पर्वतका ७० प्रतिशतभन्दा बढी ग्रामीण होमस्टे खारेज हुने अवस्थामा

Published on

काठमाडौँ । पर्वतका ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि भनी समुदायस्तरबाट सञ्चालनमा रहेका धेरै होमस्टे (घरबास)हरु खारेज हुने अवस्थामा छन् । ग्रामीण क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या न्यून भएसँगै ग्रामीण पर्यटन मार्फत आर्थिक सम्वृद्धि गर्ने भनी खोलिएका सत्तरी प्रतिशतभन्दा बढी होमस्टे खारेज हुने अवस्थामा पुगेका हुन् । पर्यटन तथा उद्योग कार्यालय पर्वतले दिएको होमस्टेसम्बन्धी विवरणमा जिल्लाभर आव ०८०⁄८१ मा सामुदायिक ६० वटा र निजी दुई गरी जम्मा ६२ वटा घरबास दर्ता रहेकोमा यस आर्थिक वर्षमा नवीकरण हुने होमस्टेको सङ्ख्या जम्मा १८ वटा मात्रै छ । नवीकरण भएका कतिपय होमस्टे समेत सङ्कटमा छन् ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले आ.व.०७५⁄०७६ मा होमस्टे प्रवर्द्धन गर्न भनी अनुदान रकम १० लाख प्रदान गरेपछि खुलेका होमस्टे यतिखेर खारेजीको अवस्थामा पुगेका हुन् । आर्थिक वर्ष अधिकांश होेमस्टे सञ्चालन हुन नसकेपछि नवीकरण गर्न समेत सञ्चालकहरुले रुचि देखाएका छैनन् । पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख पोषनाथ शर्माले गाउँघरतिर जाने र बस्ने मानिसहरु नभएपछि होमस्टे सञ्चालन हुन कठिन रहेको बताउनुहुन्छ । जिल्लाको मोदिगाउँपालिकामा मात्रै १९ वटाको सङ्ख्यामा होमस्टे सञ्चालन रहेको भए पनि दर्ता नवीकरण जम्मा पाँच वटाको गरिएको छ । पर्यटकीय हिसावले महत्त्वपूर्ण मानिने मोदीगाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार पालिकामा रहेका होमस्टेमध्ये सञ्चालनमा जम्मा चार वटा मात्रै छन् ।

कुश्मा नगरपालिका भित्र खोलिएका ११ वटा सामुदायिक होमस्टेमध्ये चार वटा दर्ता नवीकरण भएका छन् भने नवीकरण भएकामा पनि तीन वटा मात्रै सञ्चालनमा छन् । बाँकी अधिकांश सामुदायिक होमस्टे बन्द छन् । कुश्मा नगरपालिका वडा १४ आर्थरमा सञ्चालनमा रहेको सुनाखरी सामुदायिक होमस्टे यतिखेर बन्द छ । सुनाखरी सामुदायिक होमस्टेका सचिव कमल गुरुङ भन्नुहुन्छ, “होमस्टे सञ्चालन गर्नका लागि १० लाख मिलेको थियो । सोही रकमले सामुहिक घर र गोरेटो बाटो बनाइयो । अहिले घर खाली छ । केही वर्ष होमस्टे सञ्चालन भयो । अहिले गाउँमा आउने मान्छे छैनन् । गाउँमा बस्ने मानिस समेत नभएपछि होमस्टे सञ्चालन गर्न सकिएन ।”

पर्वतको उत्तरी भेगमा रहेको जलजला गाउँपालिकामा ७ वटा सामुदायिक होमस्टे सञ्चालनमा रहेकोमा दुई वटा खारेज नै भैसकेका छन् भने बाँकी रहेकामध्ये लोप्रे फलामे डाँडाँ सामुदायिक होमस्टे मात्रै व्यावसायिक रुपमा सञ्चालनमा रहेको पालिकाका सूचना अधिकारी भेषनाथ आचार्यको भनाइ छ । फलेवास नगरपालिकामा रहेका १० वटा होमस्टेमध्ये यतिखेर व्यावसायिक रुपमा सञ्चालनमा कुनै पनि व्यावसायिक रुपमा सञ्चालनमा नभएको लिमी भमुकोट सामुदायिक होमस्टेका अध्यक्ष विष्णुबहादुर विश्वकर्मा बताउनुहुन्छ । अध्यक्ष विश्वकर्माका अनुसार कोभिडभन्दा पहिले केही वर्ष सञ्चालनमा आएका होमस्टे त्यसपछि अधिकांश बन्द छन् ।

त्यसैगरी, दक्षिणी भेगका विहादी र पैयुँ गाउँपालिकामा सञ्चालनमा रहेका होमस्टेको हालत पनि उस्तै नाम मात्रैको छ । सामुदायिक होमस्टे व्यावसायिक रुपमा सञ्चालनमा आउन सकेका छैनन् । सामुदायिक होमस्टेका कतिपय अध्यक्ष रोजगारीका लागि परदेश लागेको अवस्था छ । स्थानीय पालिकाका सूचना अधिकारीहरुका अनुसार जिल्लाको कुनै पनि स्थानीय सरकारबाट होमस्टे साथै ग्रामिण पर्यटन प्रवर्द्धनका योजना र कार्यक्रम भनी बजेटको विनियोजन गरिएको छैन ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...