३१ हजार क्विन्टलभन्दा बढी धान खरिद

Published on

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेको किसानसँग ३१ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले पुस १६ गतेसम्म ३१ हजार ६९० दशमलब ९८ क्विन्टल धान खरिद गरिसकेको जनाएको हो । गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको छ ।

३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले पछि मध्यम धानलाई १५ हजार क्विन्टल थप गरी ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले बताउनुभयो । “यस वर्ष हामीले नेपालगन्ज कार्यालयबाट ३० हजार क्विन्टल मोटा र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, यहाँका किसानले मध्यम धानको खेती बढी गर्नेगरेको पाइयो, किसानले धेरैजसो मध्यम धान बिक्री गर्न ल्याउनुभयो” लामिछानेले भन्नुभयो, “मध्यम धान धेरै आएपछि केन्द्रीय कार्यालयसँगको समन्वयमा मध्यम धान थप १५ हजार क्विन्टल खरिद गर्नेगरी कुल ५५ हजार क्विन्टलको लक्ष्य राखेका छौँ ।”

बाँकेका किसानहरु पछिल्लो समय मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । “२५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको मध्यम धान हालसम्म लगभग खरिद गरिसकेका छौँ, हामीले २५ हजारभन्दा बढी धान खरिद गर्न सक्दैनौँ, हामीले सूचना नै प्रकाशित गरेर यस वर्षका लागि मध्यम धान खरिद गर्न बन्द गरेका छौँ, लक्ष्य पूरा भएको छ” लामिछानेले भन्नुभयो । मोटा धानको खरिद लक्ष्यअनुसार पुग्न सकिएन, किसानले बजारका व्यापारीलाई नै मोटा धान बिक्री गरेको उहाँले बताउनुभयो । खाद्यभन्दा प्रतिक्विन्टल एक समयदेखि एकसय पचास रुपियाँसम्म बजारका व्यापारीले बढी मूल्य दिएको हुँदा मोटा धान कम खरिद भएको उहाँले बताउनुभयो ।

“त्यसै पनि पछिल्लो समय किसानले मोटा धानको उत्पादन कम गरेका छन्, त्यसमा पनि चिउरा उत्पादन प्रयोजनका लागि बजारका व्यापारीले हाम्रो मूल्यभन्दा केही बढी दिएर किसानसँग खरिद गरेका छन्, त्यसकारण पनि मोटा धान बिक्री गर्न किसान न्यून संख्यामा हामीसँग आउनुभयो र लक्ष्यभन्दा कम खरिद भयो” लामिछानेले भन्नुभयो । “गत वर्षभन्दा यस वर्ष सरकारले पनि न्यूनतम समर्थन मूल्यमा वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिन अघि सुरु गरेका छौँ, त्यसकारण यो वर्ष लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ, तर लक्ष्यनजिक पुग्न नसके पनि धेरै मात्रामा धान खरिद भएको छ ।”

लामिछानेले भन्नुभयो, “गत वर्ष मङ्सिर ६ गतेबाट धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यसवर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।” पुस १६ गतेसम्म मोटा धान ७४४९।०४ क्विन्टल र मध्यम धान २४२४१।९४ गरी ३१६९०।९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताउनुभयो । मोटा धानको तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिरहेको घिमिरेले बताउनुभयो ।

“हालसम्म धान बिक्री गर्नका लागि ६७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गरिसक्नुभएको छ, अहिलेसम्म ५६७ जना किसानसँग धान खरिद गरिसकेका छौँ” सूचना अधिकारी घिमिरेले भन्नुभयो, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।” धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ” उहाँले भन्नभुयो ।

कम्पनीले हालसम्म बाँकेका किसानसँग ११ करोड ८२ लाख ६ हजार दुई सय रुपियाँको धान खरिद गरेको जनाएको छ । मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान खरिदको लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...