किशोरीहरुले मुख्यमन्त्रीलाई सुनाए पुथाउत्तरगङ्गाको समस्या

Published on

काठमाडौँ । रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीले गाउँ समाजमा आफूहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन् । उनीहरुले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनका लागि १७ बुँदे मागपत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन् । मुख्यमन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उहाँले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षालगायत मनोसामाजिक क्षेत्रमा सहयोग पुग्नेगरी कार्यक्रम बनाएको जानकारी दिनुभयो । समुदाय केन्द्रित जनजागरण अभियानलाई तीव्रता दिन, त्यस अभियानमा किशोर किशोरीको सहभागिता सुनिश्चित गरिने पनि बताउनुभयो ।

‘तपाईंहरुले उठाएका मागहरु प्रदेश सरकारले सुन्छ । बालविवाह मुक्त प्रदेश बनाउने अभियानमा यहाँहरुको साथ सहयोग चाहिन्छ’ उहाँले भन्नुभयो, ‘बनेका नीति, नियम तथा कानुनहरुको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’ बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तीव्र पार्नुपर्ने बताउनुभयो । नीगित रुपमा प्रदेश सरकारले सम्बोधन गरेको र छुटेका विषयलाई आगामी दिनमा सम्वोधन गरिने पनि बताउनुभयो । पुथा उत्तरगङ्गामा विकास र समृद्धि कायम गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । ‘त्यस क्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ’ उहाँले भन्नुभयो, ‘पुथाउत्तरगङ्गादेखि मर्चवारसम्मलाई माथि उठाउन सक्यौं भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’ भूगोलबाट पछाडि परेको, जनचेतनाको अभावले पनि पछाडि परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने जानकारी दिनुभयो ।

समुदायमा अझैं पनि जातीय छुवाछूत, दाइजो प्रथा, बोक्सीको आरोप लगाउने, छोट्टी बस्ने, बहुविवाह गर्नेजस्ता समाजिक र सांस्कृतिक परम्पराको नाममा हुने हिंसा अन्त्यका लागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीहरुले माग राखेका छन् । पुथा उत्तरगङ्गाका बालबालिका र विशेषगरी युवाहरुमा लागू औषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुर्व्यवहार र छोट्टी बस्नेजस्ता सामाजिक अपराधहरु पनि बढाउने भएकाले समस्या समाधानका लागि बृहत जनचेतनामूलक अभियान चलाउन माग राखिएको छ । स्वास्थ्य चौकीको स्थापना र सहज उपचारसेवादेखि खेलक्षेत्रको विकासका लागि खेलकुद मैदान, खेल सामग्रीको व्यवस्था गर्न माग राखेका छन् । घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था भए पनि त्यो भत्ता समयमा आइनपुग्ने, महिला, बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अति विपन्नलाई सहज तरिकाले मासिक भत्ता लिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ । मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आबद्ध स्मृति सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धि बुढा, सुप्रिया घर्तीलगायत आउनुभएको थियो । गोरखापत्र

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...