भिरबाट लडेर चार सयभन्दा बढीको मृत्यु

Published on

काठमाडौँ । कर्णालीमा घाँस काट्ने क्रममा वा आवतजावत गर्दा भिरबाट खसेर मृत्यु हुने र घाइते हुने घटना नौलो होइन । कर्णाली प्रदेश प्रहरीका अनुसार पछिल्लो १० वर्षमा (आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म) कर्णालीका १० जिल्लाका ४४० जनाको भिरबाट लडेर मृत्यु भएको तथ्याङ्क छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार भिरबाट लडेर घाइते हुने, मृत्यु हुनेमध्ये अधिकांश घाँस काट्ने वा घाँस काटेर फर्किंदा भएका हुन् । कर्णालीमा विशेष गरी दैलेख, जाजरकोट, रुकुम, कालीकोट जस्ता पहाडी जिल्लाका बासिन्दा बढी प्रभावित छन् ।

आव २०७१/७२ मा भिरबाट लडेर कर्णालीमा ३७ जनाको मृत्यु भएको थियो । २०७२/७३ मा ४८ जना, २०७३/७४ मा ४६ जना, २०७४/७५ मा ३२ जनाको भिरबाट लडेर मृत्यु भएको छ । यस्तै २०७५/७६ मा ३४ जना, २०७६/७७ मा ३९ जना र २०७७/७८ मा ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ । प्रहरीका अनुसार २०७८/७९ मा ४४ जना, २०७९/८० मा ४८ जनाको मृत्यु भएको थियो भने २०८०/८१ मा सबैभन्दा बढी ६१ जनाको भिरबाट लडेर ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीले जानकारी दिनुभयो । सल्यान जिल्लामा मात्रै ११७ जना भिरबाट खसेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरीको तथ्याङ्क छ ।

लडेर मृत्यु भएपछि शव परीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको समेत प्रदेश प्रहरीले जनाएको छ । उहाँले कर्णाली प्रदेशमा भिरालो जमिनमा किसानले घाँस दाउरा गर्नुपर्ने बाध्यताका कारण ज्यान गुम्ने र घाइते भई अपाङ्गताको जीवन बाँच्नुपर्ने बाध्यता भएको भन्दै यसका लागि सचेतना अभियान चलाउनुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेशमा भिरबाट लडेर मृत्यु र घाइते हुने अधिकांश कृषक परिवारका सदस्य छन् । बालबालिकादेखि वयस्कसम्मका कृषक परिवारका नागरिक घाँस दाउरा काट्दा, गाईवस्तु चराउन जाँदा, वस्तुभाउ चराएर वा घाँस दाउरा बोकेर घर फर्किंदा भिरबाट लडेर ज्यानै जाने जोखिम छ । कृषकका लागि घाँस काट्नैपर्ने र वस्तु भाउ चराउनैपर्ने बाध्यता हुन्छ । जुन बाध्यताले कर्णालीका भिरको जोखिमलाई समेत ख्याल गर्दैनन् । राष्ट्रिय कृषि गणना–२०७८ को तथ्याङ्क केलाउँदा कर्णालीमा तीन लाख दुई हजार ६४० कृषक परिवारले एक लाख १७ हजार ४१० हेक्टर क्षेत्रफलमा खेती गर्दछन् । कर्णालीको ५७ प्रतिशत जमिन भिरालो रहेको बताइन्छ ।

भिरबाट लडेकाको उपचार पनि निकै महँगो छ । भिरबाट लडेकाको प्रायः ढाड, हातखुट्टा भाँच्चिने गरेका छन् । वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा ढाड भाँचिएका बिरामीका लागि सरकारले एक लाख रुपियाँ दिने भएकाले भिरबाट लडेका अधिकांश बिरामी आउने गरेको प्रदेश अस्पताल सुर्खेतका हाडजोर्नी, नसा, बाथरोग विशेषज्ञ एवम् ट्रमा सर्जन डा. शुभ श्रेष्ठ बताउनुहुन्छ । उहाँले हाडजोर्नी विभागमा अधिकांश बिरामी रुख तथा भिरबाट लडेर ढाड भाँचिएर, खुट्टा तथा हात भाँचिएका बिरामी आउने गरेको बताउँदै दुर्गम जिल्लाका कृषक परिवारका व्यक्ति भिरबाट खसेर उपचारका लागि आउने गरेको बताउनुभयो ।

सुर्खेतस्थित साइनिङ अस्पतालमा पनि मेरुदण्ड भाँचिएका बिरामीको उपचार हुने गरेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार कर्णालीको कुल जनसङ्ख्यामध्ये ३.१ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै किसिमको अपाङ्गता छ । कुल अपाङ्गता भएकामध्ये सबैभन्दा धेरै ४५.४ प्रतिशतमा शारीरिक अपाङ्गता रहेको तथ्याङ्क छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका प्रदेश वकालत अधिकृत जितलाल ढकालले यीमध्ये कति जना के कारणले अपाङ्गता भएको भन्ने तथ्याङ्क नभए पनि भिरबाट लडेर अपाङ्गता हुनेको सङ्ख्या पनि यसैभित्र पर्ने बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...