काठमाडौँ । चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटक पटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो । वि.सं. २०७८ साउन २९ गते लिएको ठेक्काको हालसम्म काम नभएपछि कार्यालयले अन्तिम पटक सार्वजनिक रूपमा पत्रिकामा सूचना निकालेर काम नगर्नुको कारणसहित स्पष्टीकरण माग गरेको कार्यालय प्रमुख एवम् इन्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताउनुभयो । उहाँका अनुसार वि.सं. २०७८ साउन २९ गते भएको सम्झौता अनुसार बारेकोट गाउँपालिका–८ सागुतरा र नलगाड नगरपालिका–५ सिर्के जोड्ने मोटरेबल पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगञ्ज–२ बाँकेलाई अन्तिम पत्र लेखेर स्पष्टीकरण सोधिएको छ ।
वि.सं. २०७८ साउन २९ गते लगाएको छेडा–कचाली–जुम्ला खण्डअन्तर्गत छेडागाड नगरपालिकाको साल्म खोलामा मोटरेबल पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगञ्ज–२ बाँकेलाई पत्र काटिएको इन्जिनियर जैसीले जानकारी दिनुभयो । वि.सं. २०७८ असोज १८ लागेको कालीमाटी–खाल्चौर–नेटिलेक खण्डको सक्ला खारी बयाले लिम्सा सडकको काम अमर–सिस्ने जेभी, नेपालगञ्ज–२, बाँकेलाई अन्तिम पटक काटी स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण पत्रमा लेखिएको छ, “सम्झौताअनुसार निर्माण सम्पन्न नगरी सम्पर्कविहीन रहेको र लामो समयदेखि निर्माणस्थलमा कुनै पनि कार्य गरिरहेको नपाइएको सन्दर्भमा कार्यालयद्वारा विभिन्न मितिमा तोकिएको सम्झौता अवधिभित्र कार्य सम्पन्न गर्न पटक पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा सम्पर्कमा आएका छैनन् ।
विभिन्न मितिमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा निर्माण अवस्थासम्बन्धी छलफल गर्न कम्पनीको मुख्य व्यक्तिलाई बोलाइएकाेमा उक्त बैठकमा सहभागी नभई अटेर गरेको विषयमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।” “सम्झौताअनुसार कार्य नगर्नुका साथै अलपत्र पारी चरम लापरबाही गरेको र आफैँले पेस गरेको कार्य तालिकाअनुसारको प्रगति नगरेको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र ठेक्का सम्झौताका सर्तहरू र प्रचलित कानुनबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै उचित कारण भएमा प्रमाणसहित स्पष्टीकरण पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ”, इन्जिनियर जैसीले भन्नुभयो ।
समयमा स्पष्टीकरण पेस नगरेमा वा स्पष्टीकरणमा ठेक्का अन्त्य नगर्नुपर्ने भनी पेस भएको प्रमाण वा कारण उचित नपाइएमा ठेक्का सम्झौताका सर्तहरू र प्रचलित कानुनबमोजिम सम्बन्धित निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइएको उहाँले जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा मन्त्रीले छलफलका लागि बोलाउँदा बैठकमा नआएर अटेर गरेको आरोप लगाएको छ । तीन वटा ठेक्काका काम अलपत्र पार्ने निर्माण व्यवसायीले समयमा काम नगर्दा जाजरकोटको विकास निर्माणमा समस्या पर्दै आएको छ । जाजरकोटमा अलपत्र पाँच वटा आयोजनामध्ये तीन वटालाई स्पष्टीकरण सोधिएको हो ।