सिमेन्ट उद्योगीले आफूखुसी मूल्य बढाएका होइनन् : उद्योगमन्त्री भण्डारी

Published on

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुसी सिमेन्टको मूल्य नबढाएको दाबी गर्नुभएको छ । मङ्गलबार राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्नुहुँदै उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘उद्योगीहरूले आफूखुसी मूल्य बढाएको होइन । उद्योग जोेगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने समितिले निर्देशन गरोस् । सरकारले मान्छ । घाटा खाएर कुनैपनि उद्योगले व्यापार गर्दैन । घरबाट पैसा हालेर सिमेन्ट उत्पादन गरेर बिक्री गर्दैन ।’’ उहाँले उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङका कारण सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेको उल्लेख गर्नुभयो । उहाँले सांसदहरूले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरूलाई दिएको दाबी गर्नुभयो ।

‘‘विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका दिएको छ । विद्युत् प्राधिकरणलाई बोलाउनुस् । मूल्यवृद्धि भएको बेलामा लोडसेडिङ कति भयो । त्यसको तालिका प्राधिकरणले राखेको छ । विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय होइन । उद्योगको लागत मूल्याङ्कनका लागि समिति बनेको छ । सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयास गरिरहेको छ ।,’’ मन्त्री भण्डारीले भन्नुभयो, ‘‘मूल्य वृद्धि घटेको छ । सरकारले घटाउने प्रयास गरिरहेको छ । सिमेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले पनि भयो । तामाकोशी बाढीले क्षति हुँदा उत्पादन कम भयो भनेर प्राधिकरणले स्वीकार गरेको छ ।’’ उद्योगमन्त्री भण्डारीले विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय नभएको बताउनुभयो । उहाँले उद्योगको लागत मूल्याङ्कन गर्नेगरी समिति बनाएको उल्लेख गर्नुभयो । उहाँले सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको बताउनुभयो । उहाँले सरकारले उद्योग जोेगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने गरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने बताउनुभयो । सरकारले पटक–पटक उद्योगी, व्यवसायी र निर्माण व्यावसायीहरूसँग छलफल गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सिमेन्टको मूल्य वृद्धिको विषयमा मन्त्रालय गम्भीर छ । मन्त्रालयले पटक–पटक सिमेन्ट उत्पादक सङ्घसँग बसेर छलफल गरेका छौं । बाहिर बजारमा शतप्रतिशत बढ्यो भन्ने पनि छ । त्यो पनि सत्य होइन । विभिन्न उत्पादकका फरक मूल्य छन् । नेपाल सरकारको लगानीमा सञ्चालनमा रहेका उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पनि सरकारले पूर्णरूपमा सञ्चालन गर्न सकिरहेका छैनौं । एक सय रुपियाँभन्दा बढी घाटा छ । सिमेन्ट उद्योगसँग ११५ रुपियाँभन्दा बढी मूल्य नबढाउने सहमति हो ।’’ समितिमा उद्योगमन्त्री र सांसदहरूबिच दोहोरो संवाद समेत भएको छ । मन्त्रीले समेन्टको मूल्यवृद्धि लोडसेडिङका कारणले भएको भनेर समितिमा जानकारी दिएसँगै दोहोरो संवाद भएको हो । सांसदहरूले समितिले सिमेन्ट उद्योगीहरूले गरेको मूल्यवृद्धिलाई सघाउन नसक्ने मन्त्रीलाई जानकारी गएका थिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...