सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनतामा धेरै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै हुने गरेका छन् । पछिल्लो पटकको निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २ वर्ष बढि भएको छ । कतिपय स्थानीय सरकारबिच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ । सधै भेटिने भएकाले जनताले स्थानीय सरकारका हरेक गतिविधि नजिकबाट नियालिरहेका हुन्छन् । संविधानले स्थानीय तहलाई अधिकार दिए पनि बजेट अभावले कार्य गर्न समस्या भइरहेको बेल्डाँडी गाँउपालिका वडा नम्वर ३ का वडाध्यक्ष दुर्गाप्रसाद चौधरी बताउँछन् । आन्तरिक स्रोतको कमी र पालिकाको तर्फबाट कम बजेट पाउँदा नागरिकका आकांक्षा पूरा गर्न निकै गाह्रो परेको चौधरीको अनुभव छ । वडा सञ्चालन गर्दा हालसम्मको अनुभव, वडाको दायित्व, चुनौती र अवसरलगायतका विषयमा केन्द्रित रहेर वडाध्यक्ष दुर्गाप्रसाद चौधरीसित एएनएनकर्मी अरुण चौधरीले गरेको कुराकानीको सार :
तपाईको वडाध्यक्षको पदमा बसेर काम गर्न थालेको यो दोस्रो कार्यकाल हो । यस बिच के–के योजनाहरु तपाईंले सफल पार्नुभयो ? कुन–कुन योजना अहिले कार्यान्व्यनमा छन् ?
सबैभन्दा ठूलो समस्या बाटोघाटो नहुँदा हुन्छ । त्यसैले गाउँमा भएको सबै बाटोको ट्रयाक खोल्यौँ । अधिकांश बाटोमा ग्राभेल पर्यो । कमरी, खैरीघाट, बैबाहा र गड्डालाई जोड्ने बाटोमा ग्राभेल पर्यो । त्यसैगरी सिमलडाँडीमा ठूलो पक्की पुलको निर्माण भयो । जसले गर्दा बैबाहा र खैरीघाटबासीलाई आवतजावत गर्न सजिलो भयो । वडामा खानेपानीको अभाव थियो । पानी टंकी बन्दा घर–घरमा खानेपानीको धारा पुग्यो । साथै अहिले स्वास्थ्य भवनको पनि निर्माण भएको छ । पहिला वडा कार्यालय भाँडामा थियो । अहिले आफ्नै जग्गामा छ । सँगसँगै ऐलानी जग्गाको पनि नाप नक्सा भएको छ ।
त्यस्तै अहिले कमरी पुल पनि बन्दै छ र शिवनगरको महाकाली सुगर मिल देखि खैरीघाट चौराहा हुँदै सिमलडाँडी–पिर्थीपुरुवा–अग्लीपट्टी–बिचपट्टी–दुर्गा चौराहा हुँदै वडा नं. ४ को चौराहासम्म प्रत्येक वर्ष २ देखि २.५ करोडको योजनामा आरसिसी रोड बन्दै छ ।
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?
शिक्षाको क्षेत्रमा गाउँपालिका स्तरबाटै कक्षा १ देखि १० सम्म निःशुल्क पढाइ हुने घोषणा भइसकेको छ र कार्यान्व्यनमा पनि आइसकेको छ । प्रावि, निमावि र मावि तिनवटै तहमा दरबन्दी मिलान क्रम पनि जारी नै छ । अहिले साना भाइबहिनीहरु कुलतमा फसेर विद्यालय छोड्ने गरेका छन् । तिनीहरुका लागि लागू पदार्थ दुर्व्यसन सम्बन्धी कार्यक्रम पनि बेला बेला भइरहेको छ । अनि प्रत्येक विद्यालयको भौतिक पूर्वाधारलाई एकदमै व्यवस्थित गर्दै अघि लग्दै छौँ । वडामा स्वास्थ्य भवन निर्माण गरी काम गर्ने कर्मचारी समेत ल्याइसकेका छौँ । सुत्केरी महिला देखि लिएर ५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने कार्यक्रम पनि ल्याइसकेका छौँ । त्यस्तै दादुराको खोप लगाउने कार्यक्रम पनि पूरा हुँदै छ । अनि यस्ता थुप्रै कार्यक्रमहरु पुरा हुँदै जाने छन् ।
कृषि क्षेत्रमा भन्नु पर्दा प्रत्येक वर्ष साना सिंचाईको नाममा ४/६ कार्यक्रम भइरहन्छन् । त्यस्तै ५०% अनुदानमा बिऊबिजन, तरकारी, अन्नबाली पनि वितरण भइरहन्छ । कृषक व्यवसायीहरुका लागि प्रत्येक वर्ष प्रोत्साहन कार्यक्रम र तालिम भइरहन्छन् जसले गर्दा कृषकको मनोबल टुट्न पाउँदैन र कृषि पेसाप्रति उत्साहित हुन्छन् ।
त्यस्तै लक्षित कार्यक्रममा महिला, एकल महिला, दलित, बालबालिका, अपाङ्ग जस्ता व्यक्तिहरुका लागि पनि अनेक किसिमको शिर्षक अनुसारका कार्यक्रमहरु हुन्छन् । जनचेतनामूक कार्यक्रम, सचेतनामूलक कार्यक्रम, आयतमूलक कार्यक्रम जस्ता लक्षित कार्यक्रमहरुले लगातार निरन्तरता पाइरहेका छन् ।
वडाध्यक्षको पदमा बसेर काम गर्दा अवसर, अनुभव र चुनौतीहरु के–के आए ?
दुई कार्यकाल काम गर्ने मौका पाउनु भनेको आफैमा एउटा ठूलो अवसर हो । जनताकै माया र ममता पाएर वडाध्यक्षको पदमा बसेर दुई कार्यकालसम्म काम गर्दै छु । साथै यो दौरानमा धेरै ठाउँमा घुम्ने मौका पनि मिल्यो । अनि ठूल्ठूला मानिसहरुसँग चिनजान पनि भयो ।
एउटा सम्मानित पदमा बसेर कुन शैलीमा कहाँनेर के, कसरी र कति बोल्नु पर्छ भन्ने जानियो । त्यसैगरी वडाध्यक्षको हकमा ३५/३६ वटा हस्ताक्षेर गर्ने अधिकार दिइएको हुन्छ । त्यसबाट नेपालको कानुन सम्बन्धी धेरै कुरा बुझियो र स्थानीय सरकार ऐन सम्बन्धी पनि प्रसस्त कुराहरु थाहा भयो ।
जीवनमा के के प्रशासनिक काम गर्नु पर्छ र कसरी अगाडि जानु पर्छ भन्ने कुराको अनुभव भयो । समाजमा बस्नु देखि लिएर लाउने, खाने, बोल्ने अनि कुन बाटोमा हिँड्दा राम्रो हुन्छ जस्ता यावत कुराहरुको अनुभव भयो । काम गर्दै गर्दा मनोबल पनि बढ्यो । अनि व्यक्तिगत क्षमतामा पनि वृद्धि भयो ।
जनताको अपेक्षा ज्यादा तर सरकारको बजेट कम आउनाले अप्ठ्यारो हुन्छ । अब पालिकाको पनि आयस्रोत केही छैन । जनताको अपेक्षाको अगाडि सरकारको बजेट न्यून हुनाले अति नै गुनासो सुन्नु पर्ने हुन्छ । जति पनि बजेट आयो त्यो सब नेताले खायो भनेर सुनिन्छ । उता भने सरकारको नीति चाँहि बजेटलाई सबै कार्यक्रममा छुवाउनै पर्ने हुन्छ । टोटल बजेटको ३३% लक्षित कार्यक्रममा र बाँकी शिक्षा, स्वास्थ्य, कृषि, भेटनरी, भौतिक पूर्वाधारमा हाल्दा बाँकी केही रहँदैन । जनताले भने बाटो निर्माण गरेको र पोलमा बत्ती जडान गरेको मात्र देख्छन् । यदि त्यो समयमा जनतालाई सम्झाउन सकिएन भने गुनासो स्वतः नै आउँछ ।
जनताका समस्याहरु कस्ता खालका हुन्छन् ? ती समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ ?
प्रत्येक व्यक्तिका आ–आफ्नै समस्या र स्वार्थ हुन्छ । कसैले मेरो घर अगाडि होमपाइप हाल्दिनुस् भन्छ । कसैले मेरो छोरालाई नौकरी लगाई दिनुस् भन्छ । कसैले यहाँनेर बत्ती भएन बत्ती लगाउनुस् भन्छ । प्रत्येकको आफ्नो स्वार्थ हुन्छ । अब सबैका इच्छा पूरा गर्न सकिदैन र त्यो सम्भव पनि छैन । समग्र रुपमा गाउँ समाजको विकास हेरिन्छ । सबै जनतालाई शिक्षित दिक्षित बनाउने सक्दो प्रयास गरिन्छ । र गाउँको मूल समस्या के हो त्यसको अध्ययन अनुसन्धान गरेर त्यसलाई जरैबाट उखेल्ने कोसिसमा छौँ हामी ।
तपाईंको कार्यकालको बाँकी आगामी योजना के छ ?
मेरो वडाभित्र सबैभन्दा बढी जग्गा ऐलानी छ । यसलाई कसरी कम भन्दा कम कर र राजस्वमा स्लोप तरिकाले जनतालाई पूर्जा दिने मेरो प्रथम योजना हो । यसलाई मैले आफ्नो प्रमुख लक्ष मानेको छु । यो पूरा गर्न सके भने म आभारी हुन सक्छु भन्ने लाग्छ । ऐलानी जग्गामा बसोबास गर्ने सुकुम्बासीलाई उनीहरुको जमिनको पूर्जा दिएर उनीहरुलाई छिटो भन्दा छिटो जमिनको मालिक बनाउन सके आफूले आफैलाई नै धन्यवाद दिने थिएँ भन्ने मेरो चाहाना हो । अनि शिक्षा र स्वास्थ्यको क्षेत्रलाई सुधार गरेर पूर्वतिरको जस्तो शिक्षित र सभ्य समाज बनाउने र बनेको देख्न चाहने लक्ष्य राखेको छु । बाँकी गाउँ समाज विकास हुने कुरा त भइरहने विषय हुन् ।