्छु मलाई त्यसमा कुनै समस्या रहदैन । तर पनि मानिसमा धेरै प्रकारका अपेक्षाहरु हुन्छन् । र हुनु पनि स्वभावि हो । कुनै अवस्थामा नेताले पनि गर्न नसकेको अवस्था रहन्छ । तर वितृष्णा भन्दा पनि गाउँ समाजले विकास खोजिरहेको छ । विकास गर्न सकिराखेको छैन अथवा त्यो भन्ने कुरामा वितृष्णा फैलिएको भन्दा पनि काम गर्न नसकिएको भनेर भन्न सकिन्छ नि । तर पनि नागरिकमा अपेक्षा अनुसार काम नभएकोले गुनासो आएको हुन सक्छ म यी यस्ता विभिन्न गुनासोलाई सम्बोधनको माध्यमबाट चिर्ने प्रयास गर्नेछु ।
वडा नं. ६ का जनताले तपाईलाई भोट किन दिने ?
यो भन्दा अगाडि पनि भीमदत्त नगरपालिका वडा नं. ६ का जनताले नेपाली कांग्रेसलाई प्रचण्ड बहुमतका साथ विजय गराए । तर एकाएक अप्रत्यासित दुर्घटनामा वडाध्यक्ष ज्यूको स्वर्गारोहण भयो । उहाँ विकास निर्माणका काममा जुन भिजन र गतिले अगाडि बढिराख्नु भएको थियो त्यसमा केही समस्या देखिएको छ । उहाँ भीमदत्त नगरपालिकाको प्रवक्ता पनि हुनुहुन्थ्यो । नगरपालिकामा उहाँले जुन प्रकारको समुन्वय गरिराख्नुभएको थियो । त्यसमा केही कमी भएको छ । त्यसकारण यी यस्ता समाजका आवश्यकताहलाई कमी हुन नदिने अभिप्राय हाम्रो छ । शिक्षा क्षेत्रको लागि गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको योजना ल्याउने भनेका छौँ । सडक निर्माणका सम्बन्धमा भी.न.पा. वडा नं.६ मा सडक चौडाई र सरसफाईको अभियानमा जनसहभागिता हामीले उल्लेख्य रुपमा पायौँ । त्यसपछि विपन्न, दलित, महिला अथवा जुन पनि समुदायका व्यक्तिलाई पनि स्वरोजगार तालिम, स्वआर्जनका तालिम, नेतृत्व विकास गर्नका लागि जुन प्रकारले व्यवस्था गर्नु पर्छ नगरपालिकासँग समन्वय गरेर वडाले आफ्नो योजनामा ल्याई त्यो वृद्धि विकासमा सहजता ल्याउने छ । हामीले यो भन्दा अगाडि पनि भनेका थियौँ र नगरपालिकाले पनि निर्णय गरेको छ । जुन नगरपालिका भित्र सरकारी जग्गाहरु, खोलाहरु अतिक्रमित भएका छन् । त्यसलाई पुनः सञ्चालनमा ल्याउने छौँ । यो कामलाई नगरपालिकाले पनि अठोट गरेको छ ।
अहिले घरदैलो अभियानमा नागरिकसम्म पुग्नु भएको छ । नागरिकहरुबाट केही सल्लाह, गुनासो अथवा म जित्न सक्छु भन्ने जस्ता आधारहरु केही पाउनु भएको छ ?
हामी घरदैलोमा जाँदा सम्बन्ध स्थापित घरमा वा सम्बन्ध स्थापना नभएका घरमा गएर जिज्ञासा लिँदा उहाँहरुले के भन्नु भएको छ भने, ल तपाईंलाई हामी सहयोग गर्छौँ । तपाईंलाई सहयोग गर्ने हामीसित दुइटा तीनटा आधारहरु छन् । तपाईं एउटा युवा हुनुहुन्छ । अर्को शिक्षित हुनुहुन्छ । र तपाईं लामो समयदेखि समाज सेवामा संलग्न पनि हुनुहुन्छ । त्यसैले हामी तपाईंलाई सहयोग त गर्छौँ । तर तपाईंले आगामी दिनमा नेपाली कांग्रेसको मात्र नभएर समग्र जनताका पक्षमा उभिनु पर्छ भन्ने नागरिक स्थरको बोली छ । यसलाई मैले पनि यहाँहरुको अपेक्षा अनुसार काम गर्नेछु भनेर आफूलाई प्रतिबद्ध बनाएको छु । यसैगरि यो भन्दा अगाडि मैले १८/२० वर्ष विद्यार्थी राजनीति गर्दै आउँदा सामाजिक रुपमा कसैको पनि समस्या, दुःख अथवा खुसियालीमा पनि हामी सामुहिक रुपमा सहभागी भएका छौँ । त्यो सहभागीतामा हाम्रो हातबाट हुने प्रत्येक सहयोग गरेको हुनाले उहाँहरुले “ठिक छ, यो पाली हामी तपाईंलाई सहयोग गर्छौँ । तपाईंको काम गर्ने पुरानो शैलीलाई यथावत राखेर बढी गतिका साथ काम गर्नु पर्छ” भनेर भन्नु भएको छ । त्यसैले भीमदत्त नगरपालिमा वडा नं. ६ का जनताहरुले नेपाली कांग्रेस र मेरो पक्षमा मतदान गर्नेछन् भन्ने विश्वास मलाई लागेको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट काका–भतिजले उम्मेदवारी दर्ता गर्नु भएको छ । यसलाई कसरी लिनु हुन्छ ?
विगत २३ वर्ष देखि म विद्यार्थी राजनीति हुँदै नेपाली राजनीतिमा आएको छु । म नेपाली कांग्रेसको वडा सभापतिका हैसियतले स्वतः मेरो उम्मेदवारी हुन्छ । अथवा दाबी पुग्ने अवस्थामा थियो । त्यसमा साथीहरु पनि लागेका थिए । साथीहरुको उम्मेदवारी पनि रह्यो र पार्टीले जुन निर्णय गर्छ त्यसमा हामी मान्छौँ भनेर सहभागी हुँदै गर्दा पार्टीले मलाई उम्मेदवार बनाई सकेपछि म नेपाली कांग्रेसको उम्मेदवार भएँ ।
दोस्रो चरणमा तपाईंले जुन कुरा भन्नु भयो काका–भतिजको सम्बन्ध । अब घरको एउटा होला । राजनीतिक हिसाबले म प्रजातान्त्रिक विचार बोकेर हिँड्दै गर्दा मेरो काकाले अर्कै विचार बोकेर हिँडिराख्नु भएको छ । वा जागिर गरिराख्नुभएको छ । त्यो बेला उहाँ आबद्ध हुनु भएको होला ।
त्यसमा भन्दा पनि म नेपाली कांग्रेसबाट उम्मेदवार हुने बेला अर्को पार्टीका एक जना उम्मेदवार हुने थिए । त्यसमा मेरो घरपरिवारकै मान्छे उम्मेदवार भए अथवा बाहिरको मान्छे उम्मेदवार भए भन्दा पनि प्रत्यक्ष रुपमा पार्टीका तर्पmबाट चुनाव लड्दै गर्दा अर्को पार्टीका सदस्यसँग प्रतिस्पर्धा गर्नु पर्ने थियो त्यहीँ प्रतिस्पर्धाका रुपमा मैले लिएको छु । जसरी म २२/२३ वर्षदेखि जुन राजनीतिक पृष्ठभूमिबाट म आएँ । व्यक्ति भन्दा पनि हामी विचारका आधारमा चुनाव लड्दै छौँ । मेरो घरपरिवारका मान्छेले चुनाव लडे पनि मैले त्यसलाई सामान्य रुपमा लिएको छु । पार्टीका तर्फबाट प्रजातान्त्रिक विचार लिएर चुनाव लड्दै छु । साथीहरु पनि लाग्नु भएको छ । हामीले यसलाई सामान्य रुपमा नै लिएका छौँ ।
अन्तिममा यहाँका वडाबासीहरुलार्ई के भन्न चाहनु हुन्छ ?
यो भन्दा अगाडि पनि मैले उहाँहरुको घरआँगनमा गएर भनेको छु । निवर्तमान वडा वडाध्यक्ष महेन्द्र खड्का ज्यूले ल्याउनु भएका योजनामा मेरो पनि प्रतिबद्धता हुने छ । साथै लागूऔषध, स्वरोजगार, विशेष छात्रवृत्ति, सडकहरु सञ्जाल विकास गर्ने र अव्यवस्थित विद्युतका पोलहरु हामी व्यवस्थित गर्ने छौँ । त्यसका लागि वडा नं. ६ को बजेटले नभए हाम्रो नगरपालिका र प्रदेश सरकार सँग समुन्वय गरेर हामी त्यो प्रतिबद्धता पुरा गर्ने छौँ भन्ने म वडाबासीहरुलाई आग्रह गर्दछु । धन्यवाद ! जय नेपाल !