गाउँ हाँक्छन् महिला भलमन्सा

Published on

काठमाडौँ । कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता (भलमन्सा) को काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय कार्य गर्न थालेका छन् । घोडाघोडी नगरपालिकामा अहिले छ जना महिला भलमन्साको भूमिकामा छन् । विगतमा पुरुष मात्र हुने भलमन्सामा महिला सक्रिय भएर नेतृत्व लिन थालेपछि अन्य महिलासमेत उत्साही बनेका छन् । थारू समुदायमा जन्मदेखि मृत्यु संस्कार होस् या गाउँको बाटो, बिजुलीबत्ती, खानेपानी, शिक्षा स्वास्थ्यलगायतका विकासमा भलमन्साको नेतृत्वदायी भूमिका हुन्छ । घोडाघोडी नगरपालिकामा थारू समुदायको ७६ गाउँमा ७६ जना भलमन्सा छन् । तीमध्ये छ जना महिला भलमन्सा रहेका छन् । १७ सदस्यीय नगर भलमन्सा समितिमा कोषाध्यक्षसहित तीन जना महिला भलमन्सा छन् । भर्खरै मात्र सम्पन्न भएको लवाङ्गी पूजा सम्पन्न गराउनसमेत महिला भलमन्साको भूमिका महत्वपूर्ण रहेको बताइन्छ ।

थारू समुदायको गाउँको नेतृत्व गर्ने, गाउँको समस्याको छिनोफानो भलमन्साले गर्दै आएका छन् । विगतमा पुरुष मात्र भलमन्सा हुने थारू समुदायमा समय परिवर्तनसँगै नेतृत्वमा पनि परिवर्तन भएपछि नेतृत्व लिनेको सङ्ख्या बढ्दै गएको नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरी बताउनुहुन्छ । केही वर्षयता महिलाले भलमन्साको नेतृत्व समालेर गाउँको हरेक समस्या समाधान गर्दै आइरहेका छन् । नगर भलमन्सा समितिका कोषाध्यक्ष सीतावी कठरियाले गाउँमा महिला भलमन्सासँगै चिराकी (सूचनावाहक) मा समेत महिला रहेको बताउनुभयो । गाउँमा कुनै बैठक, सभा गर्नुपरेमा वा खबर ल्याउने लैजाने काम चिराकीको हुन्छ । भलमन्सा सीतावीले भन्नुभयो, “सुरुसुरुमा हामीलाई विश्वास गरिएको थिएन, हामीले काम गर्न थालेपछि बल्ल विश्वास गर्न थालेका छन् ।” सीतावी दोस्रो कार्यकालको भलमन्सा हुनुहुन्छ । उहाँले राम्रो काम गरेपछि गाउँलेले दोस्रो कार्यकालका लागि दोहोर्‍याएका हुन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर १० देउकलिया गाउँका भलमन्सा दुर्गादेवी चौधरी र चिराकीमा इन्द्रादेवी चौधरी हुनुहुन्छ । इन्द्रादेवी भलमन्सा भएर काम गरेपछि अहिले चिराकीको भूमिकामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै काम पर्‍यो भने गाउँमा सबैलाई भेला पार्ने काम म गर्छु, मैले भनेको गाउँलेले मान्नु पनि हुन्छ । भलमन्साले गरेको निर्णयमा सबैले साथ दिनुहुन्छ ।” घोडाघोडी नगरपालिकामा पाको उमेरको भलमन्साका रूपमा राजकुमारी चौधरी हुनुहुन्छ । घोडाघोडी–१०, आमखैया मुक्तकमैया शिविरका ५६ वर्षीया राजकुमारीले भलमन्सा भएर काम गर्न थालेको पाँच वर्ष भयो । उहाँ भलमन्सा भएपछि गाउँमा चिराकी पनि महिला नै हुनुहन्छ । गाउँमा पुरुष भलमन्साले भन्दा राम्रो काम राजकुमारीले गरेकाले उहाँलाई भलमन्सामा गाउँलेले रुचाएको गीता चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको विकास मात्र होइन, राजकुमारी भलमन्सा भएपछि हामी महिलालाई सिपमूलक तालिमसँगै, बाख्रापालन, सुँगुरपालन, च्याउखेतीका लागि अनुदान माग गरेर समूह बनाई आयआर्जनमा जोड्न सहयोग गर्नुभएको छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...