पासो थाप्ने सिकारी नै बने बाघको सिकार

Published on

काठमाडौँ । बाघलाई मार्न राखिएको पासोमा उल्टै सिकारी परेर बाघको सिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ । गत कात्तिक २ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा सिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले बाघको सिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको जानकारी दिनुभयो । उहाँका अनुसार थिङले बाघ मार्न पासो थाप्दै गर्दा आफैँ बाघको आक्रमणमा परेका हुन् । “बाघ मार्न थापिएको पासोमा सिकारी परेर बाघको सिकार भएका हुन् । बाघ मार्न गएछन्, उल्टै बाघले मारेछ,” उहाँले भन्नुभयो ।

“आफूले थापेको पासोमा परेको बाघलाई हेर्न नजिकै पुगेका थिङलाई बाघले पासो नै छिनाएर उम्किँदै आक्रमण गरेर मारेछ । उनीसँगै बाघको सिकार गर्न निकुञ्ज क्षेत्र छिरेका अमृत न्यौपाने भने रुखमा चढेर बाँचेछन् । सवारीसाधनमा प्रयोग हुने ब्रेकको तार लिएर वन क्षेत्रमा छिरेका थिङले वन क्षेत्रमै बाघका लागि पासो राखेर मार्ने उद्योग गरेको प्रमुख संरक्षण अधिकृत पन्तले बताउनुभयो । “सँगै रहेका अमृत न्यौपाने रुखमा चढेर बाँचेछन् । उनले माथि चढेर मोबाइलबाट पासोमा परेको बाघको फोटो पनि खिचेका छन्,” उहाँले भन्नुभयो ।

गत कात्तिक २ गते थिङलाई बाघले आक्रमण गरेर मारेको हो । उनी लामो समयदेखि चोरीसिकारमा संलग्न रहेको निकुञ्जको दाबी छ । थिङ वन्यजन्तुको आपराधिक पृष्ठभूमिका व्यक्ति भएको निकुञ्जले जनाएको छ तर उनी मरेका दिन सञ्चार माध्यममार्फत भने घाँस काट्न जङ्गल जाने क्रममा बाघले आक्रमण गरेको भनी समाचार सार्वजनिक भएको थियो । मृतकका परिवारले बाघका कारण मृत्यु भएको भन्दै निकुञ्जको मध्यवर्ती समितिमा क्षतिपूर्तिका लागि माग पनि गरेका थिए । प्रमुख संरक्षण अधिकृत पन्तले घटनाक्रम रहस्यपूर्ण भएपछि आफूहरूले अनुसन्धान गरेको र वास्तविक कुरा बाहिर आएको बताउनुभयो ।

यो घटनामा संलग्न रहेका न्यौपानेलाई निकुञ्जले पक्राउ गरी आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । बाघ मार्ने प्रयास गरेको अभियोगमा गत कात्तिक २९ गते पक्राउ परेका न्यौपानेमाथि अनुसन्धान पूरा भई आइतबार अदालतमा मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो ।

निकुञ्जले नयाँ गोरखगणमा आबद्ध नेपाली सेनाको समन्वयमा न्यौपानेलाई पक्राउ गरिएको थियो । न्यौपानेसँगै निकुञ्जले तार बरामद गरेको छ । तारलाई पासोका रूपमा प्रयोग गरिएको र त्यसमा बाघको रौँसमेत भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

“पासोको तारमा भेटिएको रौँ बाघकै भएको विधिविज्ञान प्रयोगशालाले पुष्टि गरेको छ भने पक्राउ परेका न्यौपानेको खल्तीमा भेटिएको मोबाइलमा पासोमा परेको बाघको फोटो भेटिएको छ,” मगरले भन्नुभयो ।

पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा मुद्दा चलाइएको छ । निकुञ्जको दाबी अनुसार न्यौपाने दोषी ठहरिए वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ उपदफा ५ घ बमोजिम कसुर गरेकामा सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय हुने व्यवस्था छ । निकुञ्जका अनुसार न्यौपानेलाई अदालतले दोषी ठहर गरे एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म जरिबाना वा पाँच वर्षदेखि १५ वर्षसम्म जेल वा दुवै सजाय तोक्न सक्ने छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...