महुरे-फोक्सिन्टार सडक कालोपत्रेको काम पुनः सुरु हुने

Published on

काठमाडौँ । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल खण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम पुनः सुरु हुने भएको छ । निर्माण कम्पनीले सडक अलपत्र पारेपछि ठेक्का तोडिएको थियो । हाल नयाँ ठेक्काका लागि आर्थिक प्रस्ताव खुलेसँगै सडक कालोपत्रेको काम पुनः सुरु हुने निश्चित भएको हो ।

महुरे–फोक्सिङटार सडकलाई २०७७ सालसम्ममा सम्पन्न गर्नेगरी दुई खण्डमा विभाजन गरेर २०७३ सालमा ठेक्का खुलाइएको थियो । त्यसमध्ये महुरे–सिमपानी राजापानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन(सिद्धी शाही जेभी र सिमपानी राजापानी–फोक्सिङटार(२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले लिएको थियो । तर, निर्माण कम्पनीले सडक अलपत्र पारेर छाडेपछि दुवै खण्डको ठेक्का तोडिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त दुवै सडक खण्डको नयाँ ठेक्काका लागि पुस ५ गते आर्थिक प्रस्ताव खुलाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख पशुपती गेवालीले बताउनुभयो । महुरे–फोक्सिङटार सडक कालोपत्रेको लागि गत असार २५ गते पुनः अर्को ठेक्का आव्हान गरिएको थियो । अबको केही दिनमा ठेक्काको फाइनल हुने प्रमुख गेवालीको भनाइ छ । ठेक्का फाइनल भएर सम्झौता भएपछि आगामी माघदेखि सडक कालोपत्रेको काम सुरु हुने उहाँले बताउनुभयो ।

२०८० चैत २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार अर्थमन्त्रालयले अलपत्र महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम पुनः सुचारु गराउनका लागि ठेक्का खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो । ठेकेदारले सडक कालोपत्रेको काम अलपत्र पारेपछि सिमपानी राजापानी–फोक्सिङटार खण्डको ठेक्का २०७९ पुस ७ गते र महुरे–सिमपानीको ठेक्का २०८० माघ २ गते तोड्ने निर्णय गरिएको थियो । ठेक्का तोड्ने निर्णय विरुद्ध भारत कन्ट्रक्सन–सिद्धी शाही सर्वोच्च र देवनारायण पवन–मैनाचुली–खाम्पाचे रिट हाल्न उच्च अदालत पुगेको थियो ।

ठेक्का तोडेर सडक अलपत्र पार्ने निर्माण कम्पनीलाई कालो सूचिमा राख्न निरन्तर दवाव दिँदै आउनुभएका खोटाङ प्रदेश सभा “ख” का सांसद एवं हाल कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले अब सडक कालोपत्रे हुने बताउनुभएको छ । खोटाङलाई पछि पार्ने छुट कसैलाई नभएको भन्दै मन्त्री राईले पुरानो ठेक्का तोडेर नयाँ ठेक्काको लागि पहल गरिएको बताउनुभएको हो । निर्माण व्यावसायीले अदालतमा हालेको रिटमा खोटाङको नागरिकबाट पटक पटक बहस पैरवी गर्ने देखि योजनामा पुनः श्रोत सुनिश्चित गराउनेसम्म आफ्नो भूमिका रहेको भन्दै मन्त्री राईले उक्त सडक जसरी भएपनि कालोपत्रे गराउने बताउनुभएको छ ।

भारत कन्ट्रक्सन–सिद्धी शाही जेभीले ४१ करोड ५० लाखको लागतमा २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने सर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । यस्तै, देवनारायण पवन–मैनाचुली–खाम्पाचेले ५५ करोड ८७ लाखमा २०७७ साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने सर्तमा २०७३ साउन ११ गते सिमपानी भन्ज्याङ–फोक्सिङटार सडक कालोपत्रेको सम्झौता गरेको थियो । दुवै निर्माण कम्पनीले सडक अलपत्र पारेपछि ठेक्का तोडिएको हो ।

महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर गाइघाटहुँदै पूर्वी सहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो । कालोपत्रेको काम अलपत्रहुँदा सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । सोही सडक खण्डमा पर्ने फोक्सिन्टारको पक्की पुल पनि सुनकोसीले बगाएपछि अहिले खोटाङका नागरिकले सास्ती खेपिरहेका छन् । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...