काठमाडौँ । कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता (भलमन्सा) को काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय कार्य गर्न थालेका छन् । घोडाघोडी नगरपालिकामा अहिले छ जना महिला भलमन्साको भूमिकामा छन् । विगतमा पुरुष मात्र हुने भलमन्सामा महिला सक्रिय भएर नेतृत्व लिन थालेपछि अन्य महिलासमेत उत्साही बनेका छन् । थारू समुदायमा जन्मदेखि मृत्यु संस्कार होस् या गाउँको बाटो, बिजुलीबत्ती, खानेपानी, शिक्षा स्वास्थ्यलगायतका विकासमा भलमन्साको नेतृत्वदायी भूमिका हुन्छ । घोडाघोडी नगरपालिकामा थारू समुदायको ७६ गाउँमा ७६ जना भलमन्सा छन् । तीमध्ये छ जना महिला भलमन्सा रहेका छन् । १७ सदस्यीय नगर भलमन्सा समितिमा कोषाध्यक्षसहित तीन जना महिला भलमन्सा छन् । भर्खरै मात्र सम्पन्न भएको लवाङ्गी पूजा सम्पन्न गराउनसमेत महिला भलमन्साको भूमिका महत्वपूर्ण रहेको बताइन्छ ।
थारू समुदायको गाउँको नेतृत्व गर्ने, गाउँको समस्याको छिनोफानो भलमन्साले गर्दै आएका छन् । विगतमा पुरुष मात्र भलमन्सा हुने थारू समुदायमा समय परिवर्तनसँगै नेतृत्वमा पनि परिवर्तन भएपछि नेतृत्व लिनेको सङ्ख्या बढ्दै गएको नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरी बताउनुहुन्छ । केही वर्षयता महिलाले भलमन्साको नेतृत्व समालेर गाउँको हरेक समस्या समाधान गर्दै आइरहेका छन् । नगर भलमन्सा समितिका कोषाध्यक्ष सीतावी कठरियाले गाउँमा महिला भलमन्सासँगै चिराकी (सूचनावाहक) मा समेत महिला रहेको बताउनुभयो । गाउँमा कुनै बैठक, सभा गर्नुपरेमा वा खबर ल्याउने लैजाने काम चिराकीको हुन्छ । भलमन्सा सीतावीले भन्नुभयो, “सुरुसुरुमा हामीलाई विश्वास गरिएको थिएन, हामीले काम गर्न थालेपछि बल्ल विश्वास गर्न थालेका छन् ।” सीतावी दोस्रो कार्यकालको भलमन्सा हुनुहुन्छ । उहाँले राम्रो काम गरेपछि गाउँलेले दोस्रो कार्यकालका लागि दोहोर्याएका हुन् ।
घोडाघोडी नगरपालिका वडा नम्बर १० देउकलिया गाउँका भलमन्सा दुर्गादेवी चौधरी र चिराकीमा इन्द्रादेवी चौधरी हुनुहुन्छ । इन्द्रादेवी भलमन्सा भएर काम गरेपछि अहिले चिराकीको भूमिकामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै काम पर्यो भने गाउँमा सबैलाई भेला पार्ने काम म गर्छु, मैले भनेको गाउँलेले मान्नु पनि हुन्छ । भलमन्साले गरेको निर्णयमा सबैले साथ दिनुहुन्छ ।” घोडाघोडी नगरपालिकामा पाको उमेरको भलमन्साका रूपमा राजकुमारी चौधरी हुनुहुन्छ । घोडाघोडी–१०, आमखैया मुक्तकमैया शिविरका ५६ वर्षीया राजकुमारीले भलमन्सा भएर काम गर्न थालेको पाँच वर्ष भयो । उहाँ भलमन्सा भएपछि गाउँमा चिराकी पनि महिला नै हुनुहन्छ । गाउँमा पुरुष भलमन्साले भन्दा राम्रो काम राजकुमारीले गरेकाले उहाँलाई भलमन्सामा गाउँलेले रुचाएको गीता चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको विकास मात्र होइन, राजकुमारी भलमन्सा भएपछि हामी महिलालाई सिपमूलक तालिमसँगै, बाख्रापालन, सुँगुरपालन, च्याउखेतीका लागि अनुदान माग गरेर समूह बनाई आयआर्जनमा जोड्न सहयोग गर्नुभएको छ ।” गोरखापत्र