तराई झरेकाहरुले मनाए भुवा पर्व

Published on

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकामा सोमबार पहिलो पटक भुवा पर्व मनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरा, अछाम, डोटी र कर्णाली प्रदेशको कालीकोट दैलेख जिल्लाबाट बसाईसरी घोडाघोडी नगरपालिकामा बसोबास गर्दै आएकाहरुले सामुहिकरुपमा भुवा पर्व मनाएका हुन् । पुस १५ लाई विभिन्न समुदायले आफ्नो परम्परागत शैलीमा मनाउने गरिए पनि पहिलो पटक सबैजना एकै ठाउँमा जम्मा भएर ‘भुवा नाच’ का साथ पर्व मनाउँन पाउँदा पहाडको झल्को मेटिएको भन्दै खुशी भएका छन् ।

बाजुराबाट बसाईसरी घोडाघोडी नगरपालिका –२ साँडेपानीमा बसोबास गर्ने भिमा रोकायाले पहिलो पटक तराईमा मनाएको भुवा पर्वले पहाडको सम्झना आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडमा भुवा नाचका लागि छुट्टै ठाउँ हुन्थ्यो । तरबार र ढाल हातमा लिएर नाच्छन् । ठुला आगोको मुडा बालेर रातभर नाच्छन् । बिहान भएपछि खुशीयालीमा खसी, दाल, चामल एकै ठाउँमा पकाएर खाएर रमाउँछन् ।” भिमाले तराई आएपछि पहिलो पटक भुवा पर्व मनाएको बताउनुभयो । भुवामा नाच्नेहरुले पनि खासै ताल नमिलाएको जनाउँदै उहाँले आफ्नो संस्कृति बचाउन यसैगरी युवाहरुले सिक्दै जानुपर्ने बताउनुभयो । घोडाघोडी –१ सुखडको हेलीप्याडमा आयोजित भुवा पर्वको अवसरमा आयोजित भुवा नाच हेर्न आउनु भएका कालीकोटका बिरे सार्कीले पहिलो पटक भुवा नाच हेर्न पाउँदा पहाडको झल्को मेटिएको बताउनुभयो ।

बडिमालिका सेवा समाजले भुवा पर्वको अवसरमा भुवा पर्व तथा देउडा कार्यक्रमको आयोजना गरी पहिलो पटक भुवा नाचको व्यवस्था गरेको हो । समाजका अध्यक्ष लक्ष्मण शाहीले सुदूरपश्चिमका पहाडी जिल्लामा आजबाट साँस्कृतिक पर्व ‘भुवा’ सुरु भएको जनाउँदै आफूहरुले तराईमा समेत यो पर्व मनाउने जमर्को गरेको बताउनुभयो । उहाँले भुवा पर्वको बारेमा भन्नुभयो, “महाभारतको कथा (पाण्डव र कौरबको युद्ध) गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ भन्ने गर्छन् । मौलिक लय र भाकामा खेलिने भुवाको आफ्नै महत्व छ । दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन् । खासमा, त्यो भुवा पर्वको उल्लास हो ।”

अध्यक्ष शाहीले यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदैआएको र पर्वको मुख्य आकर्षण नै ‘भुवा नाच’ रहेको बताउनुभयो । पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुने भएकाले पहाडमा यो पर्वको विशेष महत्व रहेको बताइन्छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...