काठमाडौँ । बोइलरको मासु खाएर एक जनाको ज्यान गएको छ भने त्यही घरका तिन जना गम्भीर अवस्थामा रहेका छन् ।
कमलबजार नगरपालिका–३ बयलाका निवासी १५ वर्षीय कमल विकको मृत्यु भएको छ । मृतकका हजुरआमा ७० वर्षीया नाम विक, बहिनी १४ वर्षीया सीता विक र ९ वर्षीय विकास विकको अवस्था गम्भीर रहेकाे स्थानीय प्रहरीले जनाएको छ । बिरामीहरुको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ ।
गाउँघर नजिक रहेको बेलखेत बजारबाट कुखुराको मासु ल्याएर साँझ पकाएर खाएपछि कमलको मृत्यु भएको र तिन जना अस्वस्थ रहेको वडाध्यक्ष नन्दसिंह कुँवरले बताउनुभयो । वडाध्यक्ष कुँवरले भन्नुभयो,‘शुक्रबार मरेको बोइलर ल्याएर खाएछन् । हामीले आज थाहा पायौँ । त्यो केटालाई बचाउँन सकिएन ।’
घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरीनायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । पोस्टमार्टमको लागि जिल्ला सदरमुकाम मङ्गलसेन ल्याइएको छ । मृतकका आमाबुवा र जेठो दाइ रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।