गुल्मीमा सुन्तला उत्पादन बढ्यो

Published on

काठमाडौँ । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष रु. २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभयो । गत वर्ष रु. २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक रु. १३ करोडभन्दा बढी सुन्तला जिल्ला बाहिर लगेर बिक्री गरिएको कार्यालय प्रमुख धितालले बताउनुभयो ।

गुल्मीबाट गत वर्ष रु. १२ करोड बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गङ्गा पोख्रेलले बताउनुभयो । जिल्लामा कृषकले सुन्तलाको बगैँचामा बिजु बिरुवा लगाउने गरेका छन् । कलमी बोटले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिजु बिरुवा लगाउँदै आएका छन् । सुन्तलाका फेद र जरा कुहिने समस्याबाट पीडित बनेको धुर्कोट गाउँपालिका–२ का कृषक शिवलाल खनालले बताउनुभयो । सुन्तला बगैँचामा समयमै मलखाद र सूक्ष्मतत्वको प्रयोगबाट उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।

जिल्लाका १२ वटै पालिकामा व्यावसायिक रुपमा सुन्तलाखेती गरिँदै आएको छ । जिल्लाका ९३ वडामध्ये ३७ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागू छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा र सत्यवतीको लिम्घालगायत ठाउँमा चक्लाबन्दी गरी सुन्तला खेती सुरु गरिएको छ । गुल्मीको सुन्तलाको माग अत्यधिक छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलयागतका स्थानबाट व्यापारी बगैंचामै पुग्ने गरेका छन् । अहिले बजारमा गुल्मीको सुन्तला प्रतिकिलो रु. ८० देखि रु. एक सयसम्ममा बिक्री हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तलाको उत्पादन वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ । परियोजनावाट सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँटलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको परियोजना प्रमुख पोख्रेलले बताउनुभयो । सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौंडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्रका रुपमा छन् । रासस

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...