काठमाडौँ । पर्वतका ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि भनी समुदायस्तरबाट सञ्चालनमा रहेका धेरै होमस्टे (घरबास)हरु खारेज हुने अवस्थामा छन् । ग्रामीण क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या न्यून भएसँगै ग्रामीण पर्यटन मार्फत आर्थिक सम्वृद्धि गर्ने भनी खोलिएका सत्तरी प्रतिशतभन्दा बढी होमस्टे खारेज हुने अवस्थामा पुगेका हुन् । पर्यटन तथा उद्योग कार्यालय पर्वतले दिएको होमस्टेसम्बन्धी विवरणमा जिल्लाभर आव ०८०⁄८१ मा सामुदायिक ६० वटा र निजी दुई गरी जम्मा ६२ वटा घरबास दर्ता रहेकोमा यस आर्थिक वर्षमा नवीकरण हुने होमस्टेको सङ्ख्या जम्मा १८ वटा मात्रै छ । नवीकरण भएका कतिपय होमस्टे समेत सङ्कटमा छन् ।
गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले आ.व.०७५⁄०७६ मा होमस्टे प्रवर्द्धन गर्न भनी अनुदान रकम १० लाख प्रदान गरेपछि खुलेका होमस्टे यतिखेर खारेजीको अवस्थामा पुगेका हुन् । आर्थिक वर्ष अधिकांश होेमस्टे सञ्चालन हुन नसकेपछि नवीकरण गर्न समेत सञ्चालकहरुले रुचि देखाएका छैनन् । पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख पोषनाथ शर्माले गाउँघरतिर जाने र बस्ने मानिसहरु नभएपछि होमस्टे सञ्चालन हुन कठिन रहेको बताउनुहुन्छ । जिल्लाको मोदिगाउँपालिकामा मात्रै १९ वटाको सङ्ख्यामा होमस्टे सञ्चालन रहेको भए पनि दर्ता नवीकरण जम्मा पाँच वटाको गरिएको छ । पर्यटकीय हिसावले महत्त्वपूर्ण मानिने मोदीगाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार पालिकामा रहेका होमस्टेमध्ये सञ्चालनमा जम्मा चार वटा मात्रै छन् ।
कुश्मा नगरपालिका भित्र खोलिएका ११ वटा सामुदायिक होमस्टेमध्ये चार वटा दर्ता नवीकरण भएका छन् भने नवीकरण भएकामा पनि तीन वटा मात्रै सञ्चालनमा छन् । बाँकी अधिकांश सामुदायिक होमस्टे बन्द छन् । कुश्मा नगरपालिका वडा १४ आर्थरमा सञ्चालनमा रहेको सुनाखरी सामुदायिक होमस्टे यतिखेर बन्द छ । सुनाखरी सामुदायिक होमस्टेका सचिव कमल गुरुङ भन्नुहुन्छ, “होमस्टे सञ्चालन गर्नका लागि १० लाख मिलेको थियो । सोही रकमले सामुहिक घर र गोरेटो बाटो बनाइयो । अहिले घर खाली छ । केही वर्ष होमस्टे सञ्चालन भयो । अहिले गाउँमा आउने मान्छे छैनन् । गाउँमा बस्ने मानिस समेत नभएपछि होमस्टे सञ्चालन गर्न सकिएन ।”
पर्वतको उत्तरी भेगमा रहेको जलजला गाउँपालिकामा ७ वटा सामुदायिक होमस्टे सञ्चालनमा रहेकोमा दुई वटा खारेज नै भैसकेका छन् भने बाँकी रहेकामध्ये लोप्रे फलामे डाँडाँ सामुदायिक होमस्टे मात्रै व्यावसायिक रुपमा सञ्चालनमा रहेको पालिकाका सूचना अधिकारी भेषनाथ आचार्यको भनाइ छ । फलेवास नगरपालिकामा रहेका १० वटा होमस्टेमध्ये यतिखेर व्यावसायिक रुपमा सञ्चालनमा कुनै पनि व्यावसायिक रुपमा सञ्चालनमा नभएको लिमी भमुकोट सामुदायिक होमस्टेका अध्यक्ष विष्णुबहादुर विश्वकर्मा बताउनुहुन्छ । अध्यक्ष विश्वकर्माका अनुसार कोभिडभन्दा पहिले केही वर्ष सञ्चालनमा आएका होमस्टे त्यसपछि अधिकांश बन्द छन् ।
त्यसैगरी, दक्षिणी भेगका विहादी र पैयुँ गाउँपालिकामा सञ्चालनमा रहेका होमस्टेको हालत पनि उस्तै नाम मात्रैको छ । सामुदायिक होमस्टे व्यावसायिक रुपमा सञ्चालनमा आउन सकेका छैनन् । सामुदायिक होमस्टेका कतिपय अध्यक्ष रोजगारीका लागि परदेश लागेको अवस्था छ । स्थानीय पालिकाका सूचना अधिकारीहरुका अनुसार जिल्लाको कुनै पनि स्थानीय सरकारबाट होमस्टे साथै ग्रामिण पर्यटन प्रवर्द्धनका योजना र कार्यक्रम भनी बजेटको विनियोजन गरिएको छैन ।